स्वास्थ्यको सहज पहुँच पुगेपछि मातृशिशु मृत्युदर शून्य

डम्मर बुढा मगर, बागलुङ
बागलुङमा भौगोलिक हिसाबले निसीखोला र तमानखोला गाउँपालिका अलि विकट मानिन्छन् । विकट मानिने यि पालिकामा पछिल्लो समय मातृशिशु मृत्युदर शून्यमा झरेको छ । स्थानीय सरकारले स्वास्थ्यलाई प्राथमिकता दिएपछि पछिल्लो दुई वर्षदेखि तमानखोला र गत वर्षदेखि निसीखोलामा मातृशिशु मृत्युदर शून्यमा झरेको हो ।

गाउँ–गाउँका स्वास्थ्य संस्थामा वर्थिङ सेन्टर स्थापना र सेवा प्रभावकारी बनेपछि मातृशिशु मृत्युदर शन्यूमा झर्न सफल भएको निसीखोला गाउँपालिकाकी स्वास्थ्य शाखा प्रमुख जुनी घर्ती मगरले बताउनुभयो । सामान्य रोगको उपचार गर्न घण्टौ धाउनु पर्ने यि पालिकाका नागरिकले अहिले एक आधा घण्टामै स्वास्थ्य सेवा लिन पाउने भन्दै नागरिक पनि सचेत बन्दै गएको उहाँको भनाइ छ ।

गर्भवती महिलालाई नियमित गर्भ परीक्षण गर्न सचेत बनाउनेदेखि गाउँ–गाउँमा गएर जनचेतना मुलक कार्यक्रम संचालन गर्दा अहिले निसीखोलामा आमा र बच्चाको मृत्यु हुन छोडेको घर्ती बताउनुहुन्छ । आर्थिक वर्ष २०७९/०८० मा दुई मातृशिशुको मृत्यु भएको भन्दै पछिल्लो समय शून्य भएको उहाँको भनाइ छ । पालिकाले नियमित रुपमा गर्भ जाँच गर्न आउँदा यातायात खर्च दिने घर्तीको भनाइ छ ।

उहाँले भन्नुभयो – “पहिले यस क्षेत्रमा जनचेताको कमी थियो, एक जना महिलाले धेरै बच्चा जन्माउने प्रचलन थियो, तर अहिले निकै कम भएको छ, पहिले त मातृशिशु मृत्युदर धेरैनै थियो, तर अहिले गाउँपालिकाले जनचेतना मुलक कार्यक्रम गरि रहेको छ, प्रत्येक महिला महिलाहरुको बैठक हुन्छ, त्यहाँ स्वास्थ्यकर्मी पुग्छौँ, महिलालाई सचेत गराउने, नियमित गर्भ जाँच गराउन सुझव दिने गरेका छौँ ।”

निसीखोलामा पहिले चार वटा स्वास्थ्य चौकी रहेकोमा अहिले तीन आधारभूत स्वास्थ्य इकाइ र तीन वटा सामुदायिक स्वास्थ्य इकाइ थपिएका छन् । वर्थिङ सेन्टरपछि प्रत्येक वडामा स्थापना गरिएको छ । गाउँपालिकाले स्वास्थ्यचौकी आउनेलाई गर्भवती महिलालाई दूरीका हिसाबले १५ सयदेखि २५ सयसम्म भत्ता दिने व्यवस्था गरेको घर्तीले जानकारी दिनुभयो ।

तमानखोला गाउँपालिकाले स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बर्थिङ सेन्टर बढाएर सेवा दिन थालेसँगै महिलाहरु सचेत हुँदा मातृशिशु मृत्युदर शून्य भएको बताउनुभयो । पहिले धामी झँक्रीमा विश्वास राख्ने र स्वास्थ्य संस्था टाढा हुँदा धेरै आमा र बच्चाले ज्यान गुमाउनु परेको भन्दै अहिले स्वास्थ्य संस्थाको दायरा बढाए समुदायसम्म स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वएंसेविकाहरु पुगेर सेवा दिन थालेपछि दुई वर्षदेखि तमानखोलामा मातृशिशु मृत्युदर शून्य भएको उहाँ बताउनुहुन्छ ।

“स्थानीय सरकार आएपछि तमानखोलामा स्वास्थ्यमा राम्रो सुधार भएको छ, पहिले बिरामी पर्दा धामी झाँक्री कहाँ पुग्ने गर्भवतीहरु अहिले नजिको स्वास्थ्य संस्थामा आएर स्वास्थ्य परीक्षण गराउन थाल्नु भएको छ,” छन्त्यालले भन्नुभयो – “दुई/तीन वर्षदेखित तमानखोलामा घरमै सुत्केरी हुने संख्या पनि कम भएको छ ।”

तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले आफूहरु निर्वाचित भएर आएदेखि स्वास्थ्य क्षेत्रको सुधारमा लाग्दा अहिले धेरै परिवर्तन भएको बताउनुभयो । पहिले तीन वटा स्वास्थ्य चौकी मात्रै रहेको तमानखोलामा हाल वडा नम्बर ६ को नर्जाखानी, नम्बर ४ को लाम्मेला र वडा नम्बर २ को बोङ्खानीमा सामुदायिक स्वास्थ्य इकाइ तथा वडा नम्बर १ को सम्मर, वडा नम्बर २ को सिल्गुम र वडा नम्बर ५ को थास्पुरीमा प्राथमिक स्वास्थ्य परामर्श केन्द्र सञ्चालन गरेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *