डम्मर बुढा मगर, बुर्तिबाङ
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकलाई घर आँगनबाटै स्तरीय स्वास्थ्य सेवा दिने गरि काम गरेको बताउनु भएको छ । शुक्रबार बागलुङको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङमा आयोजित प्रदेश स्तरीय अस्पतालको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अब कोही पनि नागरिकले उपचार नपाएर अकालमा ज्यान गुमाउनु नपर्ने बताउनुभयो ।
नागरिक आवश्यकता र चाहाना धेरै भएको तर सीमित स्रोत र साधानको परिचालन गरेर काम गर्दा सबै तिर एकै पटक विकास हुन नसकेको मुख्यमन्त्री पाण्डेको भनाइ छ । जनताको आवश्यकतालाई पहिलो प्रथामिकतामा राखेर प्रदेश सरकारले काम गरि रहेको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले भन्नुभयो – “हामीसँग स्रोत सीमित छ, जनताको आवश्यकता धेरै छन्, यद्यपी गण्डकी प्रदेश सरकारले सबै क्षेत्रका क्रमिक रुपमा काम गरि रहेको छ, नागरिक स्वस्थ रहनु पर्छ भन्ने मान्नेता हाम्रो छ, सोही अनुसार स्वास्थ्यलाई प्राथमिकतामा राखेर काम भइरहेको छ, म मुख्यमन्त्री भएर आउँदा ५०० जना डायलाइसिस गर्नु पर्ने बिरामी लाइनमा हुन्थे अहिले त्यो अवस्था शून्यमा झरेको छ ।”
मुख्यमन्त्री पाण्डेले अहिले राज्यको चुनौतिका रुपमा बसाइँसराइ रहेको भन्दै त्यसलाई रोक्नका लागि गण्डकी सरकार लागि रहेको बताउनुभयो । गाउँमा गुणस्तरीय स्वास्थ्य, शिक्षा, रोजगार र अन्य विकास गरिरहेको उल्लेख गर्दै अब सबै युवालाई आफ्नै ठाउँमा बस्ने वातावरण बनाउने उहाँको भनाइ छ ।
पछिल्लो समय विकासनै भएन भन्ने गलत भास्य निर्माण भएको भन्दै वि.सं. २०४८ साल यता मुलुकमा ठूलो परिवर्तन आएको मुख्यमन्त्री पाण्डेले बताउनुभयो ।