आदर्श अनलाइन, बागलुङ
जिल्लाको दुर्गम स्थान बोबोङमा अत्याधुनिक उपकरणको सहायताले छातीको एक्सरे गरेर क्षयरोग खोजपडताल शिविर आयोजना गरिएको छ ।
शिविरमा ३६५ जनाको एआई एक्सरे उपकरणको सहायताले छातीको एक्सरे गरेर क्षयरोग परिक्षण गरिएको थियो ।
शिविरको शेभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेयले क्षयरोगको अन्त्यका लागि प्रदेश सरकारले वडा तहमै खोजपडताल थालेको बताउनुभयो ।
आज ढोरपाटन नगरपालिका–८ स्थित बिकट गाउँ सेराबाङमा आयोजित एआई एक्सरेद्वारा छातिरोग सम्बन्धि खोजपडताल कार्यक्रमको शुभारम्भ गर्दै मुख्यमन्त्री पाण्डेले क्षयरोग समयमै पत्ता लगाउन सकेमा उक्त रोगबाट मुक्त हुन सकिने बताउनुभयो ।
मुख्यमन्त्री पाण्डेले एआई डिजिटल एक्सरे लिएर वडा तहमै स्वास्थ्यकर्मी पठाईरहेको बताउनुभयो । बिरामी नभई अस्पताल नपुग्ने बानीको अन्त्य गर्न सचेतना आवश्क रहेकाले समय–समयमा स्वास्थ्य परिक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकारका स्वास्थ्यमन्त्री कृष्ण प्रसाद पाठकले रोग पालेर घरमै बस्ने परिपाटी अन्त्यका लागि गाउँ गाउँमा सचेतना थाल्नुपर्ने बताउनुभयो । घरमै हुने सुत्केरी अन्त गर्न गण्डकी प्रदेश सरकारले सचेतना अभियान चलाएको पाठकले जानकारी दिनुभयो ।
दुर दराजका बिरामीलाई सेवा दिन बुर्तिवाङमा ५० शैयाको अस्पताल स्थापना गरेको बताउनुभयो । गण्डकी प्रदेशको क्षयरोग उपचार केन्द्रको आयोजना, स्वास्थ्य कार्यालय बागलुङ र ढोरपाटन नगरपालिकाको समन्वयमा खोजपडताल थालिएको छ । जसमध्ये १४ जनामा एक्सेरेबाट क्षयरोग पत्ता लागेको र ४४ जनाको खकार परिक्षणका लागि नमूना संकलन गरिएको ढोरपाटन नगरपालिकाका स्वास्थ्य शाखा संयोजक भुमिश्वर शर्माले जानकारी दिनुभयो ।