अब विकट छैन ‘बोबाङ गाउँ’

डम्मर बुढा मगर, बागलुङ
जिल्ला सदरमुकाम बागलुङ बजारदेखि झण्डै १०५ किलोमिटर पश्चिममा पर्छ बोबाङ गाउँ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको प्रवेशद्वारका रुपमा रहेको बोबाङ गाउँ एक दशक अगाडिसम्म निकै विकट मानिन्थ्यो । तर पछिल्लो समय विकासले गति लिन थालेपछि यस गाउँको मुहार फेरिएको छ । बाक्लो जनजाति र दलित समुदायको बस्ती रहेको बोबाङ गाउँमा स्थानीय सरकार स्थापनापछि स्वास्थ्य, शिक्षासहितको विकास पनि क्रमिक रुपमा भएको छ ।

ढोरपाटन नगरपालिका–८ र ९ मा पर्ने बोबाङ गाउँ वि.सं. २०६६ सालमा सडकले जोडिएको थियो । त्यसभन्दा अगाडिसम्म यहाँ अधिकांश नागरिकहरुले घोडा खच्चडमा सामान ढुवानी गरेर प्रयोग गर्ने गर्थे । गाउँमा सडक पुगेको थिएन । जसले गर्दा स्थानीयको जनजीवन कष्टकरनै थियो । घुम्ती बसाइँ गर्ने यहाँका स्थानीय बर्खामा ढोरपाटन र हिउँदमा बोबाङमा बस्ने गर्छन् । कृषि र पशुपालनबाट जीविकोपार्जन गर्दै आएका उनीहरुको जीवनशैली अहिले बदलिएको छ ।

१५ वर्ष अगाडि बोबाङ गाउँमा सडक पुगे पनि लामो समयसम्म यातायात संचालन हुन सकेको थिएन । पछिल्लो समय कच्ची सडक भए पनि दैनिक यातायात संचालन हुने गर्छन् । सडकले गाउँसँगै यहाँका हजारौँ नागरिकको जीवनशैली बदली दिएको स्थानीय ७६ वर्षीय तमबहादुर कायतले बताउनुभयो । आफूले बोबाङ गाउँ यसरी परिवर्तन होला भन्ने कल्पना नगरेको उहाँको भनाइ छ । कायतले सडकले गाउँमा ठूलो परिवर्तन लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो –“हामी त गाईभैँसी र खेतीपाती गरेर जीवन धान्यौँ, अहिलेको जस्तो सडक थिएन, गाडी चल्दैनथे, नुन, तेल र चामल ल्याउनका लागि बुटवल पुग्नु पथ्र्यो, बुटवल पुग्न १२ दिन लाग्थ्यो, अहिले घरमै सबैथोक आउँछ, उति बेला पढ्ने चलन थिएन, अहिले त गाउँमा हाइस्कूल बनेको छ, बसै बालबालिकाले पढ्न पाएका छन्, हामीहरु त न पढ्न पायौँ, न बिमार लाग्दा उपचार पायौँ ।”

स्थानीय कुलबहादुर सुनारले सडकले बोबाङ गाउँलाई बजारसँग सिधा जोड्दा विकासले गति लिएको बताउनुभयो । पहिले गाउँमा कोही बिरामी हुँदा ढोकोमा बोकेर दिनभर लगाएर अस्पताल पु¥याएको स्मरण गर्दै अहिले टोलमै स्वास्थ्य संस्था संचालनमा आएको उहाँको भनाइ छ । ढोरपाटन जाँदाआउँदा घोडामा चड्नु पर्ने बाध्यता हटेको भन्दै अहिले दैनिक गाडी चल्दा आलु, स्याउ, सिमी र अन्य उत्पादन बजारमा पु¥याउन सहज भएको सुनार बताउनुहुन्छ ।

राष्ट्रिय प्राथमिकताको आयोजना सालझण्डी–ढोरपाटन सडकको बीचमा पर्ने बोबाङ गाउँमा पछिल्लो समय धमाधम पक्की घर भवनसमेत बन्दै गएका छन् । जिल्लाको सुदुरपश्चिम मानिने यस गाउँमा सडक आएपछि नागरिकको जीवनस्तरसमेत फेरिएको ढोरपाटन नगरपालिका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताउनुभयो ।

अब यहाँका नागरिकलाई आयआर्जनसँग जोड्ने खालको कार्यक्रम ल्याउने र आत्मनिभर बनाउन तर्फ लाग्ने कायत बताउनुहुन्छ । पहिले विकट भनेर कर्मचारीसमेत आउन नमान्ने ठाउँमा अहिले धेरैको रोजाईमा पर्ने गरेको उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *