पञ्चेबाजा संरक्षणमा जुट्दै आमा समूह

डम्मर बुढा मगर, बागलुङ
परियार समुदायको पुख्यौली पेसाको रुपमा पञ्चेबाजा हिजोआज अन्य समुदायले पनि बजाउन थालेका छन् । गाउँ तथा सहरमा बिस्तारै पञ्चेबाजा बचाउने प्रचलन हराउन थालेपछि बागलुङमा महिला र मगर समुदायका युवाले संरक्षणमा चासो दिएका हुन् । युवा शक्ति विदेश पलायन भएपछि संकटमा पर्न थालेको बजाउने बजाउने प्रचलन पछिल्लो समय संरक्षण भइरहेको छ ।

अहिले बजारमै रहेका महिला समूहले समेत बाजा बजाउन थालेका छन् । मौलिक संस्कृतिका रुपमा रहेको पञ्चेबाजा लोप हुन थालेपछि महिलाहरुनै यसको संरक्षणमा लागेको बागलुङ नगरपालिका–३ देउरालीचोक आमा समूहकी अध्यक्ष सरिता थापा मगरले बताउनुभयो । गाउँ तथा सहरमा विवाह, व्रतबन्ध र अन्य सार्वजनिक कार्यक्रममा बाजा बजाउने कोही नहुँदा आफूहरुले बजाउन थालेको उहाँको भनाई छ । पहिले गाउँमा धेरै समूहले बाजा बजाए पनि अहिले कोही नभएको उहाँले बताउनुभयो ।

थापाले भन्नुभयो – “अहिले बाजा बजाउने जनशक्ति पाउनै मुस्किल छ, नयाँ पुस्ता १०÷१२ पास गरेर विदेश गइहाल्छन्, बुढापाकाले बजाउन सक्दैनन्, टोल छिमेकमा कसैको बिहे भातखुवाई र ब्रतबन्ध हुँदा बाजा बजाउनै छोडेको हुँदा महिला दिदीबहिनीहरु मिलेर पञ्चेबाजा बजाउन थालेका हौँ, सुरुमा सिक्न केही समय लाग्यो अहिले सबैले सिकेपछि ठाउँ–ठाउँमा बजाउन जाने गरेका छौँ ।”

दुई वर्ष अगाडिलेखि बाजा बजाउन सिकेका महिलाहरुले अहिले आम्दानीसमेत गर्न थालेका छन् । सुरुमा गाउँका पञ्चेबाजा समूहबाट सिकेका उनीहरुले रु एक लाख ५० हजारमा बाजा सेट खरिद गरेर व्यवसायिक रुपमा बजाउन थालेका हुन् । एउटा विवाहबाट रु ३० देखि ५० हजार रुपैयाँसम्म लिने गरेको बञ्चेबाजा समुहकी सदस्य कला श्रीसले जानकारी दिनुभयो । विवाहको सिजनमा बागलुङका ग्रामीण क्षेत्रदेखि ठूला–ठूला सहरसम्म बाजा बजाउन जाने गरेको उहाँको भनाइ छ ।

“सुरुमा बाजाको ताल सिक्न केही समय लाग्यो, बाजा हामीहरुले किने पनि सिकाउने मान्छे थिएनन्, गाउँका बाजा बजाउन सिपालुहरुसँग तालिम लियौँ, अहिले पचास जनाभन्दा बढी महिला दिदी बहिनीहरुले बजाउने गर्छौँ” उहाँले भन्नुभयो – “अब सिक्न चाहानेहरुलाई पनि सिकाउन सकिन्छ, मंसिर, माघ महिनामा हामीहरुलाई भ्याइनभ्याई हुन्छ, यसबाट हाम्रो आम्दानी पनि राम्रो भएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *