आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डेलाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ । पुस मसान्तसम्म बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गर्ने अभियान स्वरुप भकुण्डेलाई बिहीकार बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्दै गण्डकी प्रदेशसभा सदस्य तथा पूर्व पर्यटन मन्त्री दिपेन्द्रबहादुर थापाले शिक्षा विकासको पहिलो सूचक भएको हुँदा यसलाई पुरा गर्नु पर्नेमा जोड दिनुभयो । शिक्षालाई गुणस्तरीय, व्यवहारीक र जीवनउपयोगी बनाउनु पर्ने भन्दै तीनै तहका सरकारको प्राथमिकतामा शिक्षा क्षेत्र पर्नु पर्ने उहाँको भनाइ छ ।
समय सापेक्ष शिक्षा क्षेत्रको नीति परिवर्तन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । अब व्यवस्थित र आवसीयसहित थोरै विद्यालय भए शिक्षालाई गुणस्तरीय बनाउन सकिने उहाँको भनाइ छ । पछिल्लो समय गाउँका विद्यालय रित्तिने र बजारका भरिने गरेकोमा थापाले चिन्ता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले आफूहरु निर्वाचित भएर आएपछि पहिलो निर्णय अनुसार नगरपालिकालाई पौष मसान्तसम्ममा बालमैत्री नगर घोषणा गर्न थालिएको बताउनुभयो । नगरपालिकाका सबै वडा बिहीबार बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको उहाँको भनाइ छ ।
उपप्रमुख राजु खड्काले शिक्षालाई पहिलो प्राथमिकता दिएर काम गरि रहेको बताउनुभयो । पौष मसान्तसम्म नगरपालिकालाई बालमैत्री पालिका घोषणा गरिने उहाँको भनाइ छ । नगरपालिकाले ५१ वटै सूचक पुरा गरि सकेको हुँदा सबै वडा बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा भएको बताउनुभयो । सो अवसरमा वडा फोकल पर्सन मनबहादुर थापाले प्रतिवेदा प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा वडा नम्बर ११ का अध्यक्ष ज्ञानेन्द्र गौतम, नेकपा एमालेका विजय थापा, भकुण्डे स्वास्थ्य चौकी प्रमुख उमेश सर्बुजा, धौलागिरी युवा क्लवका अध्यक्ष विष्णुप्रसाद शर्मा, बराह टोल विकास संस्थाका अध्यक्ष मौसम थापा, चौतारी डाँडा माविका अध्यक्ष रविलाल किसान, वडा बाल सञ्जालका सदस्य बिना थापा लगायतले बोल्नु भएको थियो ।
घोषणा पूर्व स्थानीयवासी, जनप्रतिनिधी, बिद्यार्थी, शिक्षक, अभिभावक लगाएतको सहभागीतमा भजन किर्तन, पञ्चेबाजा, झाँकी सहितको ¥याली प्रदर्शन गरिएको थियो । कार्यक्रम बागलुङ बागलुङ नगरपालिका–११ का अध्यक्ष तिलबहादुर थापाको अध्यक्षता, कार्यपालिका सदस्य सीता छन्त्याल थापाको स्वागत र शिक्षक ठगेन्द्र थापाको संचालनमा सम्पन्न भएको थियो ।