आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–१२ बालमैत्री वडा घोषणा गरिएको छ । नगरपालीकालाई बालमैत्री बनाउने अभियान अन्र्तरगत आज अमलाचौर बालमैत्री वडा घोषणा गरिएको हो ।
वडा घोषणा गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले गर्नुभएको थियो । वडालाई बालमैत्री घोषणापछि बोल्दै स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले सामाजिक विकास आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले शिक्षा र स्वास्थ्यमा लगानी बढाएको जानकारी गराउदै बालमैत्री वडाले सामाजिक विकासको सूचक पुरा गरेको जानकारी दिनुभयो ।
स्वस्थ्यको अधिकार नागरिकको नैसर्गिक भएको बताउदै दुर्गम क्षेत्रमा स्वास्थ्य क्षेत्रको पहुँच विस्तारमा कार्ययोजना ल्याएको बताउनुभयो । उहाँले अल्पकालिन, दीर्घकालिन र मध्यकालिन गरी १०० योजना कार्यान्वयनको चरणमा रहेको बताउनुभयो । उहाँले बुर्तिवाङमा ५० शैयाको अस्पताल, धौलागिरी आयुर्वेदलाई २५ शैयाको अस्पताल बनाइएको बताउनुभयो ।
मन्त्री पाठकले ग्रामिण सडकको स्तरोन्नती आवश्यक रहेको उल्लेख गर्दै सरङ्गी भैरवस्थान सडक, दव्ल्याङको पहिरोलाई व्यवस्थापन गर्न र मरेङघाट भैरवस्थान भकुण्डे पम्पिङ खानेपानी योजनालाई आफ्नो कार्यकालमा सम्पन्न गर्न लागि परिरहेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठले दीगो विकासको लक्ष्य हासिल गर्नका लागि बालमैत्री नगरलाई कार्यान्व्यन गर्न सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । यो अभियान नगरप्रमु्खको मात्र नभई समग्र नगरबासीको भएकाले यसलाई सफल बनाउन नगरबासीले हातेमालो गर्नुमा जोड दिदै दीगोपनाका लागि नगरले प्राथमिकता दिने बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्मा, बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेल, वडा नम्वर १३ का अध्यक्ष नारायण शर्मा पौडेल, वडा नम्वर १४ का अध्यक्ष चक्रबहादुर खत्री, वडा नम्बर ५ का वडाअध्यक्ष हरी प्रसाद शर्मा, वडा बाल संजालका अध्यक्ष दिपिका बिकले शुभकामना मन्तव्य व्यक्त गरेका गर्नुभएको थियो ।
वडा अध्यक्ष कोपिलामणी शर्माले बालमैत्रीको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा वडा अध्यक्ष कोपिलामणी शर्माको अध्यक्षता, वडा सदस्य महानन्द शर्माको स्वागत र वडा सचिव कल्पना आचार्यको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमका लागि वडाभरका शिक्षक, बिद्यार्थी, सामाजिक संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि झाँकी, बाजागाजा र बालमैत्री सचेतना लेखेका प्लेकार्ड सहित कार्यक्रममा सहभागी रहेका थिए । ५१ सुचक व्यवहारिक पुरा गरी वडालाई बालमैत्री घोषणा गरिएको हो ।