आदर्श अनलाइन, बागलुङ
देशभरका महिला जनप्रतिनिधिहरुको ‘शी लिड्स आइकन’ मा बागलुङको बडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी सहित तीन जना उत्कृष छानिएका छन् ।
उत्कृष्ट तीनमा रहेर आइकन घोषित हुनेहरुमा बडिगाड गाउँपालिका बागलुङका अध्यक्ष गण्डकी थापा अधिकारी, गौमुल गाउँपालिका बाजुराका उपाध्यक्ष सीता थापा, सिगास गाउँपालिका बैतडीका उपाध्यक्ष धाना धामी रहनुभएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आज एक समारोहका बीच अवार्ड एवं प्रशंसापत्र प्रदान गर्नुभएको थियो । देशभरका १२८ जना महिला जनप्रतिनिधिहरुबाट निर्णायक मण्डलले छानेर २७ जना सर्ट लिस्टमा परेका सफल भएका थिए । ती मध्ये तीन जना महिला जनप्रतिनिध उत्कृष्ट बनेका हुन् ।
आइकन घोषित हुने उपाध्यक्षद्धय थापा र धामी नेकपा एमाले र अधिकारी नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । शुक्रबार काठमाडौंमा भएको ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले नै अगुवाइ गरेको बताउनभयो ।
हिजो छोरीहरूको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिलाहरू शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको प्रधानमन्त्रीको भनाइ छ ।
‘व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरूको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो ।’ उहाँले प्राप्त उपलब्धिहरू पर्याप्त नभएपनि स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि पुगेको बताउनुभयो ।