बागलुङ नगरका सबै वडा बालमैत्री

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका सबै वडालाई बालमैत्री घोषणा गरिएको छ । जिल्लाको दोस्रो बालमैत्री नगरपालिका घोषणाका लागि सबै वडालाई बालमैत्री घोषणा गरिएको बागलुङ नगरपालिकाले जनाएको छ ।

बागलुङ जिल्लाको गलकोट नगरपालिका गण्डकी प्रदेशको तेस्रो बालमैत्री नगर घोषणा भएलगत्तै बागलुङ नगरपालिकाले बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका बनाउनका लागि कस्सिएको थियो । २ वर्षको अथक मेहनत र बालमैत्री अभियानबाट नगरका १४ वटै वडालाई बालमैत्री बनाइएको हो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ वटा सूचक पुरा गरेर सबै वडा बालमैत्री घोषणा गरिएको हो । मंसिरको ५ गते बागलुङ नगरपालिका–१४ नम्बर वडा पहिलो बालमैत्री घोषणा भएको थियो भने पुस १८ गते बागलुङ नगरपालिका १० भकुण्डे र १२ अमलाचौर एक साथ अन्तिम वडाको रुपमा बालमैत्री घोषणा गरिएको थियो ।

बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाका लागि आवश्यक ५१ सूचकहरु पूराका लागि नगरपालिकाले दुई वर्ष यता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरिसकेको छ । जिल्लामै पहिलो बालमैत्री नगरपालिका घोषणा गरिएको गलकोट नगरपालिकालाई पछ्याउदै बागलुङ नगरपालिका बालमैत्री घोषणाका लागि सबै वडालाई बालमैत्री बनाईएको हो ।

बागलुङ नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधि आएपछिको पहिलो निर्णय बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने निर्णय अनुसार बालमैत्री पूर्वाधार निर्माण, विभिन्न अन्तरक्रिर्या कार्यक्रम र वडा–वडा तहमा बालमैत्री सहजकर्ता खटाइए थियो भने बालमैत्री विद्यालय, बालमैत्री पूर्वाधार र स्वास्थ्य तर्फका सबै सुचक पुरा भएको बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा र कार्यक्रमका लागि मात्रै रु. एक करोड २५ लाख बजेट बिनियोजन गरेको छ ।

उक्त बजेटबाट बालमैत्री विद्यालय भवन निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । टोल–टोलमा बालक्लवहरु गठन गर्ने बालबालिकालाई सामाजिक कार्यक्रममा सहभागी गराउने, बालबिबाह, बालश्रम अन्त्य गर्ने लगायतका अभियान सम्पन्न भइसकेको र अबको ध्यान नगर घोषणासंगै दीगोपनाका लागि राण्नीतिक योजना तयारमा ध्यान गएको श्रेष्ठको भनाई छ ।

नगरपालिकाले गत आर्थिक वर्षमा समेत रु. ४० लाख लागतमा नगरका सामुदायिक विद्यालयहरुको शौचालय, खानेपानी तथा बालमैत्री पूर्वाधारमा खर्च गरिसकेको छ । नगरपालिकाले आगमी दिनमा निर्माण गरिने हरेक विकास निर्माणलाई बालमैत्री तरिकाले निर्माण गरिने भएको हो ।

नगरपालिकाले बालमैत्री नगरपालिका घोषणाका लागि आवश्यक शिक्षा, स्वास्थ्य, खानेपानी र पूर्वाधार लगायतका ५१ सूचकहरु पुरा गरेको छ । नगरभित्रर शिक्षा, आधारभूत खानेपानी, बालविवाह मुक्त, बालश्रम मुक्त, बालमैत्री संरचना निर्माण, स्तनपान कक्ष, सार्वजनिक शौचालय तथा बालमैत्री पार्कको समेत व्यवस्थापन गरेर नगरपालिका बालमैत्री घोषाणा गर्ने तयारीमा जुटेको छ ।

बालमैत्री नगरपालिका निर्माणले सामाजिक विकासलाई टेवा पु¥याउनेछ । बालबालिकाको शिक्षा, स्वास्थ्य, पूर्णखोप, स्तनपान, पोषण, बालविवाह, बालसहभागिता, बालमैत्री भौतिक संरचना, सामाजिक क्रियाकलापमा बाल सहभागिता र बालश्रमको अन्त्यलगायतका ५१ सूचकहरुको व्यवहारिक रुपमा पुरा गरेकाले बालमैत्री घोषणा गर्न मिल्ने राष्ट्रिय मापदण्डमा उल्लेख गरे अनुरुप नगर घोषणाको तयारीमा लागेको बालमैत्री संयोजक तिलक आचार्यले जानकारी दिनुभयो ।

बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम बागलुङ नगरपालिकामा २०७९ जेष्ठ ६ गते देखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रतिवद्धतामा हस्ताक्षर गरी

२०८१ साल पुस मसान्त भित्र वागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय अनुसार सबै वडा घोषणा गरिएको हो । बालबचाउ, बालसंरक्षण, बालविकास र वालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी नगरपालिका बालमैत्री बनाइएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *