सुन्तला बजारीकरणमा सघाउदै नगरपालिका

आदर्श अनलाइन, बागलुङ

सुन्तला गाउँको चिनिएको सिगानामा उत्पादित सुन्तला बागलुङ नगरपालिकाले बजारीकरणमा सघाउन थालेको छ । उचित मुल्य र पहिचानका लागि सुन्तला ब्राण्डीङ गर्न थालिएको हो । यहाँको बागलुङ नगरपालिकाले सिगानाको सुन्तलालाई ब्राण्डीङ गरेर बजारीकरणका लागि सहकारी मार्फत प्याकेजिङको काम थालेको छ ।

बागलुङ नगरपालिकाले वडा नम्बर ८ सिगानाको गणेश कृषि सहकारीको नाममा ‘सिगानाको रसिलो सुन्तला’ लेखेको कार्टुन उत्पादन गरेर बजारीकरणमा सघाएको हो । नगरपालिकाले पहिलो चरणमा दुई हजार २०० कार्टुन निर्माण गर्न ५० प्रतिशत अनुदान सुन्तला किसानलाई दिएको छ ।

गणेश कृषि सहकारीका अध्यक्ष राम बहादुर खड्काका अनुसार सहकारीमार्फत सुन्तलाको ब्राण्ड बनाएर बजारीकरण गर्न थालिएको जानकारी दिनुभयो । उहाँले परिक्षणका लागि यस वर्ष दुई हजार २०० कार्टुन ‘सिगानाको रसिलो सुन्तला’ लेखेर बागलुङ नगरपालिकाको लोगो राखेर बजारमा सुन्तला पठाउन थालिएको बताउनुभयो ।

“परिक्षणका लागि ब्राण्डीङको काम थालेका छौं सिगानाको सुन्तलाको माग धेरै भयो, चर्चा समेत छ तर ब्राण्ड नुहँदा बजारीकरणमा समस्या भयो” खड्काले भन्नुभयो “अहिले एउटा कार्टुनलाई किसानले ४० रुपैयामा पाउछन्, सुन्तला प्याकेजीङ गरेर पठाउदा कार्टुनको मुल्य सुन्तलामै जोडिन्छ, पहिलो चरणमा नगरपालिका र सहकारी मिलेर एक लाखका कार्टून उत्पादन गरेका हौं, कोसेलीका रुपमा पठाउदा, मायाको चिनो प्रदान गर्दा ब्राण्डीङ गरेको कार्टुनमा राखेर पठाउछौं ।”

सिगानाको सुन्तला भन्दै अन्यत्रको सुन्तला बजारमा खरिद बिक्री भइरहेकोले ब्राण्डको आवश्यकता परेको सिगानाका सुन्तला किसानको भनाई छ ।
खड्काले कार्टुनको माग अनुसार सहकारीले उत्पादन गर्न सक्ने बताउदै सिगानाको सुन्तला नगरपालिकाकैै पहिचान संग जोडिएकाले आगमी दिनमा नगरपालिकाले कार्टुन, क्यारेट जस्ता बजारीकरणमा सघाउने खालको अनुदानमा थप कार्यक्रम ल्याउन आवश्यक भएको खड्काको भनाई छ ।

आयातित वस्तुलाई मायाको चिनोका रुपमा दिनुभन्दा गाउँको उत्पादन दिँदा पहिचान हुने हुँदा यहाँ उत्पादन भएको सुन्तलाई मायाको चिनोको रुपमा समेत दिन थालिएको छ ।

यहाँका किसानले वार्षिक तीन करोडको सुन्तला बिक्री गर्दै आएका छन् । यहाँ उत्पादन भएको सुन्तला बुटवल, पोखरा र काठमाण्डौ निर्यात हुँदै आएको छ ।

वर्षौँदेखि यहाँका किसानले सुन्तला बिक्रीबाटै आम्दानी गर्दै आएकाले यसको प्रचारप्रसारका लागि ब्राण्डीङ गर्न थालिएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

“सिगानको सुन्तला हाम्रो पहिचान हो, यहाँ उत्पादन भएको सुन्तला अन्य ठाउँको भन्दा निकै स्वादिष्ट हुन्छ, धेरै उत्पादन हुने हुँदा किसानले यसबाट आम्दानी गर्दै आएका छन्, अब हामीले सिगानालाई सुन्तलालाई अन्तराष्ट्रिय रूपमा चिनाउन आवश्यक छ, पहिलो चरणमा कार्टुन बनाइएको छ जुन कार्टुन ५० प्रतिशत छुटमा नगरपालिकाले किसानलाई उपलब्ध गराउन शुरु गरेको छ” खड्काले भन्नुभयो । सिगानालाई सुन्तला अध्ययय केन्द्रका रुपमा समेत विकास गर्ने नगरपालिकाको लक्ष्य रहेको खड्काले बताउनुभयो ।

यस वर्ष नगरपालिकाले पाँच लाख लागतमा सुन्तलाका बिरुवा ५० प्रतिशत अनुदानमा बितरण समेत गरेको छ । सिगानामा २०० किसानले वार्षिक एक लाख देखि पाँच लाख सम्मको सुन्तला बजार पठाउदै आएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *