मथुरा साहुजीको भत्केको घर

याम बहादुर थापा मगर
तत्कालीन धौलागिरी अञ्चल बागलुङको भकुण्डे गाऊँ विकास समितिको नेवार साहुजीको आज भन्दा ३५ वर्ष अगाडी देखि हालसम्मको अनुभव र अनुभुति भएको यथार्थ कथा हो । बाइसे चौविसे राज्यको बलेवा राज्य भित्र पर्ने सुन्दर र रमणीय गाऊँ भकुण्डे गाऊँ हो । पर्यटकीय स्थलहरुमा बराहताल, सौरेको वन, भ्यु टावर, भैरव स्थान मन्दिर, मुलाबारी चौर, भञ्जाङको चौतारी, हिराताल, ठुलाताल खेल मैदान र मनोरम हिमश्रृङलाहरु अवलोकन गर्ने स्थान भएको परिवेश भएको भकुण्डे गाऊँ हो । भकुण्डे गाऊँबाट रमणीय हिमश्रृङखला गुर्जा हिमाल, धवलागिरी हिमाल , निलगिरी हिमाल ,अन्नपुर्ण, माछापुच्छ्रे हिमाल, मानापाथी हिमाल हुदै तेइस वटा हिमाल लहरै .देख्न सकिने स्थान मध्येमा पर्दछ । भकुण्डे गाऊँको माथिल्लो भेगमा आलु,मकै,कोदो, भटमास खेती, किवी खेती तथा तल्लो भेगमा सुन्तला,केरा खेती, धान खेतीका लागि प्रख्यात रहेको गाऊँ हो । तर अहिले जलवायु परिवर्तनले कोदो, आलु, धान, सुन्तला खेतीमा नानाँ भाटीका पहिचान नभएका नयाँ नयाँ रोगहरु लागेर राम्रो फसल उत्पादन नहुने गरेको छ ।

गाऊँ भरि अधिकांश मगर समुदायका मानिसहरु बस्थे । तर मगर भाषाका मगर ढुट, खाम मगर र काइके मगर भाषाहरु बोल्दैनथे । सबै मगर समुदायका मानिसहरु नेपाली खस भाषा नै बोल्दथे । मगर जातिका विभिन्न थरहरु भित्रका थापा मगर, सिंजाली मगर, राना मगर, रामजाली मगर, तारमी मगर, थापा मगर, पुलामी मगर, शरवुर्जा मगर उपथरका मगर समुदायका मानिसहरु बस्दथे । साथै विश्वकर्मा रसाइली, सार्की, बोसेल थरका दलित समुदाय र रायमाझी, भण्डारी, अधिकारी, क्षेत्री समुदायका मानिसहरु थोरै मात्रामा बस्दथे । गाऊँको बिच भुगोलमा पुरेत गर्ने उपाध्याय रिजाल समुदायका ब्राम्हण समुदायका बाक्लो घर बस्ती बनाएर बस्थे । तर सिंगो गाऊँ विकास समिति भित्र जम्मा तिन वटा घर नेवार समुदायको घर थियो । ति घरका नेवार समुदायका मानिसहरु श्रेष्ठ नाम,थरमा जोडेर नेवार समुदाय भएको बताउँथे ।

नेवार भाषा अर्थात नेपाल भाषा एक जना मात्र महिला बोल्ने गर्नुहुन्थ्यो । नेवार समुदाय भित्रका राजभण्डारी, शाक्य, मलेपति, वझा, तुलाधार थर भए पनि श्रेष्ठ थरलाई उत्तम थर भन्थे । बलेवाको नारायणस्थानबाट एक साइला भाइ ब्यापारको लागि भकुण्डे अर्वाउदीको गाऊँमा आएको नेवार समुदायका हुने भनेर भन्थे । नेवार समुदायको घरको आडमा तत्कालिन गाउँ पञ्चायतको भवन समेत थियो । एक घरका श्रेष्ठ नेवार समुदाय परिवारले व्यापार व्यवसाय नगर्ने खालको हुनहुुन्थ्यो । उनका छोराहरु नेपाल प्रहरी, नेपाली सेना र भारतीय सेनामा भर्ती भएर रोजगारीमा आवद्ध थिए । तर बाँकी दुई घरका नेवार समुदायका परिवारहरुको घर मुल बाटोको चोकमा भएकोले व्यापार व्यवसाय गर्दथे ।

साहुजीको घर चोकमा पर्दथ्यो । रायडाँडा गाऊँ जाने, तित्याङ गाऊँ जाने , मालढुगा अस्थायी बजार जाने, अमलाचौर गाऊँ, कुश्मीशेरा जाने, पैयुपाटा गाऊँ जाने, नारायणस्थान जाने बाटोको गोरटो चौबाटोमा घर जग्गा सहित पसल समेत रहेको थियो । गाऊँको मध्य भागमा नेवार समुदायको घर भएकोले आवात जावत गर्नका लागि समेत मुल बाटोमा नै जोडिएर गर्नुपर्ने थियो । नेवार समुदाय बाहेक सिगो गाऊँ भरि कुनै पनि मगर समुदायको व्यापार व्यवसाय गरेका थिएन । गाऊँका युवा युवती देखि धेरै जसो मानिसले नेवार समुदायको महिलालाई माङ र पुरुषलाई बुवा भन्थे ।

गाउँभरी पर्मा,हुडडा लगाएर खेतीपाटी गर्ने प्रचलन थियो । हलो जुवाँ र खेताला हली लगाएर खेतबारी जोत्ने गर्दथे । गाई भैसीको मलखाद पालो लगाएर हुद्धा लगाएर फाल्थे । घरधनी साहुजी मथुरा श्रेष्ठले बटौलीबाट बाह्र तेह्र दिन लगाएर गाऊँका भरिया मगरहरुलाई लगेर नुन,तेल,कपडा लगायतका घरायसी सामानहरु बोकाएर ल्याउथे । अलि पछि स्याङजाको पुतलिखेतबाट समेत भारीका भारी घरायसी सामानहरु भरिया मार्फत सामान लिएर गाऊँ भरिका मानिसहरुलाई बेच्थे । धेरै जसो सामानहरु त अग्रमी रुपमा गाऊँका मानिसहरुले अर्डर गरेका सामानहरु समेत ढुवानी हुन्थे । भरियाहरुले कार्कीनेटाको उकालो र ओरालोमा खच्चडले बाटो हिड्न नदिएर अप्ठयारो पारेको बताउँथे ।

बाटोमा बिरामी भएर कसै कसैले दुख दिएको समेत जानकारी साहुजी र ढाँक्रेहरुले सुनाउँथे । पछिल्लो समयमा खच्चडबाट समेत सामानहरु ढुवानी गर्न थालेका थिए । गाऊँका केटाकेटीहरु खच्चडको घण्टी बजेको सुनेर हेर्नका लागि गाऊँघरका थुप्रै केटाकेटीहरु जम्मा हुन्थे । नेवार मथुरा साहुजीको पसलमा सामानहरु नुन देखि सुन सम्म पाइन्छ भनेर गाउँलेहरु एक आपसमा मेलापातमा कुराकानी गर्दथे । कोही कसैले उधारो सामान लगेमा बर्षातको समयमा साहुजीको खेतबारीमा काम गरिदिनका लागि खेताला स्वरुप पर्मामा काम गर्न जान्थे । मथुरा साहुँजीको घर भनेर समेत गाऊँ भरिका मानिसले चिनाउँथे । सामान नै नकिने पनि गाऊँ भरका मानिसहरु जम्मा भएर चिया गफगाफ गर्ने र सुचना आदानप्रदान गर्ने सार्वजनिक स्थलको रुपमा नेवार मथुरा साहुजीको घर थियो ।

गाउँघरमा बर्षातको समयपछि चाडपर्वमा हरितालिका तिज मेला साहुजीको घर नजिकैको चौरमा लाग्दथ्यो । तिजको मेला स्थानीय युवा क्लबले आयोजना गरेर नेवार साहुजीको घर अगाडी रहेको चौरमा बहुत रमाइलो र बाक्लो मानिसहरुको उपस्थितिका बिचमा वर्षैपिच्छे मेला लाग्थ्यो । तिजी मेलामा हाम्रो गाऊँ बाहेक छिमेकी गाऊँका पैयुँपाटा,अमलाचौर, रायडाँडा,तित्याङ,रेश लगायतका गाऊँका मानिसहरु मेला भर्न स्वत स्फुर्त रुपमा आउँथे । म अलि सानो उमेरको थिए । समुह समुहमा जम्मा भएर स्वतस्र्फुत रुपमा तिज गित गाइरहेका महिलाहरु हुन्थे । तर मेलामा आएका मानिसहरु सबैले मथुरा साहुको पसलबाटै बिस्कुट, मिठाइ, चकलेट लगायत खाजाहरु खान्थे ।

त्यो समयको व्यापार भएको सम्झीदा अहिले कति धेरै मात्रामा भएको हो भन्ने अनुमान गर्न सकिन्छ । साहुजीले नचिन्ने कोही हुदैनथे । सबै मानिसहरु हाम्रो गाऊँ लगायत छिमेकी गाऊँका सबैलाई लगभग चिनेका हुन्थे । त्यसैगरी दशै तिहार आउने समयमा समेत त्यो साहुजीको पसलमा औधी व्यापार हुन्थ्यो । दशै तिहारमा चमचा, पिङ खेल्ने मानिसहरुको लर्को समेत लाग्दथ्यो । नयाँ कपडा सिलाउन, अपुग खाद्यान्न खरिद गर्न लगायत दशै तिहारमा आवश्यक पुजा सामाग्रीहरु सबै नेवार मथुरा साहुजीको पसलबाट नै किन्ने धुइरो लाग्थ्यो । हरेक क्रियाकलापमा नेवार मथुरा साहुजीको घरबाट सामान नकिनी नहुने बाध्यता जस्तो थियो ।

मथुरा साहुजीको घर अन्य गाऊँ भरिका मानिसहरुको भन्दा राम्रो खालको भव्य घर थियो । घर, गोठ ढुगाँले छाएको र जस्ता पाताले छाएको घर थियो । तर घना मगर बस्ती भएको गाऊँ भरिका समुदायहरुको अधिकांश घर खरले छाएको छाप्रो जस्ता घरहरु मात्र थिए । कसै कसैले भारतीय सेनामा कार्यरत भएकाहरुको ढुंगाले छाएको घर हुन्थ्यो । त्यस समदायमा गाऊँमा ढुंगाले छाएको घरलाई पक्की गाउँले घर भनेर भन्थे । खरले छाएको घरलाई दुई तिन वर्षमा पुनः छाउनु पर्ने भएकोले गाऊँमा हुने खानेहरुले गल्कोट,ताराखोला, रुम, नौला जस्ता ठाऊँहरुबाट ढुंगा लिएर ढुंगाले घर छाउँथे । घरको निर्माणको ढाँचाको आधारमा धनी र गरिब छुट्टिने गर्दथ्यो । नेवार साहुजीहरुको एक जनाको जस्ता पाता र अर्को साहुजीको ढुँगाले छाएको सम्पन्न ठुलो घर थियो ।

गाऊँ भरिका मानिसहरुलाई मथुरा साहुले र उसका परिवारका सदस्यहरुले पारिवारिक नजिकको नाता लगाएर बोलाउँथे । मथुरा साहुले अधिकांश महिलाहरुलाई भान्जी, नानी, कान्छी भनेर साइनो लगाउँथे । पुरुषहरुलाई कान्छा, ठुला, साइला, माइला भन्दै बोलाउने गर्नुहुन्थ्यो । सबैलाई न्यानो माया सहित सुमधुर पारामा बोलाउन सिपालु थिए । ताकी पसलमा सामानहरु किन्नका लागि पटक पटक मेरो पसलमा नै आओस भन्नका लागी समेत बोली व्यवहार मायालु गर्दथे र मिठास सहित रसिलो बोल्दथे । नजिकैको विद्यालयका शिक्षकहरु दैनिक रुपमा साहुजीको पसलमा नै खाजा खान आउने गर्दथे । विद्यार्थीहरु आफनो गच्छे अनुसार खाजा किनेर खान्थे ।

समय बित्दै जादा नेवार मथुरा साहुका छोरा छोरीको विवाह कार्य सम्पन्न भए । गाँऊका हुने खाने मानिसहरु बुटवल, भैरहवा, चितवन तिर बसाइसराइ गर्न थाले । विगत पन्ध्र, विस वर्ष देखि मानिसहरु काठमाडौ,पोखरा र सदरमुकाम बागलुङ बजारमा बसाइसराइ गर्ने मानिसहरु बढन् थाले । गाऊँमा भारतीय सेनामा भर्ती हुनेको सख्या भन्दा बैदेशिक रोजगारमा जानेहरुको बढदो प्रभावका कारण मानिसहरुमा आर्थिक उन्नती हुन थाले पछि मानिसहरु गाऊँ बस्न बिस्तारै कम गर्न थाले । गाऊँमा कच्ची मोटरबाटो पनि आयो । बिजुली बत्ती आयो । नेवार साहुजीको पसलमा व्यापार कम हुन थाल्यो । घर नजिकै भएको विद्यालयमा विद्यार्थीहरु समेत कमी हुदै गए । खाजा समेत खाने मानिसहरुको कमी हुदै गयो । विद्यालयका शिक्षकहरु विद्यालयमा नै विद्यार्थीहरुलाई दिवा खाजा व्यवस्था हुन थाले पछि विद्यार्थीसँगै विद्यालयमा खाजा खान थाले । गाऊँघरका युवाहरु लाहुरे हुने क्रमसँगै नेवार मथुरा साहुजी जेठो छोरा प्रदिप समेत भर्ती भयो । पढाइमा आवासिय विद्यालय अध्ययन गरेपनि खासै राम्रो उच्च शिक्षा हासिल गर्न नसके पनि भारतीय सेनामा भर्ती भएर राम्रो जिवनयापन बिताएका छन् ।

साहुजीको छोरीहरु मध्ये सबै दिदी बहिनीहरुको नेवार समुदायमा नै कार्की नेटा गाऊँमा बाजा गाजा बजाएर भएपनि एक जना छोरीको विवाह भारतीय सेनामा कार्यरत मगर केटासँग विवाह भयो । सुरुवातमा अन्तरजातीय विवाहको परिवारले राम्रोसँग स्वीकार गर्न नसकेपनि पछि छोरी ज्वाईलाई समय क्रमसँगै स्वत स्वीकार गरेका थिए । गाऊँका एक दुई जना मानिसहरु लुकेर,छिपेर अमेरिका जान थाले । कुनै मानिसहरु डिभी परेर अमेरिका जान थाले । कोही अष्ट्रेलिया,जापान, यु.के., जापान, कोरिया, जर्मन जान थाले ।

मथुरा साहुको कान्छो छोरा दिपक श्रेष्ठ पनि अष्ट्रेलिया पढन्का लागि भनेर गयो । सायद आजभोलि दिपकले पिआर समेत पाएको छ भनेर गाऊँघरमा भन्छन् । पहिला पहिला कम जग्गा जमिन हुने दुखी गरिबले बसाइ सराइ सरेर तराई भेग तिर भुइमान्छेहरु जान्थे भनेर सुनाउँथे तर आजकल त हुने खाने सम्पन्न मानिसहरु बसाइ सराइ गरेर गएपछि ग्रामीण भेगमा दिन दुखी र गरिबी समुदाय मात्र रहने गरेको पाउन सकिन्छ । विकासे कार्यकर्ताहरु र राजनीतितिज्ञले विकासका लहरहरु गाऊँतिर ल्याएका छन् । तर मान्छेहरु बसाइ सराइ गरेर शहरतिर जाने चलन पछिल्लो समयमा तिव्र रुपमा बढेर गएको छ ।

अहिले गाऊँघर पर्मा, हुडडा लगाएर खेतीपाटी गर्ने प्रचलन गाऊँघरका मानिसहरुमा हराउँदै गएको छ । हलो जुवा र गोरुको सट्टामा मिनी टेलर हलो मार्फत खेतपाती गरेर जोत्ने प्रचलन आएको छ । गाई भैसीको मलखाद भारीका भारी बोकी खेतबारी गर्ने प्रचलनको सट्टा कुखुराको सुली र कृत्रिम मलको प्रयोग गर्ने प्रचलन गाउँघरमा आएको छ । झाम्रे गित, सालैजो गित, सोरठी युवापुस्तामा माझ हराएको छ । मथुरा साहुजीको घरमा भएको पसलमा पहिला जस्तो व्यापार हुन छाड्यो । पहिला पुटलिखेत,पुर्तिघाटबाट ल्याउनुपर्ने सामानहरु दश वर्ष पहिले देखि मोटरबाटो आएर मालढुगाको खुदुरकेबाट नजिकै सामान लिएर बेच्न थाले । गाऊँका मानिसहरुलाई बिहान गएर बेलुका खुदुरके,मालढुगाबाट सामान लिन पहिला भन्दा धेरै नजिक भएको थियो । गाऊँघरको पसलमा किन्नु भन्दा मालढुगामा धेरै कम मुल्यमा सामानहरु पाइन्थ्यो ।

साथै धेरैजसोको घरमा भेडा,बाख्रा,भैसी,राँगोहरु हुन्थ्यो । भेडा, बाख्रापालनका लागि चरनको व्यवस्था लेकको बनमा भएकाले गाऊँभरीका एकै स्थानमा जम्मा गर्दा सयौ सख्याको बथान हुन्थ्यो । जुन बथान हेर्न लायक हुन्थ्यो । मालढुगां खुदुरकेबाट मोटरबाटो खन्दै बागलुङ बजारमा बस आउँदा झन सस्तोमा नजिकै घरायसी सामानहरुपाउन थाल्यो । बागलुङ बजार देखि क्रमशः मोटरबाटो गाऊँ गाऊँ तिर कच्ची मोटरबाटो खन्न थाले पछि झन गाऊँ गाऊँमा जिप, टक्याटर जान थालेपछि झन भरिया बनेर बोक्ने प्रचलन हराउँदै गयो । ढाक्रे बनेर जिवनयापन गर्ने भुइमान्छेहरु ठेकेदारको श्रम गर्न बाध्य भयो । ऋणधन गरेर गाऊँका अदक्ष श्रमिकहरु मलेसिया,कतार, दुबई तिर वैदेशिक रोजगारमा जान विवश हुने अवस्था आयो ।

गाऊँबाट धेरै युवा भारतीय सेनामा भर्ति भएपछिको कमाईले पोखरा,बागलुङ बजार हुँदै नारायणगढ,बुटवल,भैरहवा तिर जग्गा किन्न थाले । भारतीय सेनाबाट पेन्सन आउँदासम्म त घरसमेत बनाईसकेका हुन्थे कुनै कुनै लाहुरेहरुले । गाऊँका खरका छाना भएका घरहरु हुने खानेहरुले ढुंगाको छानाको भन्दा पनि सजिलो र सस्तो पर्ने भएकोले जस्ता पाताले छाउन थाले । खरका छाना भएका घरहरु लगभग फेरी नबन्ने र नआउने गरेर विस्थापित समेत भए । खरको छाना छाउने सिपालु बुढापाकाहरु समेत मृत्यु भएर हराउन थाले । नयाँ पुस्ताले खरको छाना छाउने सिप सिक्न चाहेन । तर शहर बजारमा ठुल्ठुला होटलमा खरको छाना भएको साना साना छाप्रो बनाउने फेशन आएको छ ।

अहिले गाऊँघरमा समेत ढुगा, गिटी, बालुवा, सिमेन्ट,छडका घरहरु सानो आकारमा बन्न थाले । मथुरा साहुजीको घरमा व्यापार कम हुन छाडेपछि उसका छोराहरु मध्ये एक जना भारतीय सेनामा भर्ती भएको र अर्को अष्ट्रेलियामा बैदेशिक रोजगारमा भएकाले आम्दानी राम्रो भएको थियो । जेठा छोराले कुश्मा बजारको चोकमा र कान्छो छोराले पोखरा बजारमा घर किनेर बसाइ सरेका थिए । श्रेष्ठ थरका समुदाय पहिला बसाइ सराई सरि सकेपछि बल्ल मगर समुदायका मानिसहरु आफु अनुकुलका शहर बजार र तराईमा बसाइ सराई गर्न थाले ।

बालबच्चाको पढाइ राम्रोसँग गर्नका लागि बजार एरियामा बोर्डिङ स्कुलमा पढाउनका लागि भने व्यापार गर्ने र सानो सानो पसल नै छोडेर गएपछि साहुजी मथुराको सट्टामा केही मगर समुदायका मानिसहरुले बाटोमा घर पर्ने भएकाहरुले पसल शुरुवात गर्न थाले । बिरामी भएर उपचारका लागि राम्रो अस्पतालको खोजीमा शहर तिर बसाइसराइ समेत तिव्र रुपमा गर्न थाले । तर मगर समुदायका मानिसहरुले पसल शुरुवात गर्दा गाऊँघरमा मोटरबाटो गइसकेको थियो । अधिकाश मानिसहरुले बजारका मुख्य पसलहरुबाट सामान लिने चलन बसिसकेकोले गाऊँका पसलहरुमा राम्रो व्यापार हुदैनथ्यो ।

गाऊँका विद्यालयहरुमा विद्यार्थी सख्या कम भएकाले मर्जर भै विद्यालय नै विलय समेत भएका थिए । गाऊँको जनसख्या दिन प्रति दिन बसाइ सरेर र कम सन्तान उत्पादन गरेर घटिरहेको थियो । विद्यालयमा पहिला एउटै कक्षामा पचहत्तर, असी जना विद्यार्थीहरुले अध्ययन गर्ने समय हुन्थ्थो । अहिले मुश्किलले दश जोड दुई कक्षासम्म पनि सय जना विद्यार्थी हुन समेत गाह्रो अवस्था सिजर्ना भएकोे थियो । गाउँका स्कुलहरुमा शिक्षक सेवा आयोग पास गरेका दक्ष,क्षमतावान शिक्षकहरुले अध्यापन गराउने तर विद्यार्थीहरु र अभिभावकहरुको चाहना दक्ष नभएका र शिक्षक सेवा आयोग पास नगरेका आबासिय विद्यालयहरुमा महँगो शुल्क तिरेर पढाउने चलन नेपाली समाजमा आएको छ ।

मथुरा साहुको घरलाई संरक्षण गर्ने र खेतबारीमा खनजोत गर्ने जिम्मा नजिकैको मगर समुदायको बिर्खे काकालाई जिम्मा दिएका थिए । खेतबारीमा अझैसम्म पनि खेतीपाती गरेका थिए । तर साहुजी बस्ने घर, गोठहरु बेहाल तरिकाले थोत्रो भएर भत्केको छ । त्यही गोठबाट बर्षभरिमा थुप्रै भेडाका साँघरहरु पुजाआजाका लागि उत्पादन भै बिक्री बितरण हुन्थे । लहिना बकेरना भैसी वर्षभरी दुहेर खाने गर्थे । हलगोरु पालेर खेतबारी जोत्ने काममा हलीलाई बोलाएर खुब मिठो खानपीन गराएर खेतबारी जोताउँथे । गाऊँ घरका मानिसहरुलाई ऋण धन सापट गर्न आएमा रित्तो हात कसैलाई फर्काउदनथे । तिनले ऋण लगानी स्वरुप गरेको रकम थुप्रै ऋणीहरुले अहिलेसम्म फिर्ता नगरेको कहानी सुनाउँथे गाउँलेहरु ।

अहिले ढुंगे घर पानी पर्दा चुहिएर मानिस बस्नै नसकिने गरी भत्केको देख्दा गाऊँघरका पुराना मानिसहरुले खुब मन दुखी बनाउँछन । अहिलेको परिवेशमा सो घर बनाउनका लागि स्थानीय सामाग्री र कामदारमा खर्च गर्दा बिस लाख भन्दा कम्तीमा नबन्ने तर्क गर्दछन । सायद सो घर पहिला बनाउँदा गुहारे प्रथाको आधारमा गाऊँघरमा नयाँ घर बनाउँदा विना पारिश्रमिक विना ज्याला डर्कमी जाने र घर बनाउने प्रचलन थियो । सोही गुहारे प्रथाका आधारमा बनेको हुन सक्दछ भनेर बुढापाकाहरुले सुनाउँथे । यदि घरपरिवारका मानिसहरुले संरक्षण गर्न दिएको भए सग्रहालयको रुपमा बनाउन मिल्ने गाऊँघरको पक्की घर थियो ।

अहिले गाउँघरमा खाली घर बन्ने, बाँझो खेतबारी बढदो क्रममा रहेको छ । हरेक घरले आयात गरेका खाद्यान्न सामाग्रीहरु उपयोग गर्ने प्रचलन रहेको छ । युवाहरु र केटाकेटीहरु गाऊँमा लगभग छैनन् । बुढाबुढीहरुमात्र रहेका छन् । मलामी, जन्ती जाने मानिसहरुको समेत अभाव हुन थालेको छ । बनमाराले घाँस आउने बन र खरबारी ढाकेको छ । बनमा पाइने जडीबुटीहरु त्यतिकै व्यवस्थापन नभएर खेर गएको छ । भत्केको घरको कथा नेपालका अधिकांश गाउँघरको यथार्थ कथा बनेको छ । गाऊँको घर भत्कनेर शहरमा एउटा भाडाको कोठामा बास बस्न सिमित भएको अवस्था छ । पुराना घरहरु भत्कदै जाने तर पुर्ननिर्माण होला कि नहोला । रित्तो गाऊँमा फेरी मानिसहरु पुनः फिर्ता होलान कि नहोलान ।

भत्केको घरसँगै अहिले गाऊँमा परम्परागत सिप,कलाहरु हराउँदै गएको छ ।विकासकाखुशीका सुचकांकहरु समृद्धि बन्ने जनताको सपना भत्केको घरबाट गएर बुनेका छन् कि छैनन् । भत्केको घरमा प्रयोग भएको श्रम र सिपको मुल्यांकन होला कि नहोला? घर भत्के पनि मन, विचार, समृद्धि नभत्कोस । सामाजिक सदभाव,मुल्य मान्यता नभत्कोस । भातृत्व,बन्धुत्व, नारीत्व सहित मानवअधिकारको प्रत्याभुति प्रत्येक जनजनमा छाओस । सुचना प्रविधिको बढदो विकास र प्रयोगलाई भत्केका घरहरुले अवलम्बन गर्न सकोस । भत्केका घरहरुको सख्या वृद्धि नहुने विकास र परिवर्तन सहित समृद्धि गाऊँमा आओस ।
जय विकास । जय समृद्धि ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *