डम्मर बुढा मगर, बागलुङ
राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अन्तरगत बागलुङको गलकोट नगरपालिका–११ मनेवापाटामा सहरी स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको छ । लोकमार्गमा हुने दुर्घटनाका घाइतेको उपचार तथा रेफरका लागि सहरी स्वास्थ्य केन्द्र संचालनमा ल्याइएको हो ।
पछिल्लो समय सडक दुर्घटना बढ्न थालेपछि नजिकमा सामान्य उपचार गर्ने स्वास्थ्य संस्था नहुँदा धेरैको ज्यान जोखिममा परेको भन्दै उद्धार, सामान्य उपचार र रेफर गर्ने उद्देश्यले सहरी स्वास्थ्य केन्द्र संचालनमा ल्याएको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले जानकारी दिनुभयो । गलकोट र बडिगाडको बीचमा बढी दुर्घटना हुने गरेको भन्दै स्वास्थ्य केन्द्रले घाइतेको उपचारमा ठूलो टेवा पु¥याउने उहाँको भनाइ छ ।
प्रमुख गैरेले भन्नुभयो – “यस वर्ष लोकमार्गको छेउमै मनेवापाट भन्ने स्थानमा सहरी स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ, खास गरि यात्रु र यहाँका नागरिकको स्वास्थ्य उपचारका लागि यो स्वास्थ्य संस्था स्थापना गरेका हौँ, सडक दुर्घटनामा परेका घाइतेलाई अझ बढी लाभ हुने अपेक्षा गरेका छौँ, नगरपालिकाले अन्य ठाउँमा पनि स्वास्थ्य केन्द्र स्थापना गरेका छौँ ।”
गलकोट नगरपालिकामा मध्यपहाडी लोकमार्गको झण्डै ४० किलोमिटर सडक पर्छ । यो सहरी स्वास्थ्य केन्द्रमा घाउचोटका बिरामीलाई आवश्यक पर्ने औषधि तथा सामग्री राखिएको र तत्काल बिरामी ल्याउन स्ट्रेचरको व्यवस्थापन गरिएको छ । एम्बुलेन्सको आवश्यक पर्दा नगर अस्पताल हरिचौरबाट लगिने नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले बताउनुभयो ।
स्वास्थ्य केन्द्रबाट गर्भ परीक्षण र पोषणको कार्यक्रम पनि संचालन हुने हुने उहाँको भनाइ छ । नगरपालिकाले यहाँ पहिलो चरणमा एक जना अनमि र एक अहेवको दरबन्दी व्यवस्थापन गरेको काम गरेको भन्दै बिरामीको चाप हेरेर थप राख्ने प्रवक्ता भण्डारीले बताउनुभयो ।