चिसो बढेपछि ढोरपाटन उपत्यकाका विद्यालय बन्द, माघ २० पछि खुल्ने

डम्मर बुढा मगर, बागलुङ
अत्याधिक चिसो बढेपछि बागलुङको ढोरपाटन उपत्यका क्षेत्रका विद्यालय बन्द भएका छन् । पछिल्लो केही दिनयता अत्यधिक चिसो बढेपछि पौष २६ गतेदेखि उपत्यकाका छ विद्यालय बन्द भएका हुन् । ढोरपाटन नगरपालिका–९ ढोरपाटनमा पर्ने उक्त विद्यालयहरु अब माघको तेस्रो साता मात्रै खुल्ने छन् ।

अत्यधिक चिसो बढेपछि पाखाथर स्थित ज्योति विकास माध्यमिक विद्यालय, छेन्तुङको सिद्धबराह प्राथमिक विद्यालय, सहलथान स्थित सहलथान प्राथमिक विद्यालय, दिजाको बाल ज्योति प्राथमिक विद्यालय, मस स्थित ढोरपाटन दुर्गम प्राथमिक विद्यालय र स्यालपाखे स्थित ढोरबहारा प्राथमिक विद्यालय बिहीबारदेखि बन्द भएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जिवी घिमिरेले जानकारी दिनुभयो ।

जनवादी आधारभूत विद्यालय भने घुम्ती पढाईका लागि ढोरपाटन नगरपालिका–९ बोबाङमा झरेको उहाँको भनाइ छ । घुम्ती पढाईका लागि जनवादी आधारभूतका विद्यार्थी बेसी झरेको घिमिरेले जानकारी दिनुभयो । विद्यालय चिसो घटेपछि माघ २० गतेदेखि मात्रै संचालन हुने उहाँको भनाइ छ । चिसोले विद्यार्थी कठ्याङग्रिएर पढ्न नसक्ने हुँदा बिदा गरिएको उहाँले बताउनुभयो ।

“हिउँदमा ढोरपाटन क्षेत्रमा पठनपाठन गर्न समस्या हुन्छ, चिसो ठाउँ छ, धेरै जस्तो स–साना बालबालिका भएको हुँदा पढाई प्रभावित हुने गर्छ, विद्यार्थीको स्वास्थ्यको ख्याल गर्दै आगामी माघ २० गतेसम्म विद्यालय बन्द गरेका छौँ” उहाँले भन्नुभयो – “अहिले बन्द भएका विद्यालयमा बर्खामा भने नियमित पढाई हुन्छ ।”

जनवादी आधारभूत विद्यालय बोबाङबाट अहिले पनि संचालन हुने हुँदा बर्खामा बिदा हुँदैन । ढोरपाटनका विद्यालयहरुमा करिब ३०० बढी विद्यार्थी अध्ययनरत रहेको नगरपालिकाले जनाएको छ । ज्योति विकास माध्यमिक विद्यालय प्रधानाध्यापक चकबहादुर अदैले चिसोका कारण बालबालिकाहरु बिरामी पर्न थालेपछि विद्यालय बन्द भएको बताउनुभयो ।

यहाँका विद्यालयमा अधिकांश सानो उमेरका बालबालिका अध्ययन गर्ने हुँदा उनीहरुलाई चिसोबाट बचाउनका विद्यालय बन्द गर्नुको विकल्प नभएको अदैको भनाइ छ । ठाउँ चिसो र त्यसमाथि सिमेन्टका भवनमा बसेर अध्ययन गर्दा बालबालिका बिरामी हुने गरेको उहाँले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *