आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गर्न थालिएको छ । १४ वटै वटालाई बालमैत्री घोषणा गरिसकेपछि माघ ९ गते स्थानीय शासनयुक्त पालिका घोषणा गर्न थालिएको हो । घोषणाका लागि सम्पूर्ण तयारी पूरा भएको सोमबार पत्रकार सम्मेलन गरि नगर प्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बालमैत्री नगर घोषणा गर्न उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह आउने श्रेष्ठले बताउनुभयो । बालमैत्री घोषणा गर्ने दिन बागलुङ नगरका १७ हजार ८०० विद्यार्थी सहभागी हुने उहाँले जानकारी दिनुभयो । गाउँ–गाउँदेखि विद्यार्थी बजार ल्याउनका लागि १०० बढी बसको व्यवस्थापन गरेको श्रेष्ठले जानकारी दिनुभयो । उक्त अवसरमा नागरिकको स्वास्थ्य परीक्षण र उपचार गरिने हुँदा एक हजार स्वास्थ्यकर्मी खटिने उहाँको भनाइ छ ।
यस पालिका जिल्लाको दोस्रो बालमैत्री घोषणा गर्ने पालिका हो । यसभन्दा अगाडि गलकोट नगरपालिका बालमैत्री पालिका घोषणा भइसकेको छ । बागलुङ नगरपालिका देशभर २५ औँ र गण्डकीमा चौँथो पालिका बन्ने छ । २ वर्षको मेहनत र बालमैत्री अभियानबाट नगरका १४ वटै वडालाई बालमैत्री बनाइएको नगर प्रमुख श्रेष्ठको भनाइ छ ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीतिमा व्यवस्था भएका ५१ वटा सूचक पुरा गरेर सबै वडा बालमैत्री घोषणा गरिएको हो । मंसिरको ५ गते बागलुङ नगरपालिका–१४ नम्बर वडा पहिलो बालमैत्री घोषणा भएको थियो भने पुस १८ गते बागलुङ नगरपालिका १० भकुण्डे र १२ अमलाचौर एक साथ अन्तिम वडाको रुपमा बालमैत्री घोषणा गरिएको थियो ।
बालमैत्री स्थानीय शासनयुक्त नगरपालिकाका लागि आवश्यक ५१ सूचकहरु पूराका लागि नगरपालिकाले दुई वर्ष यता सामाजिक विकास र बालमैत्री पूर्वाधारमा झण्डै तीन करोड लगानी गरेको छ ।
बागलुङ नगरपालिकामा आफुहरु निर्वाचित भएर आएपछिको पहिलो निर्णय बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासन युक्त नगरपालिका घोषणा गर्ने निर्णय अनुसार बालमैत्री पूर्वाधार निर्माण, विभिन्न अन्तरक्रिया कार्यक्रम र वडा–वडा तहमा बालमैत्री सहजकर्ता खटाइए श्रेष्ठले बताउनु भयो ।
नगरपालिकाले चालु आर्थिक वर्षमा बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा र कार्यक्रमका लागि मात्रै रु. एक करोड २५ लाख बजेट बिनियोजन गरेको छ । उक्त बजेटबाट बालमैत्री विद्यालय भवन निर्माण, खानेपानी, शौचालय लगायतका पूर्वाधार निर्माण गरिएको छ । टोल–टोलमा बालक्लवहरु गठन गर्ने बालबालिकालाई सामाजिक कार्यक्रममा सहभागी गराउने, बालबिबाह, बालश्रम अन्त्य गर्ने लगायतका अभियान सम्पन्न भइसकेको र अबको ध्यान नगर घोषणासंगै दीगोपनाका लागि राण्नीतिक योजना तयारमा ध्यान गएको श्रेष्ठको भनाई छ ।
नगरपालिकाले गत आर्थिक वर्षमा समेत रु. ४० लाख लागतमा नगरका सामुदायिक विद्यालयहरुको शौचालय, खानेपानी तथा बालमैत्री पूर्वाधारमा खर्च गरिसकेको छ । नगरपालिकाले आगामी दिनमा निर्माण गरिने हरेक विकास निर्माणलाई बालमैत्री तरिकाले निर्माण गरिने भएको हो ।
बालमैत्री स्थानीय शासन राष्ट्रिय रणनीति र बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०७८, घोषणा कार्यविधि २०७९ र स्थानीय सरकार संचालन ऐन २०७४ बमोजिम बागलुङ नगरपालिकामा २०७९ जेष्ठ ६ गते देखि बालमैत्री स्थानीय शासन अवलम्बन गर्ने प्रतिवद्धतामा हस्ताक्षर गरी २०८१ साल पुस मसान्त भित्र बागलुङ नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त नगरपालिका घोषणा गर्ने निर्णय अनुसार सबै वडा घोषणा गरिएको हो ।
बालबचाउ, बालसंरक्षण, बालविकास र वालसहभागिता जस्ता बालअधिकारका सवाललाई स्थानीय तहको नीति, संरचना, प्रणाली, कार्य प्रक्रिया र व्यवहारमा संस्थागत गर्ने गरी नगरपालिका बालमैत्री बनाइएको हो ।