चार मेघावाटको मध्ये दरमखोला ए हाइड्रोपावर निर्माण हुँदै

डम्मर बुढा मगर, बागलुङ
बागलुङको दरमखोलामा चार मेघावाटको ‘मध्ये दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालिएको छ । ताराखोलाको घुस्मेलीदेखि पानी लिएर ह्वाइट गोल्ड इनर्जी प्रालिले हाइड्रोपावर निर्माण गर्न थालिएको हो । घुस्मेलीदेखि दुई हजार २०० मिटर लामो फलमको टनलेमार्फत पानी लिई गाईघाट झरनामा विद्युत गृह निर्माण गरिने भएको छ ।

वि.सं. २०७९ सालदेखि सुरु भएको हाइड्रोपावरको काम हालसम्म २० प्रतिशत सम्पन्न भएको ह्वाइट गोल्ड इनर्जी प्रालिका अध्यक्ष हेमबहादुर खत्रीले जानकारी दिनुभयो । अहिले ताराखोला गाउँपालिका–१ गाईघाट क्षेत्रमा विद्युतगृह निर्माण सुरु भएको उहाँको भनाइ छ । ह्वाइट गोल्ड इनर्जीको ६० र फरेन इन्भेष्टमेन्टको ४० प्रतिशत लगानीमा हाइड्रोपावर निर्माण थालिएको अध्यक्ष खत्री बताउनुहुन्छ ।

हाइड्रोपावर निर्माण सम्पन्न भएपछि केन्द्रीय प्रशारण लाइनको हरिचौर शव स्टेशनमा जोड्ने योजना रहेको उहाँले बताउनुभयो । आगामी दुई वर्षमा योजना सम्पन्न गर्ने काम तीव्र गतिमा भइरहेको खत्री बताउनुहुन्छ । आयोजना ७५ करोड लागतमा सम्पन्न हुने उहाँको भनाइ छ । स्वदेशमै लगानी गरि देशको अर्थतन्त्र सुधार गर्नका लागि आफूहरुले हाइड्रोपावर निर्माण गर्न थालेको खत्रीले बताउनुभयो ।

“देशमै केही गर्नु पर्छ र युवाहरुलाई रोजगारी दिनु पर्छ भन्ने हिसाबले हामीहरुले यहाँ मध्ये दरमखोला ए हाइड्रोपावर’ निर्माण गर्न थालेका हौँ, यसबाट धेरैले रोजगार पनि पाउन थालेका छन्” अध्यक्ष खत्रीले भन्नुभयो – “दुई वर्ष अगाडि सुरु गरेको आयोजना बीचमा कामले गति लिन सकेको थिएन, अब धमाधम हुने छ, यहाँबाट विद्युत उत्पादन हुन थाल्यो भने बागलुङका दूर दराजसम्म पुग्ने अपेक्षा छ ।”

यो पनि पढ्नुहोस्