आदर्श अनलाइन, बागलुङ
उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले अहिलेको सरकार स्थायित्व र नागरिकको पक्षमा काम गर्न बनेको बताउनुभएको छ । नेपाली कांग्रेस बागलुङले मंगलबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै यसभन्दा अगाडि बनेका धेरै सरकार अस्थितर बन्दा नागरिकमा निराशा बढेको भन्दै अहिले दुई ठूला दल मिलेर यो सरकार बनेको मन्त्री सिंहले बताउनुभयो ।
सरकार गठन गर्दा भएको सात बुँदे सम्झौत अनुसारनै अगाडि बढेको भन्दै नागरिकको भरोसा जगाउने गरि काम गरि रहेको उहाँको भनाइ छ । राजनीतिक स्थिरता र आर्थिक विकासका लागि सरकार गम्भीर भएर लागेको मन्त्री सिंहले बताउनुभयो । सरकारले जनतालाई थप अधिकार सम्पन्न बनाउन संविधान संशोधन गर्ने उल्लेख गर्नु भयो ।
उपप्रधानमन्त्री सिंहले भन्नुभयो – “यस अगाडि बनेका सरकारहरु धेरै समय टिकेनन्, छिनछिनमा परिवर्तन भए, जनताले पनि आवाज उठाउन थाले, एउटा स्थितरता दिनका लागि दुई दल मिलेर सरकार गठन ग¥यौँ, त्यसमा अन्य पार्टीहरुले पनि साथ दिएका छन्, हामी नागरिकका समस्यालाई प्राथमितामा राखेर काम गर्न थालेका छौँ ।”
मन्त्री सिंहले थप बोल्दै देशमा संकट पर्दा नेपाली कांग्रेसले निकास दिँदै आएको बताउनुभयो । पार्टीलाई बलियो बनाउन जनस्तरबाटै लाग्नु पर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचनमा गठबन्धन परिस्थित अनुसार हुने गरेको सिंहको भनाइ छ । पार्टीका हरेक कार्यकर्ताले संगठनलाई मजबुत बनाउनु पर्ने भन्दै नागरिकका समस्या समाधानमा समन्वयात्मक भूमिका खेल्नु पर्ने उप्रधानमन्त्री सिंहले बताउनुभयो ।