खेमराज गौतम, बाँसखर्क
नेपालकै सबैभन्दा स्वादिलो र रैथाने जातको सुन्तला उत्पादन हुने जलजला गाउँपालिका–१ बाँसखर्कमा एक दिने सुन्तला महोत्सव आयोजना गरिएको छ ।
सुन्तलाको प्रचार प्रसार गर्दै सुन्तला ढुवानीका लागि स्तरीय सडकको ध्यानाकर्षण गर्न महोत्सव आयोजना गरिएको जलजला–१ बाँसखर्कका वडाध्यक्ष जगबहादुर रोकाले बताउनुभयो । यस वर्ष १९ करोडको सुन्तला उत्पालन गरेको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना गरिएको हो ।
महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सुन्तलाको बजारीकरणमा प्रदेश सरकारले सघाउने बताउदै बाँसखर्क पुग्ने सडक स्तरोन्नतीका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्ने बताउनुभयो । पाण्डेले सुन्तलाको खानी रहेको बाँसखर्क पुग्ने सडक स्तरीय बनाउन आवश्यक महसुस गरेको बताउनुभयो । उहाँले सुन्तलाको ब्राण्डीङ गरेर अन्तराष्ट्रिय बजारमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।
सुन्तलाको सिचाईको साना योजना ल्याउने, गाउँमा नै उत्पादन कृषि उपजलाई बजारीकरण गर्ने र कृषि क्षेत्रलाई र कृषकलाई टेवा दिन गण्डकी प्रदेशले सहयोग मुख्यमन्त्री पाण्डेको भनाई थियो । जलजला गाउपालिका–१ वडाकार्यालय र गाउँपालिकाको संयुक्त आयोजनामा गरिएको बाँसखर्क सुन्तला महोत्सवमा पर्यटन तथा उद्योग मन्त्री मित्रलाल बस्यालले सुन्तलालाई पर्यटन संग जोडेर अघि बढाउन आवश्यक रहेको बताउनुभयो । भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री पद्यमा जिसी श्रेष्ठले यहाँको सुन्तलाबाट नागरिकको आयआर्जन बढ्दै जीवन स्तरमा परिवर्तन आएको बताउनुभयो ।
उहाँले सडक र पूर्वाधारको विकास साथै र कृषि क्षेत्रमा आएका समस्यालाई सहयोग बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सभा सदस्य मनरुपा शर्मा, गण्डकी प्रदेशसभा सदस्य भक्त कुँवर,गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, पूर्व जनप्रतिनिधि याम बहादुर मल्ल प्रमुख सचिव बाबुराम विष्टले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम वडा अध्यक्ष जग बहादुर रोकाको अध्यक्षता, गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्यको स्वागत तथा युवाराज अर्गजाको सञ्चालनमा सम्पन्न भएको थियो ।