आदर्श अनलाइन, बागलुङ
बागलुङका झन्डै साढे ११ हजार किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको (ह्युमन प्यापिलोमा भाइरस) विरुद्धको एचपिभी खोप लगाइने भएको छ । १० देखि १४ वर्ष उमेर समूहका ११ हजार ४९५ जना किशोरीलाई यो खोप लगाउन लागिएको हो ।
प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका अनुसार १० पालिकाका ३१२ खोप केन्द्रबाट अभियान सञ्चालन गरेर खोप दिइने छ । देशभर आगामी माघ २२ गतेदेखि फागुन ६ सम्म खोप अभियान सञ्चालन हुनेछ । विद्यालय जाने कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने र विद्यालय नजाने किशोरीलाई लक्षित गरी खोप लगाउन लागिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिनुभयो ।
उहाँका अनुसार खोप लगाउन ३१५ जना स्वास्थ्यकर्मी र ६२७ जना स्वास्थ्य स्वयंसेवक परिचालन गरिने छ । जिल्लाका सबै स्थानीय तहहरूसँग खोप अभियान सञ्चालन गर्न समन्वय गरिने खत्रीले बताउनुभयो । विद्यालयमा रहेका किशोरीलाई विद्यालयमै पुगेर खोप लगाउने तयारी गरिएको र विद्यालय बाहिर रहेका किशोरीलाई पायक पर्ने स्वास्थ्य संस्थामा लगाइने उहाँको भनाइ छ ।
खत्रीले भन्नुभयो – “बागलुङमा दुई चरणमा खोप लगाउने योजना बनाएका छौँ, फागुन ५ गते भित्रै १० वटै पालिकामा खोप लगाउने गरि तयारी तीव्र पारेका छौँ, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका, गलकोट नगरपालिका, काठेखोला, बरेङ, ताराखोला गाउँपालिकामा पुसको २२ गतेदेखि २८ गतेसम्म र निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकामा पुस २९ देखि फागुन ६ गतेसम्म लगाउने छौँ ।”