उत्पादनका आधारमा अनुदान पाउँदा दुग्ध किसान उत्साहित

डम्मर बुढा मगर, बागलुङ
प्रति लिटर दुधमा रु ५ अनुदान पाउन थालेपछि बागलुङका दुग्ध उत्पादनक किसान उत्साहित भएका छन् । गत वर्षसम्म प्रति लिटर साढे दुई रुपैयाँ पाउँदै आएका किसानले चालु आर्थिक वर्षदेखि रु पाँच पाउन थालेका हुन् । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले किसानलाई उत्पादनका आधारमा दुधमा अनुदान दिन थालेको हो ।

विज्ञ केन्द्रले दुग्ध उत्पादन सहकारीमा आवद्ध भएका किसानलाई अनुदान दिने गरेको छ । किसानलाई प्रोत्साहन र दुधमा जिल्लालाई आत्मनिर्भर बनाउनका लागि अनुदान उपलब्ध गराएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख डाक्टर ऋषिराम सापकोटाले जानकारी दिनुभयो । अधिकांश किसान दुग्ध सहकारीमा आवद्ध हुँदा अनुदान प्रादन गर्न सहज भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार बागलुङमा वार्षिक २३ मेट्रिकटन दुध उत्पादन हुँदै आएको छ । दुधमा बागलुङ आत्मनिर्भर भएको भन्दै वर्षेनी झण्डै दुई लाख लिटर अन्य जिल्लामा निर्यात गर्ने गरेको डाक्टर सापकोटाले बताउनुभयो । जिल्लामा चार वर्षदेखि किसानलाई अनुदान दिन थालेको उहाँको भनाइ छ । यस वर्षबाट अनुदानको रुकम बढाएको सापकोटाले बताउनुभयो । विज्ञ केन्द्रले करिब आठ सय जना किसानलाई अनुदान दिँदै आएको उहाँ बताउनुहुन्छ ।

“यस जिल्लामा धेरै किसानले दुध उत्पादन गर्दै आउनु भएको छ, त्यस मध्य झण्डै १०० जनाले व्यवसायिक रुपमै बाह्रै महिना दुध विक्री गर्नु भएको छ, पहिले दुई रुपैयाँ दिँदै आएका थियौँ, यस वर्षदेखि पाँच दिन थालेको हो,” उहाँले भन्नुभयो – “यस वर्ष आठ लाख लिटर दुधका लागि रु ४० लाख बजेट विनियोजन भएको छ, उक्त रकम किसानको हातहातमा पुग्ने छ ।”

उहाँका अनुसार अहिले सात वटा सहकारीमार्फत किसानलाई अनुदान दिने गरिएको छ । प्रति व्यक्ति ९१ लिटर आवश्यक पर्नेमा हाल बागलुङमा त्यसभन्दा बढी दुध उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

काठेखोला गाउँपालिका–६ का दुग्ध उत्पादन किसान सुरेश कँडेलले भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङले अनुदान दिन थालेपछि आफूहरुमा उत्साह थपिएको बताउनुभयो । आफूले चालु वर्षमा १३ हजार २४७ लिटर दुध उत्पादन गरेर रु ६६ हजार २३५ अनुदान पाउने उहाँको भनाइ छ । राज्यले किसानलाई उत्पादनमा आधारित अनुदान दिँदा काम गर्न उत्साह मिल्ने कँडेल बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *