खेमराज गौतम, बागलुङ
कुनै समय ट्याक्टर नउक्लने सडकमा अहिले ट्याक्सी गुड्न थालेका छन् । सडकको ट्रयाक खुलेको २४ वर्षपछि बागलुङ बजारदेखि सिगाना पुग्ने सडक कालोपत्र थालिएको छ ।
सडक स्तरोन्नती भएर सिगानामा कालोपत्र थालिएको सडकमा अहिले ट्याक्सी, कार तथा अटो गुड्न थालेका छन् । ट्याक्टर नउक्लने बाटोमा अहिले हलुका सवारीसाधन समेत गुड्न थालेका छन् ।
सडकको स्तरोन्नती तथा ग्रेड मिलेपछि वि.स २०५४ सालमा बागलुङ नगरपालिका–८ सिगानामा पुगेको सडक अहिले चिल्लो बनेको छ । उकालो र साँघुरो सडकमा नमिलेका घुम्तीका कारण यात्रुलाई गन्तव्यमा पुग्न सास्ती थियो भने सडक अस्तव्यस्त बनेको थियो ।
काठेखोलामा पुल नहुँदासम्म बर्खाका समयमा सिगानामा यातायातका साधन चल्न सक्दैनथे । बर्खामा खच्चडकै भरमा सामाग्री ढुवानीको विकल्प थिएन । बागलुङ सदरमुकामदेखि सिगानाको बौडेचौर पुग्न दुई घन्टा बढी समय लाग्दथ्यो । वडा कार्यालयसम्म मुस्किलले एक घन्टामा पुग्ने बाटोमा सडक स्तरोन्नतीसंगै कालोपत्र थालेपछि अहिले १५ मिनेटमै पुग्न थालिएको छ ।
उक्त सडककको बागलुङ बजारदेखि काठेखोला सम्म कालोपत्र भइसकेको छ भने गोखोला सम्मको सडक ग्राभेल भएर कालोपत्रको चरणमा छ । विसं २०५४ मा बागलुङ बजारदेखि रु. तीन लाख बजेटमा सिगानातर्फ सडक ल्याउने कामको सुरुआत भएको उक्त सडकमा अहिले ट्याक्सी गुड्न थालेका छन् ।
तत्कालीन गाविस अध्यक्ष टोपबहादुर खड्काले सडक खुलेको चार वर्षसम्म ट्याक्टर समेत गुड्न नसक्ने बाटोमा अहिले ट्याक्सी गुड्न, कार र भ्यान गुड्न थालेको बताउनुभयो । वडा कार्यालय सम्म मुश्किलले दुई घन्टामा पुग्न सकिने सडकमा अहिले २० मिनेटमै पुग्न थालिएको छ । यात्रा सहज भएपनि भाडादर भने नघटेको यात्रुको गुनासो छ । सिगानामा एक निर्वाचन क्षेत्र एक रणनीतिक सडकअन्तर्गत अहिले सडक स्तरोन्नतिसँगै घुम्ती सडक ढलान, अन्यत्त ग्राभेल र काठेखोला सम्म कालोपत्र भएपछि सिगानाको यात्रा छोटिएको हो ।
बागलुङ बजारदेखि बोक्सेसम्म दुई वर्ष अघिनै कालोपत्रे सम्पन्न भइसकेको थियो भने अहिले बोक्सेदेखि सिगानासम्मको आठ किमी सडक ग्राभेल भएपछि ट्याक्सी, बस तथा अटो समेत गुड्न थालेका छन् । सिगानामा नियमित स्कुल बस पुग्न थालेका छन् भने आन्तरिक पर्यटकले ट्याक्सी र अटोरिक्सा लैजान थालेका हुन् । कालोपत्र सडक पुग्न थालेपछि सिगानामा विकासको मुहारै फेरिएको छ ।
सिगानामा रु.२९ करोड लागतमा आठ किमी सडक कालोपत्रे र ढालान गर्नका लागि ३२ महिनाका लागि ठेक्का सम्झौता भएको थियो । अहिले ६ किमि कालोपत्रको चरणमा छ भने अन्य सडक समपन्न भइसकेको छ ।
विसं २०६४ मा काठेखोलामा मोटरेबल पुल निर्माण भएपछि बाह्रैमास सवारीसाधन चल्न थालेको सिगानाको सडकमा २०८० सालदेखि बस तथा ट्याक्सी चल्न थालेका हुन् । सिगानामा सडक स्तरोन्नति र ढलान भइसक्दासमेत भाडादर भने समायोजन हुन नसक्नु दुःखद् रहेको स्थानीय लाल बहादुर थापाले बताउनुभयो ।
सडक कालोपत्रेको जिम्मा पाएको कर्ण विल्डर्सका साइट इञ्चार्ज सन्दिप श्रेष्ठले फागुन लाग्दासाथ अन्य छ किमि सडक कालोपत्र गर्नेगरी तयारी थालिएको बताउनुभयो । बागलुङ क्षेत्र नं १ अन्तर्गत बागलुङ नगरपालिकाको बागलुङ बजार अदालत चौपारी हुँदै सिगाना, चापाखर्क, गाजाको दह, बरेङ शान्तिपुर जोड्ने सडक ३० किमी सकडमध्ये पहिलो चरणमा १० किमी सडकको काम अन्तिम चरणमा पुगेको छ भने पुन १० किमि सडकको ठेक्का खोल्ने तयारी भइरहेको छ ।