खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लाको भकुण्डेमा बाँसबाट सामाग्री बनाउदै आउनुभएका एक वृद्धको जीवनको उत्तरार्धमा पुग्दा सहित पहिचान बिहिन हुनुभएको छ ।
बागलुङ नगरपालिका–१० भकुण्डे स्थित बस्दै आउनुभएका शारिरिक तथा मानसिक अपाङ्ग वृद्धको अहिले सम्म पहिचान बिहिन हुनुहुन्छ । अन्दाजी ९० वर्षीय वृद्धको नाम, ठेगाना र आफन्त नखुल्दा राज्यले दिने सामाजिक सुरक्षा भत्ताबाट समेत बन्चित हुनुपरेको छ । लामो समयदेखि भकुण्डेका विभिन्न घरमा आश्रय लियर बस्दै आउनुभएका वृद्धलाई स्थानीयले ‘धान्द्रुके बाजे’ भनेर बोलाउने गरेका छन् ।
सानै उमेरदेखि भकुण्डेमा आएर बाँसको चोयाको सामाग्री बनाउदै पेट पाल्दै आउनुभएको वृद्धको उमेर बढ्दै जादा पछिल्लो समय हिड्डुलमा समेत बाध पुग्न थालेको देखिन्छ । स्पष्ट बोल्न नसक्ने वृद्ध अहिले स्थानीय नरमाया थापाको घरमा आश्रय लियर बस्दै आउनुभएको छ । उहाँ भकुण्डेका परिचित व्यक्ति भएपनि नाम र ठेगाना खुल्न सकेको छैन । राज्यले पहिचानका रुपमा दिने नागरिकता पाउन नसक्दा उहाँ पहिचान बिहिनको नागरिक हुँन बाध्य हुनुभएको छ ।
“हाम्रो घरमा बस्न लागेको थुप्रै वर्ष भयो, मेरो बिबाह भएर आउदा यही हुनुहुन्थ्यो, अहिले मेरै उमेर ६० पुग्यो, उहाँलाई धान्द्रुके बाजे भनेपनि धान्द्रकुमा उहाँको कोही आफन्त पत्ता लागेको छैन, नागरिकता बनाउन वडामा आयोजित शिविरमा समेत लगेका थियौ, पहिचान नखुलेको भन्दै नागरिकता दिइएन, बुधबार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का उहाँलाई भेट्न आउनुभएको थियो, नगरपालिकाले पहल गरे नागरिकता बने बुढेसकालमा सहारा बिहिनको नामाकरण होला” थापाले भन्नुभयो “बाँसको चोयाबाट उत्पादन हुँने डोको, थुन्से, डालो र मान्द्रो लगायतका सामाग्री गाउँभर पुगेर बुन्ने गर्नुहुन्छ ।”
उहाँको उमेर ९० वरपर भएको भकुण्डेका पूर्व गाविस अध्यक्ष तथा संविधासभा सदस्य नर बहादुर थापाले बताउनुभयो । उहाँलाई नागरिकता दिन सके उहाँको पहिचान खुल्ने र सामाजिक सुरक्षा भत्ता समेत पाउने अवस्था रहने बताउनुभयो ।
जैमिनीको बिजुवामा जन्मेको र आमाले छोडेपछि धान्दु्रक बसाई सरेको भन्नेमात्रै सुनेपनि अहिलेसम्म आफन्त पत्ता लगाउन नसकिएको र उहाँले बोल्न नसक्ने भएकाले समस्या भएको थापाको भनाई छ । धेरै वर्षदेखि भकुण्डेमा बस्दै आउनुभएका वृद्ध रेश, सिगाना, र रायडाँडा सम्म पुगेर चोयाका सामाग्री बनाउने गरेपनि अहिले शारिरिक रुपमा कमजोर भइसक्नुभएको छ ।
भकुण्डेमा बस्दै आउनुभएको वृद्धको अवस्था बुझ्न बुधबार भकुण्डे गएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो । खड्काले जीवनको उत्तरार्धमा आइपुग्दा समेत पहिचान बिहिन हुनु दुखद् कुरा भएको बताउदै नागरिकता र अपाङ्गता परिचय पत्र बनाउनका लागि जिल्ला प्रशासन कार्यालयमा समन्वय गरेको बताउनुभयो । “उहाँले एउटा परिचय पाउनु भनेको राज्य भएको महशुस गर्नु हो, स्थानीय सरकारका हैसियतले गर्ने आवश्यक समन्वय हामीले गछौं,कुनै नेपाली नागरिक पहिचान बिहिन हुनुहुँदैन” खड्काले भन्नुभयो “संरक्षण लिन परे व्यक्तिगत रुपमा मैले नै लिन्छु, उहाँलाई नागरिकता दिलाउन स्थानीय सरकारले जस्तोसुकै जिम्मा लिन सकिन्छ ।”
बागलुङका प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले स्थानीय, वडाकार्यालय र नगरपालिकाले सहजीकरण गरे नागरिकता दिन सहज हुँने बताउनुभयो । स्थानीय सरकारले कानूनी प्रकृया पु¥याउन सके नेपाली व्यक्तिको हकमा नागरिकता दिन आवश्यक सहजीकरण हुँने उहाँले बताउनुभयो ।
कानूनी विषय अध्ययन पश्चात सहजीकरण गर्ने बताउदै प्रजिअ सुवेदीले अभिभावक नभएको खण्डमा देखे जानेकाको भनाई तथा स्थानीयले संरक्षण लिन सके नागरिकता दिन सकिने अवस्था आउने छ । उहाँले सकेसम्म वृद्धको घर तथा आफन्त पत्ता लगाउन स्थानीयले सहयोग गर्नुपर्ने बताउनुभयो ।