आदर्श सञ्चार, बागलुङ
सूचना प्रविधि र पत्रकारिताको क्षेत्रमा न्यू मिडियाको आगमनले प्रसस्त अवसर चुनौती दुबैको सिर्जना गरेको बागलुङमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन् । बागलुङ मिडिया प्रा.लिद्वारा सञ्चालित बागलुङ खबर डटकम अनलाईनको तेस्रो वार्षिकोत्सवको अवसरमा आयोजित ‘न्यू मिडियाको अवसर र चुनौती’ विषय अन्तरक्रिया कार्यक्रममा सहभागीले अनलाइन सञ्चार माध्यमलाई अहिले पनि सञ्चार माध्यमको रुपमा सर्व स्वीकार्य बनाउन नसकिएको उनीहरुको भनाइ छ ।
उनीहरुले भने – ‘सूचना र प्रविधिको विकासले गर्दा पत्रकारिता क्षेत्रमा पनि उल्लेख्य परिवर्तन आएको छ, हामी पत्रकारहरुले पनि समयको गतिलाई बुझेर त्यही अनुसार आफुलाई अपडेट गर्न सक्नुपर्छ, समयको पदचाप पछ्याउन नसके हाम्रो पत्रकारिता आम नागरिकका लागि उपयोग बिहीन हुन्छ । हाम्रो उपादेयतामा कमी आउँदै जान्छ ।’
कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले पत्रकारिताले नागरिकमा आशाको सञ्चार गर्नु पर्ने बताउनुभयो । उहाँले सूचना प्रविधिको विकासले विश्व नै साँघुरिएकाले यसको सही उपयोग गर्नुपर्ने बताउनुभयो । अहिले भैरहेको गलत कुरा भ्रष्ट्राचारलाई उदाङ्गो पार्दै जनतामा भरोसा सिर्जना गर्ने काममा पत्रकार लाग्नु पर्नेमा मन्त्री पाठले जोड दिनुभयो ।
‘अहिले हाम्रो देशमा निरासाको मात्रै खेती भैरहेको छ, आशाको सञ्चार गराउने कुरामा पत्रकारिता क्षेत्रले योगदान गर्नुपर्छ, हामीले आफुलाई समयसंगै स्मार्ट बनाउँदै लैजानु पर्नेछ,’ मन्त्री पाठकले भन्नुभयो ‘पत्रकारिताको धर्ममा इमानदार भएर अगाडि बढ्न सकेको खण्डमा हामीले पत्रकारिताको ओज बढाउन सकिन्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य हरिनारायण गौतमले सिंगो पत्रकारिता क्षेत्रमा देखिएको चुनौती सामना गर्नेगरी पत्रकारहरु अगाडि बढ्नुपर्ने बताउनुभयो । पत्रकारिता क्षेत्रमा सम्भावना र चुनौती दुबै रहेको र पत्रकार हामीले चुनौतीको सामना गरि अवसरको उपयोग गरी अगाडि बढ्नु पर्नेमा जोड दिनुभयो ।
नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका उपाध्यक्ष प्रकाश पौडेलले पत्रकारिता क्षेत्रमा देखिएका समस्याहरु पार लगाउनका लागि पत्रकारले आफुलाई समयानुकुल परिस्कृत गर्दै जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव नारायण रिजाल, गण्डकी प्रदेश सदस्य रञ्जिता शर्मा, पत्रकार महासंघ बागलुङका पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, नेपाल प्रेस युनियन बागलुङका अध्यक्ष संगम घर्तीमगर, प्रेस चौतारी नेपाल गण्डकी प्रदेश उपाध्यक्ष उमाकान्त शर्मा, प्रेस सेन्टर नेपाल बागलुङका उपाध्यक्ष अनिष खाती, प्रगतिशील पत्रकार संघ बागलुङका अध्यक्ष विजय रानाले न्यू मिडियाले पत्रकारितामा अथाह सम्भावना बोकेर आएको र त्यसलाई अपनाउन पत्रकारले आफ्नो क्षमता विकास गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा पूर्व प्रहरी संगठन बागलुङका अध्यक्ष टिकाबहादुर कार्की, कृषि सहकारी संघ बागलुङका उपाध्यक्ष मणिभद्र शर्मा, धौलागिरि आयुर्वेद अस्पतालका लेखा अधिकृत यामबहादुर थापा, पत्रकाहरु रामकृष्ण बोहोरा, प्रदिप पन्त, ताराप्रसाद शर्मा, डम्मर बुढामगर, खेमराज गौतम सुवास, विनोद विका लगायतले आफ्नो भनाई राखेका थिए ।
बागलुङ खबर डटकमका सम्पादक रामु जिसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कान्तिपुर दैनिकका उपसम्पादक प्रकाश बरालले पत्रकारितामा न्यू मिडियाको चुनौती र अवसर विषयक अवधारणापत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन अर्जुन कार्कीले गर्नु भएको थियो । कार्यक्रममा एक लाख रुपैयाँको आपतकालिन दुर्घटना उद्धारका लागि राहत कोषको घोषणा गरिएको छ ।
बागलुङ मिडिया प्रालिका सञ्चालक खिमबहादुर कार्कीले एक लाख रुपैयाँको कोष गुहेली सञ्चार सहकारी संस्था लि. मा राखिएको र त्यसको व्याजबाट दुर्घटनामा परेर आपतकालिन रुमपा उद्धार गर्नुपर्ने व्यक्तिलाई यातायात खर्च उपलब्ध गराउने बताउनुभयो ।