मनकली घर्ती : सिस्नो पाउडर बनाउने ‘मास्टर’

डम्मर बुढामगर, बागलुङ
ताराखोला गाउँपालिका–५ बारडुलेकी ४६ वर्षीया मनकली घर्ती मगरले वि.सं. २०६७ सालदेखि सिस्नोको पाउडर उत्पादन आउनु भएको छ । बारीको काल्नामा खेर गइरहेको सिस्नोलाई प्रशोधन गरि पाउडर बनाएर देशका ठूला सहर र विदेश पठाउने गर्नुहुन्छ । १४ वर्ष अगाडि जिल्ला लघु उद्यम संघले दिएको पाँच दिनको तालिमले घर्ती मगरलाई उद्यमी बनायो । उद्यमीसँगै अहिले उहाँ प्रशिक्षकका रुपमा ज्यादा चिनिनुहुन्छ ।

विहान बेलुका घरको काम धन्दामा ब्यस्त हुने मनकली फुर्सदको समयमा काल्नामा उम्रिएको सिस्नो टिपेर प्रशोधन गर्नु हुन्छ । आवश्यक मेसिन नहुँदा पनि उहाँल घरेलु सामग्री प्रयोग गरि सिस्नोका पाउडर उत्पादन र प्याकेजिङ गर्नु हुन्छ । गाउँमा कसैले पनि सिस्नो विक्री हुन्छ भन्ने विश्वास गर्दैनथे । तर अहिले विदेशदेखि नै माग आउन थालेपछि गाउँले पत्याउन थालेका छन् । ताराखोलामा मनकली सिस्नोको पाउडर उत्पादन गर्ने र अरुलाई प्रशिक्षण दिन एक्लो महिला हुनुहुन्छ ।

घर्ती मगरले कक्षा पाँचसम्म अध्ययन गर्नु भए पनि सिस्नो पाउडर बनाउन सिक्नेहरुका लागि शिक्षकनै बन्नु भएको छ । वर्षौँ अगाडि गाउँमा एक पटक लिएको तालिमले मनकलीको दैनिकीनै फेरिँदै गएको छ । घरको काम धन्दामा मात्रै सीतित उहाँ अहिले फुर्सदको समयमा बारीको सिस्नो टिप्ने र पाउडर बनाउने गर्नुहुन्छ । दुर्गम गाउँको सामान्य परिवारकी घर्ती मगरका तीन छोरी र एक छोरा हुनुहुन्छ । श्रीमान भने वर्षौँदेखि रोजकारका सिलसिलामा मलेसिया पुग्नु भएको छ ।

उहाँले भन्नुभयो – “म त गरिब परिवारमा जन्मेको हुँद धेरै पढ्न पाइन, पाँच कक्षासम्म पढेँ, आर्थिक अवस्था पनि राम्रो थिएन, आफुले पढ्न नपाए पनि चार भाईबहिनी छोराछोरीलाई श्रीमानले विदेशमा मैले यहाँ काम गरेर उच्च शिक्षा पढाउन पाएका छौँ, उतिबेला खेती किसान गरेर खानु पथ्र्यो, खान पनि पुग्दैनथ्यो, सिस्नोको पाउडर बनाएर बेच्न थालेपछि आर्थिक अवस्था पनि सुधार हुँदै गएको छ ।”

बागलुङ जिल्लामा अहिलेसम्म व्यवसायिक रुपमा सिस्नोको पाउडर उत्पादक हुन सकेको छैन । धेरै महिलाले तालिम लिए पनि व्यवसायिक रुपमा उत्पादन गर्न तर्फ चासो दिएको पाइँदैन । सिस्नोको पाउडर उत्पादन गर्न निकै झण्झटिलो र धेरै समय लाग्ने हुँदा धेरैले चासो नदिने मनकली बताउनुहुन्छ । एक महिनामा महिनामा करिब १५ किलो पाउडर तयार गर्न सकिने उहाँको भनाइ छ ।

एक किलो पाउडर उत्पादनका लागि करिब १० किलो काँचो सिस्नो आवश्यक पर्ने भन्दै बढी मेहनत र कम आम्दानी हुने हुँदा धेरैले चासो नदिएको उहाँको भनाइ छ । विदेश जाने धेरैको रोजाईमा सिस्नाको पाउडर पर्ने हुँदा प्रति किलो २०० हजारसम्म लैजाने गरेको घर्ती मगरले सुनाउनुभयो ।

पहिलेको तुलनामा पछिल्लो समय पाउडरको माग बढ्दै गएको छ भने मूल्य पनि बढ्दै गएको छ । डेढ दशक अगाडि गाउँका अरु महिलाले पनि तालिम लिए पनि उनीहरुले खास्सै चासो दिएनन् । मनकली एक्लैले निरन्तर मेहनत गर्दै जाँदा अहिले अन्य महिलाका लागि प्रेरणाको स्रोत बन्नु भएको छ । समय–समयमा उहाँ तालिम दिनका लागि ठाउँ–ठाउँमा पुग्नुहुन्छ ।

सिस्नोको पाउडरको माग नेपालमा भन्दा बढी विदेशबाट आउने घर्ती मगर बताउनुहुन्छ । आधुनिक उपकरण भए त्यसभन्दा बढी कमाई गर्न सकिने भन्दै अब व्यवसायलाई थप व्यवस्थित गर्दै खेतबारीमा सिस्नोको खेती गर्ने योजना रहेको मनकलीले सुनाउनुभयो । राज्यले आफू जस्ता उद्यमीलाई व्यवस्थित रुपमा उद्यम गर्न सघाउने भए धेरै महिलाहरुको दैनिकी बदलिने घर्ती मगर बताउनुहुन्छ ।

“मैले सिस्नोको पाउडर बनाउन सिकेको धेरै वर्ष भयो, धेरै थोरै अहिले पनि बनाउँदै आएको छ, पाउडेर बेचेर घर खर्च चलाउन मद्दत पुगेको छ, मैले उत्पादन गरेको पाउडर पोखरा, काठमाडौँसम्म पुग्छ, अझ जापान, कोरिया जानेले बढी लैजाने गर्छन्” घर्ती मगरले भन्नुभयो – “गाउँमा सबै महिला दिदीबहिनीहरु मिलेर काम गर्ने हो भने वर्षमा लाखौँ आम्दानी गर्न सकिने थियो ।”

पाँच दिनको तालिमले आफूलाई अब्बल बनाउन टेवा पु¥याएको उहाँको भनाइ छ । आवश्यक अनुसारको मेसिन नहुँदा अहिले घरमै भएका सामग्रीबाट पाउडर उत्पादन गरेको घर्ती मगरले बताउनुभयो । माघ अनुसार उत्पादन गर्न नसकेको उहाँ बताउनुहुन्छ ।

गाउँमा सहनशीला लघु उद्यम महिला समूह गठन भए पनि सक्रिय रुपमा पाउडर उत्पादनमा लाग्न नसकेको घर्तीले सुनाउनुभयो । पहिले प्रति किलो दुई/चार समयमा विक्री हुने पाउडरको मूल्य अहिले रु एक हजार पर्न थालेको उहाँले सुनाउनुभयो । आफूले अहिलेसम्म कसनै पनि निकायबाट अनुदान नपाएको घर्ती मगर बताउनुहुन्छ ।

ताराखोला गाउँपालिकाका उपाध्यक्ष भीमबहादुर रोकाले महिला उद्यमीहरुलाई पालिकाले निरन्तर सहयोग गर्दै र आवश्यक सीप सिकाउँदै आएको बताउनुभयो । उद्यमसँग जोडिने हरेक महिलालाई अनुदान दिने र दक्ष बनाउनका लागि तालिम दिने उहाँको भनाइ छ । आवश्यक सहयोग माग्न आउने हरेक महिला उद्यमीलाई पालिकाले सहयोग गरेको भन्दै सिस्नो पाउडर उत्पादन गर्ने मनकलीलाई पनि पालिकामा आए सहयोग गर्ने उपाध्यक्ष रोका बताउनुहुन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *