आदर्श सञ्चार, बागलुङ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रजातन्त्रको विकल्पमा अरु कुनै उत्तम व्यवस्था नरहेको बताउनुभएको छ । बुधबार बागलुङमा ७५ औँ प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पछिल्लो समय प्रजातन्त्रमाथि कालो बदल मडारिन थालेको केसीले बताउनुभयो ।
सत्तामा शक्तिमा बस्नेहरुले जनताको भवना विपरित काम गर्न नहुने उहाँको भनाइ छ । पूर्व उपप्रधानमन्त्रीसमेत रहनु भएका केसीले प्रजातन्त्रलाई सिध्याएर देशमा निरङ्कुश शासन चलाउने शक्तिहरु तयार भइरहेको आरोप लगाउनुभयो । जनताको बलिदानीबाट स्थापना भएको प्रजातन्त्र कुनै पनि शक्तिले ढलाउन नसक्ने उहाँले दाबी गर्नुभयो ।
“अहिले पनि कतिपय मान्छेहरुले यो लोकतन्त्रको, यो गणतन्त्रको औचित्य छैन, यसले नेपाली जनताको गास, बासको समस्याको समाधान गर्न सकेन, त्यस कारण आवश्यक छैन भन्न थालेका छन्” केसीले भन्नुभयो – “प्रतिगामीहरुले प्रजातन्त्रको विरुद्धमा हल्लापिटेका छन् ।”
उहाँले प्रजातन्त्र कसैले बकस दिएको नभई नेपाली जनता निरङ्कुश शासन ढालेर ल्याएको बताउनुभयो । सत्तामा नेता आउने जाने प्रक्रिया चलि रहने र जनता सधै स्थायी हुने अध्यक्ष केसीको भनाइ छ । नेपाली जनतालाई प्रजातन्त्र अपरिहार्य रहेको उहाँले उल्लेख गर्नुभयो ।
राजनीतिक दलका नेता र सांसदले भनेको जस्तो विकास निर्माण अघि बढेको भए लाखौँ युवा जनशक्ति विदेश जानु नपर्ने केसीले बताउनुभयो । जनताको चाहना र आवश्यकता अनुसार नेताले काम नगर्दा गाउँघर रित्तिएर उराठ लाग्दा भएको उहाँको भनाइ छ । सरकारले युवा शक्तिलाई आफ्नै गाउँ ठाउँमा बस्ने वातावरण तयार गर्नु पर्नेमा केसीले जोड दिनुभयो ।