तित्याङको ‘ब्लु हिल’मा पर्यटकीय पूर्वाधार


खेमराज गौतम, बागलुङ
बागलुङ नगरपालिकाको गौरवको योजना हो बागलुङ नगरपालिका–९ स्थित ‘ब्लु हिल’ । आँखै अघि देखिने दुई दर्जन हिमश्रङ्खला र बागलुङ बजारले ब्लुहिललाई धार्मिक तथा पर्यटकीय गन्तव्य बनाउनका लागि पूर्वाधार निर्माणको काम गत वर्षदेखि थालिएको छ । ३४ करोडको पूर्वाधार बनाउने लक्ष्य रहेको ‘ब्लु हिल’ पहिलो चरणमा र. ७० लाख र दोस्रो चरणमा साढे दुई करोड गरी रु. तीन करोड २० लाखको पूर्वाधार निर्माणको चरणमा रहेको छ ।

डोयको उक्त पहाडलाई ब्लु हिलको रुपमा परिणत गर्न गत वर्ष मात्रै रु. ७० लाखको पूर्वाधार निर्माण भइसकेको र यस वर्ष साढे दुई करोडको पूर्वाधार सहित शिवमुर्ती निर्माण गर्नका लागि ठेक्का आव्हान गरिएको छ । पर्यटकीय गन्तव्य बनाउन बागलुङ नगरपालिकाले गत वर्षदेखि नगरकै गौरवको योजनाको रुपमा डोयको पहाडलाई ब्लु हिल नामाकरण गरेर पर्यटकीय पूर्वाधार निर्माण गर्न डिपिआर बनाएर काम अघि बढाएको थियो ।

मनोरम प्राकृतिक सौन्दर्यता भएको डोयको डाँडालाई नगरपालिकाले ‘ब्लु हिल’ नामाकरण गरेको बागलुङ नगरपालिका–९ तित्याङका वडा अध्यक्ष राजु थापाले जानकारी दिनुभयो । “नगरकै ठूलो लगानीमा पूर्वाधार निर्माण थालिएको छ, हामीले पहाडमाथी शिवमुर्ती बनाएर धार्मिक पर्यटक र प्रकृतिप्रेमी पर्यटक भित्राउने उदेश्य राखेका छौं, सडक स्तरोन्नती समेत आवश्यक छ” वडा अध्यक्ष थापाले भन्नुभयो “पर्यटकीय गन्तव्य बनेपछि अन्य पूर्वाधारले समेत प्राथमिकता पाउनेछन् । ”
ब्लु हिल पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न रु. २४ करोड ५६ लाख २२ हजारको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार गरेको थियो ।

गत वर्ष जग्गा सम्माउने, जग निर्माण गर्ने लगायतको पूर्वाधार निर्माण गरेको बागलुङ नगरपालिकाले यस वर्ष भवन भवन माथि विशाल शिव मुर्ती निर्माण गरिनेगरी नगरपालिकाले ठेक्का खोलेको वडा अध्यक्ष थापाले जानकारी दिनुभयो । ब्लु हिल क्षेत्रमा वनभोजस्थल, ध्यान केन्द्र, दृश्य अवलोकनस्थल, शौचालय, जीम हल, मन्दिर, पार्किङ लगायतका अतिरिक्त पूर्वाधार निर्माण समेत गरिनेछ । दृश्यावलोकनका लागि ब्लु हिलमा आन्तरिक पर्यटक पु¥याउन नगरपालिकाको ठूलो बजेट लगानी भइरहेको बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो ।

नगरपालिकाले गत वर्षमा ब्लु हिल पर्यटकीय गन्तव्यको लागि रु. ७० लाख बजेटबाट चक्लाबन्दी गर्ने र जग्गा संरक्षण गर्ने लगायतको काम सम्पन्न भइसकेको र यस वर्ष बहुउदेश्यीय भवन निर्माण र हनुमानको विशाल मुर्ती बनाउन ठेक्कामा दिने तयारी थालिएको छ ।

“नगरपालिकाभित्रको अत्यन्तै पर्यटकीय सम्भावना बोकेको डोय निकै हरियाली छ, आँखै अगाडि हिमाल र बागलुङ बजार देखिन्छ, प्रकृति र धर्मलाई सँगै जोडेर पर्यटक धिाउनेगरी गतवर्ष शिलान्यास गरेको ठाउँमा यस वर्ष साढे दुई करोडको पूर्वाधार निर्माण हुनेछन्” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “ब्लु हिल स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्नेगरी नामाकरण गरेका छौँ, मौसम खुलेको समयमा यहाँ आउने जो कोहीले हरियाली पहाडबाट धौलागिरी, माछापुच्छ्रे, निलगिरी अन्नपूर्ण लगायतका दुई दर्जन हिमाल देख्न सकिन्छ ।”

समुन्दी सतहदेखि करिब दुई हजार दुई सय मिटरको उचाइमा पर्यटकीय पूर्वाधार निर्माण गर्न थालिएको छ । डिपीआरअनुसार योजनाले पूर्णता पाउन आठ वर्ष लाग्नेछ । ब्लु हिलबाट धौलागिरि, माछापुच्छ्रे, निलगिरी अन्नपूर्णसहितका दर्जन हिमाल देख्न सकिन्छ ।

यो पनि पढ्नुहोस्