धमाधम ओखर खेतीमा तित्याङका किसान


खेमराज गौतम, बागलुङ
बागलुङको तित्याङमा धमाधम ओखर खेति बिस्तार गरिएको छ । बसाइँरसाईका कारण खेतियोग्य जग्गा बाँझिदै गएपछि बागलुङ नगरपालिकाले बाँझो जग्गा सदुपयोग गर्न तित्याङमा झण्डै तीन सय रोपनी जग्गामा ओखर खेति थालेको छ ।
बाँझो जग्गामा रहेका कुकाठ हटाउने अभियान संगै सुख्खा फलफूल खेतिगर्न नगरपालिकाले गत वर्षदेखि स्थानीयलाई प्रेरित गर्न थालेको हो ।

बागलुङ नगरपालिकाका–९ तित्याङको डोय क्षेत्रमा गत वर्ष र यस वर्ष गरी २८० रोपनी जग्गामा ओखरखेति विस्तार गरिएको वडा अधयक्ष राजु थापाले जानकारी दिनुभयो । तित्याङमा गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्र्तगत रु. १० लाख र स्थानीयको रु. ८ लाख लगानीमा दुई हजार २५० ओखरका विरुवा १४० रोपनी जग्गामा लगाइएकोमा यस वर्ष नगरपालिकाको रु. १२ लाख र स्थानीयको रु. ८ लाख गरी २० लाखमा जुरेढुङ्गा क्षेत्रको १४० रोपनी जग्गामा एक हजार ५०० ओखरका बिरुवा लगाउन थालिएको वडा अध्यक्ष थापाले बताउनुभयो । थापाका अनुसार यस वर्ष रु. २० लाखबाट बिरुवा खरिद, रोपण, सिंचाई पोखरी निर्माण गर्ने र मलखात निर्माण गर्ने लगायतको काम भइरहेको छ ।

जुरेुङ्गाका कृष्ण बहादुर खड्का, रविन थापा र याम बहादुर थाप लगायतको बाँझो जग्गामा व्यवसायिक ओखर खेति थालिएको छ । सिंचाईको अभाव रहेको र बाँझो जग्गामा सख्खा फलफुल खेति राम्रो हुनेभएकाले कुकाठ हटाउदै, बाँझो जग्गा सदुपयोग गर्दै सुख्खा फलफूल खेति गर्न थालिएको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।
स्थानीय किसानको जग्गा एकीकृत गरेर ओखर खेती गर्न १ सय ४० रोपनी जमिनमा ओखर खेती गर्ने तयारी गरेपछि नगरपालिकाले बिरुवा वितरण गरेको खड्काको भनाई छ ।

पछिल्लो समय बसाइँसराइले गाउँबस्ती रित्तिदै गएपछि किसानले उजाडिएको बारी र जंगल फाँडेर ओखर खेती वितार भइरहेको जुरेढुंगा कृषक समूहका अध्यक्ष लिलाबहादुर खड्काले बताउनुभयो ।

१ हजार ६ सय मिटरदेखि ३ हजार मिटरसम्म लगाउन सकिने दाँते ओखरको ‘थिनसेल’ जातको बिरुवा बागलुङको हावापानीमा पनि लगाउन सकिने भएकोले जुम्लाबाट झिकाइएको बागलुङ नगरपालिकाकी कृषि प्राविधिक लछुता बरुवालले जानकारी दिनुभयो । प्रतिबिरुवा ३ सय २० रुपियाँ पर्ने ओखरको विरुवाको माग बढीरहेको बरुवालले बताउनुभयो ।
जुरे ढुङ्गाका किसानहरुले परम्परागत रुपमा गर्दै आएको खेतिको सट्टा सामुहिक रुपमा ओखर खेति गर्न थालेका छन् । जुरे ढुङ्गा कृषक समूहलाई १५ सय बिरुवा हस्तान्तरण गरेपछि यस वर्षको ओखर खेति विस्तार शुरु भएको छ ।

स्थानीयहरुको मागका कारण थिनसेल जातका बिरुवा डोल्पादेखि खरिद गरी हस्तान्तरण गरिएको उप प्रमुख खड्काले बताउनुभयो । ९ नम्बर वडाका किसानले सुन्तला र तरकारीसंगै ओखर खेतिलाई उच्च प्राथमिकता दिएकाले आगामी बर्ष पनि ओखरका थप बिरुवा बितरण गरिने बताउनुभयो ।

ओखर एक यस्तो फल हो, जसमा प्रोटिन, एन्टिओक्सिडेन्ट, भिटामिन, खनिज पर्याप्त मात्रामा पाईन्छ । विशेषगरी ओखरमा ओमेगा फ्याटि एसिड हुन्छ जसले मस्तिष्कको गतिविधिलाई तेज बनाउन मद्दत गर्दछ । ओखरमा प्रशस्त मात्रामा क्याल्सियम हुन्छ जसले हड्डी बलियो बनाउन आवश्यक पोषक तत्व प्रदान गर्नुका साथै ओखरको सेवन गर्नाले मुटुलाई स्वस्थ राख्नुका साथै शरीरमा कोलेस्ट्रेरोलको मात्रा कम गर्न मद्दत गर्छ ।

यो पनि पढ्नुहोस्