आदर्श सञ्चार, बागलुङ
बागलुङको धवलागिरि बुहुमुखी क्याम्पसमा जेहेन्दार र विपन्नलाई निःशुल्क रुपमा पठन–पाठन गर्नका लागि कोष खडा गरिएको छ । गत वर्षको तिहारमा देउसीभैलो खेलेर रु. एक करोडको कोषको शुभारम्भ गरिएकोमा अहिले सम्म रु. ७५ लाख संकलन गरिएको छ ।
धवलागिरिको एक मात्र आंगिक क्याम्पस धवलागिरि बहुमुखी क्याम्पसमा जेहन्दार र विपन्न विद्यार्थीलाई निःशुल्क उच्च शिक्षा दिनका लागि स्वतन्त्र विद्यार्थी युनियनको अगुवाइमा रु. एक करोडको छात्रवृृति कोष गत वर्ष शुभारम्भ गरिएको थियो ।
उक्त कोषलाई छिट्टै एक करोड पु¥याएर क्याम्पसलाई हस्तान्तरण गर्ने तयारी गरिएको र अहिले सम्म रु. ७५ लाख संकलन भइसकेको स्वतन्त्र विद्यार्थी युनियनका सभापती सुदिप सागर कँडेलले जानकारी दिनुभयो ।
कोष निर्माणका लागि धवलागिरि बुहमुखी क्याम्पस परिवार, शिक्षाप्रेमी, पूर्व विद्यार्थी तथा स्थानीय तहले राम्रो साथ दिएका छन् ।
कोषको ब्याज रकमबाट धवलागिरि क्याम्पसमा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक वर्ष एक सय विद्यार्थीलाई निःशुल्क शिक्षा दिइने सभापती कँडेलले जानकारी दिनुभयो ।
आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्यले स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पस बागलुङले रु. एक करोड ‘धवलागिरि बहुमुखी क्याम्पस छात्रवृति कोष’ निर्माण अभियान अन्तिम चरणमा पुगेको हो ।
कोष निर्माणका लागि देउसी भैलो मार्फत रु. ४५ लाख संकलन भएको र स्थानीय तह काठेखोला गाउँपालिकाले रु. तीन लाख, पर्वतको जलजला गाउँपालिकाले रु.एक लाख प्रदान गरिसकेको कँडेलको भनाई छ । यस्तै शिक्षाप्रेमी, समाजसेवी, अग्रजको संझनामा समेत कोषलाई रु. २० लाख रकम प्राप्त भइसकेको बताउनुभयो ।
उहाँले कोष निर्माणमा पूर्व विद्यार्थीले समेत साथ दिइरहेका छन् । कोषमा एक करोड पु¥याउन स्थानीय तहमा निर्णय भएअनुसार प्राप्त भए लक्ष्यमा पुगिनेछ ।
कोषमा बागलुङ नगरपालिकाले रु. पाँच लाख, तमानखोला गाउँपालिकाले रु.पाँच लाख र बरेङ गाउँपालिकाबाट रु. २ लाख गरी रु. १२ लाख रकम रकम निर्णय भइसकेको र जम्माद हुँन बाँकी रहेको कँडेलले बताउनुभयो ।
“धवलागिरि क्याम्पसमा विद्यार्थी संख्या घट्दो छ, पलायन विद्यार्थीलाई यही राख्न र निःशुल्क उच्च शिक्षा प्रदान गर्नका लागि कोषले ठूलो सहयोग गर्नेछ” कँडेलले भन्नुभयो “स्वतन्त्र विद्यार्थीले कोष निर्माण र संकलन गरेपनि कोष रकम एक करोड पु¥याएर क्याम्पसलाई दिइने छ भने प्रत्येक वर्ष एक सय विद्यार्थीको अध्ययन खर्च कोषको व्याज रकमबाटै दिइनेछ ।”
क्याम्पसमा अध्ययन गर्न आउने आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृति रकम मार्फत निःशुल्क अध्यापन गराउने उद्देश्य पुरा हुने चरणमा पुगेको हो ।
कोष निर्माणमा क्याम्पसका प्रध्यापकहरुले एक महिनाको तलब सहयोग गरेका थिए । क्याम्पस र समुदायबीचको सम्बन्ध र सहकार्य बढाउन, उच्च शिक्षा अध्ययन तर्फ विद्यार्थीको आकषर्ण बढाउन कोष निर्माण गरिएको हो ।
कोष स्थापना गरी जम्मा गरिएको रकमको व्याजबाट वार्षिक एक सय जना भन्दा बढीलाई छात्रवृति मार्फत अध्ययन गराइने छ ।
आर्थिक अभावकै कारण उच्च शिक्षाबाट बन्चित विद्यार्थीलाई कोषले सहायता प्रदान गर्ने धवलागिरि क्याम्पस प्रमुख सह–प्रध्यापक डा. सुर्दशन शिलवालले जानकारी दिनुभयो ।
बागलुङ नगरपालिका–३ किनारा टोल निवासी समाजसेवी भिमसेन कुमार श्रेष्ठ र श्रीमती पार्वती श्रेष्ठले विपन्न विद्यार्थीको अध्ययनमा सहयोग होस भनि धौलागिरि बहुमुखी क्याम्पसमा श्रेष्ठ परिवारले दुई लाख सहयोग गरेका थिए ।
कोषको व्याजको रकमबाट क्याम्पसमा अध्ययन गर्ने विपन्न विद्यार्थीको पठनपाठनमा सघाइने धौलागिरि बहुमुखी क्याम्पसका निर्वतमान क्याम्पस प्रमुख प्रा.डा. रामप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
“अहिले पनि हामीले विद्यार्थीहरुलाई केही छात्रवृति उपलब्ध गराएका छौँ तर त्यसले मात्र पुग्दैन” उहाँले भन्नुभयो “क्याम्पसमा स्थापना गरिने एक करोडको कोषले आर्थिक अभावकै कारण पढाई छोड्नु पर्ने बाध्यतालाई अन्त्य गर्दै क्यापसको शैक्षिक गतिविधिलाई चलायमान बनाउनेछ ।” क्यम्पसमा अहिले दुई हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।