डम्मर बुढा मगर, बागलुङ
पछिल्लो समय बागलुङको बरेङ गाउँपालिकाबाट बसाइँसराइ गर्नेको संख्या बढ्दै गएको छ । हरेक महिना गाउँ छोडेर बजार झर्ने बढ्दै गएपछि बस्ती सुनसान बन्न थालेका छन् भने खेतीयोग्य जमिनमा झाडी पलाएका छन् ।
बरेङ गाउँपालिकाका सूचना अधिकारी केशवराज क्षेत्रीका अनुसार पछिल्लो दुई वर्षमा ३४७ घर परिवारका एक हजार २८० जनाले गाउँ छोडेका छन् । गाउँमा शिक्षा, स्वास्थ्य, यातायात लगायतका विकास पुग्दै गरे पनि स्थानीयले बसाइँसराइ गर्न छोडेका छैनन् । चालु आर्थिक वर्षको सात महिनामै २१० जनाले गाउँ छोडेको क्षेत्रीले जानकारी दिनुभयो ।
साउन यता ५५ घर परिवारले बसाइँसराइ गरेर अन्य ठाउँमा गएका हुन् । यस वर्ष सबै भन्दा धेरै वडा नम्बर १ धुल्लुबास्कोटबाट १३ घर परिवारका ५८ जना र सबै भन्दा कम वडा नम्बर ५ सुखौराका छ घर परिवारका २० जनाले बसाइँसराइ लिएको क्षेत्रीको भनाइ छ । दुई वर्षको अवधिमा ४० घर परिवारका १३१ जना बसाइँसरेर बरेङमा आएका छन् ।
बरेङ गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले बसाइँसराइ रोक्नका लागि पालिकाले जनताका आधारभूत आवश्यकता पूरा गरि गुणस्तरीय सेवा प्रवाहमा लागेको बताउनुभयो । पालिकाका सबै वडा र बस्तीमा सडक पु¥याउनका साथै खानेपानी, विद्युत र स्वास्थ्य संस्था स्थापना गरेर सेवा दिए पनि बसाइँसराइ रोक्न नसकिएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।
एकीकृत बस्ती बसालेर नागरिकको जीवन स्तर उकास्ने कार्यक्रम संचालन गर्न थाले पनि सफल बन्न नसकेको उहाँले बताउनुभयो । युवालाई लघु उद्यम तथा घरेलु उद्योगमार्फत स्वरोजगार बनाउने गरि काम गरे पनि बसाइँसराइ नरोकिएको अध्यक्ष शर्मा बताउनुहुन्छ ।
“बसाइँसराइ रोक्नका लागि हामीहरुले धेरै प्रयास ग¥यौँ, बस्ती–बस्तीसम्म सडक, खानेपानी, शिक्षा र स्वास्थ्यको पहुँच पु¥याएका छौँ, युवालाई रोजगारसँग जोड्ने काम पनि भएको छ,” उहाँले भन्नुभयो – “एकीकृत बस्ती बसालौँ भनेको कसैले मानेनन्, तर गाउँ छोडेर गए, बगाले भन्ने ठाउँमा पहिले करिब २० घर थिए, अहिले त्यो टोलनै खाली छ, बसाइँसराइ रोक्नका लागि हामी लागि रहेका छौँ ।”
बरेङबाट धेरै जसो स्थानीय चितवन, रुपन्देही, नवलपरासी, पोखरा लगायतका ठाउँमा बसाइँसराइ गरेर जाने गरेको अध्यक्ष शर्माको भनाइ छ ।