आदर्श सञ्चार, म्याग्दी
दुई दशक अगाडिसम्म ग्रामीण भेगमा खर तथा ढुङ्गाले घर छाउने सिप भएका व्यक्तिहरु प्रसस्तै पाइन्थ्यो । अहिले भने पुरानो पुस्ता घरको धुरीमा चडेर छाउन नसक्ने र बिचको पुस्ता विदेशीएको तथा नयाँ पुस्तामा सिप नै नहुँदा बैकल्पिक माध्यमको खोजी गर्नै पर्ने अवस्था सृजना हुन थालेका छन् । युवाहरु बैदेशिक रोजगारीमा गएका कारण पनि विदेशबाट आउने विप्रेषण(रेमिट्यान्स)बाट प्राप्त आम्दानीले सीप हस्तान्तरणलाई विस्थापित गर्दै गएको छ । ग्रामीण क्षेत्र सम्म पुगेका यातायातको पहुँचले कंक्रिटका पक्की संरचनाहरु निर्माणले गर्दा पनि परम्परागत ढुङ्गे घरहरु कम हुँदै जानुका साथै खरका घरहरु भने लोप नै हुने अवस्थामा पुग्न थालेका छन् ।
हिमाली जिल्ला म्याग्दीका ग्रामीण क्षेत्रमा दुई दशक अगाडिसम्म ढुङ्गा र खरले छाएका तथा रातोमाटो एवम् कमेरोले पोतिएका घरहरू देखिन्थे । दुई दशक अगाडी सम्म फर्केर हेर्ने हो भने पर्यटकीय रुपमा महत्वपूर्ण जिल्ला म्याग्दीमा विदेशी पर्यटक हुन् वा सहरीया तथा बजारबाट गाउँमा पुग्दा ती घरहरूले मनै लोभ्याउने गर्थे ।
म्याग्दी जिल्ला भित्रकै अग्रज नागरिकहरुको आफ्नै सीप र श्रोतको प्रयोग गरी परम्परागत रूपमा निर्माण गरिएका ती घरहरूले आकर्षित नगर्ने साहेदै थिए होला । गाउँमा यातायातको पहुँच पुगिसकेको थिएन र त्यो समय गाउँका ति घर आकर्षक थिए जव सडक विस्तार भएर गाउँमा यातायातका साधनहरु पुग्न थाले तव बजारीया सिमेन्ट, रड र कंक्रिटको प्रयोग गरी पक्की घर निर्माणको क्रम बढेको स्थानीय मंगला गाउँपालिका–३ कि टिकादेवी सापकोटाको भनाई छ । आधुनिक विकासले पुराना परम्परागत घरहरू विस्थापित भएको उहाँको बुझाई छ ।
परम्परागत खरका घर र ढुंगे घरहरू गाउँबाट विस्तारै हराउँदै गएका छन । अहिले गाउँमा धमाधम सिमेन्ट र कंक्रिटका घरहरू ठड्याउन सक्नेले पक्की पिल्लरवाला घर बनाएका छन् भने न्यून वर्गका नागरिकले खर र ढुंगाको छानो हटाएर जस्ताले छाउन थालेका छन् । यसले पुराना मौलिक घरहरू विस्तारै विस्थापित हुने अवस्थामा पु¥याएको छ ।
म्याग्दीको मालिका गाउँपालिका ६ दिच्याम, उपल्लो दुखु, बेनी नगरपालिका ४ बास्कुना, थामडाँडा, रघुगंगा गाउँपालिका–६ पाखापानी लगायतका विभिन्न बस्तीमा दशक अगाडी सम्म ढुंगा र केही खरले छाइएका घरहरु अहिले सिमेन्टेड पक्कीमा रुपान्तरण हुँदै गएका छन् । कमेरो र रातोमाटोले पोतिएका हुने ति घरहरू विभिन्न रंगका जस्तापाताहरूले छाएर रंगीचंगी देखिन थालेका छन् ।
गाउँमा सडक आएपछि गाउँलेहरूले सहर बजारियाले जस्तो सिकेर परम्परागत घरहरूलाई भत्काएर नयँ स्वरूपमा बनाउन थालेको मालिका गाउँपालिका–६, दिच्यामका टेकबहादुर पुनले बताउनुभयो । पुनले भन्नुभयो ‘डेढ दशक अगाडीसम्म गाउँमा धेरै जसो घरहरू ढुंगा र खरले छाएका थिए, गाडीहरू आउने बाटो पनि थिएन, अहिले ती सबै घरहरु लोप भैसके ।’
बेनी नगरपालिका ४ सिंगा, डाँडाखेत, बास्कुना, थामडाँडामा पनि एक दशक अगाडिसम्म ढुंगेहरू थिए । तर अहिले ढुंगाका घरहरूले भएका ठाउँहरूमा ठूलाठूला कंक्रिटका घरहरू ठडिएका छन् । सडक सिंगामा नपुग्दा धेरैको घर ढुंगालेनै छाएको भए पनि अहिले धेरैजसोले पक्की भवनहरू बनाउन थालेको स्थानीय गोविन्द पौडेलको भनाई छ ।
बास्कुनाका लालबहादुर केसीले हालै पुरानो कच्ची घर भत्काएर नयाँ तबरले सिमेन्टको प्रयोग गरेर घर बनाउन थालेको बताउनुभयो । उहाँले गाउँमा सडक आएपछि धेरै मानिसहरूले बजारबाट सहज रूपमा घर निर्माण गर्ने सामानहरू ल्याउन सक्ने भएपछि पक्की भवनहरू बनाउन थालेको बताउनुभयो । सिंगाका धेरैजसो विदेश भएको हुँदा उनीहरूले गाउँमा परम्परागत घर र ढुंगाको घर विस्थापित गरी पक्की घरहरू बनाउन थालेको बताउनुहुन्छ ।
विदेशमा कमाएको पैसा म्याग्दीमा धेरैजसो अनुत्पादक क्षेत्रमा नै खर्च हुने गरेको वैंक तथा वित्तिय संस्थाहरुको तथ्यांकले देखाउने गरेको छ । घर, घडेरी र बजार झरेर बस्नेमै धेरैजसो पैसा खर्च हुनेगरेको पाइएको छ । यहाँका मान्छेहरू सबै विदेशमा छन्, विदेशमा कमाउने यहाँ ठूला–ठूला घर बनाउने गरेका छन्, पहिलेको तुलनामा अहिले गाउँ निकै फरक भएको बेनी नगरपालिका–३ का वडा अध्यक्ष पदम पुनको भनाई छ । सडक सञ्जालले जोडिएपछि पुराना घरहरू विस्थापित भएको उहाँको भनाई छ । परम्परागत घरहरू भूकम्पीय दृष्टिकोणले केही जोखिम हुने भएका हुँदा पनि आधुनिक घर निर्माण तर्फ सर्वसाधारणहरु लागेका छन् ।