शिवालयको दुई सय रोपनी गुठी गायब

आदर्श सञ्चार, म्याग्दी
बेनी स्थित शिवालयको दुई सय रोपनीभन्दा धेरै गुठी गायब भएको छ । बेनी नगरपालिका–७ मा रहेको बलमुक्तेश्वर शिवालय मन्दिरका विभिन्न स्थानमा रहेका गुठीको जग्गा व्यक्ति तथा संघ संस्थाले हडप्दा अहिले मन्दिरमा नियमित पूजासमेत नहुने अवस्था आएको छ ।

मन्दिरमा राखिएको घण्टीमा कुँदिएको मिति अनुसार उक्त घण्टीमा वि.सं. १९०७ बैशाख ३ गते उल्लेख गरिएको छ । मन्दिर पुरै ढुंगाले निर्माण गरिएको छ भने ढोका तथा पर्खालमा पनि आकर्षक आकृतिहरु कुँदिएका छन् । मन्दिर एतिहासिक भए पनि व्यवस्थित गर्न नसकिएको शिवालय वलमुक्तेश्वर व्यवस्थापन समितिका अध्यक्ष पहलबहादुर खत्रीले बताउनुभयो ।

अध्यक्ष खत्रीद्वारा हस्ताक्षर गरी बेनी नगरपालिकामा बुझाएको पत्रानुसार मन्दिरको नाममा रहेको झण्डै दुई सय रोपनी जमिन भएको देखिन्छ । खत्रीले शिवरात्रीका दिन पुजा व्यवस्थापनका लागि आर्थिक सहायता माग गर्दै बेनी नगरपालिकालाई पत्राचार गर्नुभएको छ ।

पत्रमा बेनी नगरपालिका–७ मा दुई रोपनी ६ आना, बेनी नगरपालिका–८ फुलबारीमा ४५ रोपनी २ आना, बेनी नगरपालिका–९ तीनमानेमा ५ रोपनी र जलजला गाउँपालिका पर्वतमा १६५ रोपनी गुठी रहेको उल्लेख छ । यतिका धेरै गुठी भए पनि हालको अवस्थामा शिवालयको १ रोपनी ५ आना मात्रै जमिन रहेको अध्यक्ष खत्रीले बताउनुभयो ।

बेनी बजारमा रहेको उक्त मन्दिर रहेकै स्थानमा भएको जग्गासमेत १ रोपनी १ आना स्थानीयले हडपेको उहाँको आरोप छ । वरपर घर बनाउनेहरुले मन्दिरको जमिन च्याप्दै जाँदा अहिले मन्दिर भएको स्थानमा भएको कुल २ रोपनी ६ आना रहेको स्थानमा १ रोपनी ५ आना मात्रै बाँकी छ र त्यही नै हो शिवालयको नाममा रहेको जग्गाधनी पुर्जा पनि ।

बेनी नगरपालिका–८ फुलबारीमा रहेको म्याग्दी बहुमुखी क्याम्पसले वि.सं. २०५९ माघ ७ गते सम्म पटक पटक गरी गुठीको जग्गा आफ्नो नाममा बनाएको अध्यक्ष खत्रीको भनाइ छ । उहाँको भनाइलाई पुष्टि गर्ने वि.सं. २०७२ माघ २८ गते चलानि नम्बर २८९ को म्याग्दी क्याम्पसको पत्रले गर्छ । उक्त पत्रमा २०५९ माघ ७ सम्म पटक पटक गरी ४५ रोपनी जग्गा म्याग्दी क्याम्पसले लिएको उल्लेख गर्दै गुठी संस्थानलाई पत्राचार गरेको देखिन्छ ।

क्याम्पसले पठाएको पत्रमा ४५ रोपनी २ आना १ पैसा गुठी आफूहरुले गुठी संस्थानलाई प्रति रोपनी १० हजार रुपैयाँका दरले बुझाएर नामसारी गरेको उल्लेख छ । उक्त पत्रमा मन्दिरको पुजारी खर्च क्याम्पसले व्यहोर्ने भनिए पनि मन्दिरले त्यस्तो सहयोग प्राप्त नगरेको अध्यक्ष खत्री बताउनुहुन्छ ।

म्याग्दी बहुमुखी क्याम्पसका प्रमुख श्रीधर सुवेदीले भने शिवालय गुठीको जग्गा प्रयोग गरेको भएर लक्ष्मीनारायण मन्दिरलाई वार्षिक रुपमा १२ हजार रुपैयाँ प्रदान गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यहाँ लक्ष्मीनारायण मन्दिर रहेको र त्यसैले व्यवस्थापन गर्ने होला भनेर हामीले मासिक एक हजार रुपैयाँका दरले वार्षिक १२ हजार उपलब्ध गराउँदै आएका छौं ।’

वि.सं. १९०० भन्दा अगाडिदेखि नै मन्दिर स्थापना भएको र वि.सं. १९०७ मा मन्दिरमा घण्टी प्रदान गरेको तथ्यले देखाउँछ । उक्त मन्दिर धिर समशेरले निर्माण गरेर निजी गुठीसमेत सृजना गरिदिनु भएको र पछि मन्दिरको व्यवस्थापन तथा जिर्णोद्वार खड्गबहादुर कुँवर राणाले गरेको व्यवस्थापन समिति अध्यक्ष खत्रीको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *