खेमराज गौतम, बागलुङ
बागलुङ जिल्लाकै उत्कृष्ट किसानका रुपमा चिनिएको तित्याङका पदम खत्रीले एउटै सिजनमा छ लाखको काउली बजार पठाउन सफल हुनुभएको छ ।
२०६६ सालदेखि निरन्तर तरकारी उत्पादनमा लाग्नुभएका किसान अहिले बागलुङका सफल किसानमा चिनिदै आउनुभएको छ । केही समयको जागिरे र मजदुरी यात्रालाई खत्रीले उद्यमी यात्रामा बदल्न सफल हुनुभएको थियो ।
उहाँले निजी, भाडा र बाँझो जग्गा गरी १८ रोपनी खेतबारीमा प्लाष्ट्रिक टनेल र टनेल बाहिर सिजन अनुसारका तरकारी उत्पादन गर्दै आउनुभएको छ ।
बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्री आफ्नो खत्री एग्रो फर्ममा मौसमी र बेमौसमी टमाटर, काउली, बन्दा, साग, सिमी र घिरिम्ला लगायतका तरकारी फलाउदै आउनुभएको छ ।
उहाँको दैनिकी बिहान सबेरै उठेर साँझ अबेरसम्म कृषि कर्ममा नै बित्ने गरेको पाइन्छ । उहाँले गत वर्ष एउटै काउली नौ किलो र यस वर्ष १२ किलोको फलाउन सफल हुनुभएको थियो । उहाँले कृषि ज्ञान केन्द्रबाट पटक–पटक उत्कृष्ट किसानको रुपमा सम्मानित समेत हुँदै आउनुभएको छ ।
“निरन्तर मेहनत गरे सफलता पाइदो रहेछ, अहिलेको सिजनमा मात्रै छ लाखको काउली बजार पढाए, वर्षमा पाँच–छ लाखको त टमाटरनै बिक्री हुन्छ” खत्रीले भन्नुभयो “८ वटा प्लाष्टिक टनेल र खन्य खुल्ला रुपमा तरकारी उत्पादन हुँदै आएको छ, यस वर्ष काउलीको मुल्य राम्रो भएकाले धेरै नाफा भयो ।”
समय अनुसार कहिले फलेका तरकारी बिक्रि गर्ने, कहिले तरकारी खेतिमा पलाएका झार गोड्ने त कहिले बजारसम्मनै पुग्ने उहाँको दिनचर्या रहेको सुनाउनुभयो ।
विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती थालेका खत्री यतिबेला यस क्षेत्रकै सफल किसानका रुपमा परिचित छन् । सफल कृषकको परिचय पाउनुमा मेहनतको फल भएको खत्रीको भनाई छ ।
स्वदेशमा नै केही गर्न सकिन्छ भन्ने सोँचका साथ कृषि कर्ममा तल्लीन खत्रीले वार्षिक १२ देखि १४ लाख आम्दानी गर्दै आउनुभएको छ । “अहिले काउली र ब्रोकाउली मात्रै १० क्विन्टल बिक्री गरेको थिए, छ लाख आम्दानी त एक सिजको काउलीबाटै भयो, अहिले काउलीको बजार मुल्य एक सय सम्म परेकाले राम्रो आम्दानी भयो” उहाँले भन्नुभयो काउलीबाट मात्रै तिन महिनामा करिब ६ लाख कमाएँ, टमाटरबाटपनि ५÷७ लाख वार्षिक आम्दानी हुन्छ, अन्य तरकारी सिमी, बोडी, धनिया लगायतबाट पनि राम्रो आम्दानी हुन्छ, गर्न सके नेपालमै रहेछ भन्ने लाग्छ थालेको छ ।”
तरकारीखेती फस्टाउँदै गएपछि भाडामा आठ रोपनी जग्गा समेत लिएर १८ रोपनी जग्गा पु¥याउनुभएको छ । उहाँको फर्ममा स्क सय सुन्तलाका बोट समेत हुर्किरहेका छन् ।