डम्मर बुढा मगर, बागलुङ
ढोरपाटन उपत्यका नजिकै पर्छ रुद्राताल । बुर्तिबाङ–ढोरपाटन सडक छेउमै पर्ने रुद्रतालमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । धार्मिक महत्वसँग जोडिएको रुद्रताल पर्यटकको रोजाइमा पर्न थालेपछि ढोरपाटन नगरपालिकाले संरक्षण र प्रवद्र्धन गर्न थालेको हो ।
चालु आर्थिक वर्षमा नगरपालिकाले रु २५ लाख विजियोजन गरेर ताल संरक्षण गर्न लागेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले जानकारी दिनुभयो । घना जंगलको बीचमा रहेको रुरद्रता प्राकृतिक रुपमै सुन्दर छ ।
त्यसलाई थप व्यवस्थित गर्न थालिएको उहाँको भनाइ छ । उक्त बजेटले यस वर्ष सडकदेखि तालसम्म रेलिसहितको पदमार्ग, खानेपानी र घेराबार गरिने कायतले बताउनुभयो । यसभन्दा अगाडि पनि ताल संरक्षणको काम गरे पनि अझै व्यवस्थित हुन नसेको उहाँको भनाइ छ । पर्यटकका लागि स्वच्छ खानेपानी र विश्राम स्थाल नभएको भन्दै यस पटक निर्माण गरिने कायत बताउनुहुन्छ ।
उपप्रमुख कायतले भन्नुभयो – “यो ताल धार्मिक आस्थासँग जोडिएको छ, पहिले सडक सडकले नजोडिँदा झोलमा थियो, अहिले ताल नजिकैबाट ढोरपाटन उपत्यका पुग्ने सडक जोडिएको हुँदा सिकार आरक्ष क्षेत्रमा पुग्ने हरेक पर्यटकले तालको अवलोकन गरेकै हुन्छन्, यसको संरक्षण गर्नका लागि हामीहरुले प्रयास गरेका छौँ, यस वर्ष केही काम हुन्छ, बाँकी आगामी दिनमा गर्ने छौँ ।”
तालमा वन्यजन्तुले पानी पिउन आउँने हुँदा पर्यटकले नजिकैबाट तिनीहरुलाई देख्न सक्छ । पछिल्लो समय रुद्रतालमा पुग्न पर्यटकले तालसँगै मृग, घोरल लगायतका वन्यजन्तु नजिकैबाट अवलोकन गर्ने गरेका छन् । भुजीखोलाको शिरमा पर्ने यो तालबाट बग्ने पानीले स्नान गर्दा छाला सम्बन्धि रोग लाग्दैन भन्ने जनविश्वास रहि आएको छ ।
नेपालकै एक मात्र शिकार आरक्ष ढोरपाटन जाने ताल जोडिएपछि पछिल्लो समय धेरैको आकर्षण बढेको ढोरपाटन नगरपालिका–९ का वीरबहादुर घर्ती मगरले बताउनुभयो । एक दशक अगाडिसम्म सुनसान रहेको तालमा अहिले ढोरपाटन पुग्ने सबै पर्यटक तालमा पुग्ने गरेको उहाँको भनाइ छ । ताल वरपर बगैचा, प्रतिक्षालय, शौचालय र खानेपानीको व्यवस्थापन गर्न जरुरी रहेको घर्ती मगरले बताउनुभयो ।
“रुद्रताल यस क्षेत्रकै चर्चित ताल हो, जंगलको बीचमा यति सुन्दर ताल छ, यसको अझै प्रचारप्रसार र प्रवद्र्धन गर्न जरुरी छ,” घर्ती मगरले भन्नुभयो – “तालमा पानी सुक्न थालेको छ, के कारणले पानी सुक्न थाल्यो बुझ्न सकिएको छैन, ताल सुक्यो भने त अस्तित्वनै समाप्त हुन्छ, सरोकारवाला निकायले यस तर्फ ध्यान दिन पर्छ ।”