पातिहाल्नेमा हिमपात : मध्यपहाडी लोकमार्ग अवरुद्ध

आदर्श सञ्चार, बागलुङ
शुक्रबार विहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । सडकमा बाक्लो गरि जमेको हिउँका कारण लोकमार्ग अन्तरगत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो ।

निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पा लगायतका स्थानबाट चल्ने सवारी साधान ठप्प भएको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

अहिले पनि निरन्तर हिमपात भइरहेको उहाँको भनाइ छ । हिमपात भएपछि तल्लो क्षेत्रबाट हिउँ खेल्न जाने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको अध्यक्ष घर्ती मगरले बताउनुभयो । हिमपात रोकिएपछि मात्रै सडक खुलाउन सकिने उहाँ बताउनुहुन्छ ।

“विहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेको हुँदा तत्कालै सडक खुलाउन सकिने अवस्था छैन, हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउनु पर्छ, विहान काठमाडौँदेखि आएका रात्री बस चले पनि अहिले लामो तथा छोटो दूरीको सवारी साधान चलेका छैनन्” अध्यक्ष घर्ती मगरले भन्नुभयो ।

बागलुङ, रोल्पा र पूर्वी रुकुमको सिमाना पातीहाल्नेमा बढी हिमपात भएको हुँदा सडक अवरुद्ध भएको हो । हिमपातसँगै रुखका ढल्ने हुँदा यस बेला यात्रा निकै जोखिमपूर्ण हुने गर्छ ।

त्यस्तै नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । विहानै देखि परेको हिमपातका कारण स्थानीयको जनजीवन कष्टकर बनेको छ । किसानले बारीको काम र वस्तुभाउलाई घाँस पानी गर्नसमेत गाह्रो भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *