प्रकाशकीय
जागरण, चेतना, विवेक बिनाको समाज कस्तो हुन्छ ? मानिसहरुको स्वतन्त्रता, चेतना, विवेक बन्धक बनाउँदा त्यसले समाज र देशलाई कति वर्ष, दशक र शताब्दी पछि पार्छ ? यी विषयको खोज, सोध, यथोचित उपयोगले समाजलाई कसरी सुसंस्कृत, समृद्ध, सभ्य र शालीन बनाउँछ ? निश्चय पनि यी र यस्ता विषय सवालमा आजको समय र समाजमा अझ बढी बहस बिमर्श हुन जरुरी छ । आज भन्दा करिब दुई दशक अघिको समाजमा त जागरण, चेतना, आमसञ्चार मिडिया मार्फत खबर र खबरदारी गर्ने कुरा अपरिहार्य थियो तर, निकै चुनौतीपूर्ण अवस्था र व्यवस्था बिद्यमान थियो । उक्त चुनौतीलाई अवसरमा बदल्ने उद्घोष सहित धौलागिरी जागरण दैनिक प्रकाशन आरम्भ ग¥यौ । त्यो पनि सीमित व्यक्ति विशेष मार्फत प्रकाशन सञ्चालनको अभ्यास भइरहेको बेला सञ्चार सहकारीको साझा अवधारणामा । साविक धौलागिरी अञ्चल (बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ)लाई हामीले केन्द्रमा राख्यौ । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड स्थापना गरेर धौलागिरी जागरण दैनिक मार्फत अनवरत अविचलित नागरिकलाई सही समयमा सही सूचना र समाचार सम्प्रेषण गरिरह्यौ । समाजका खराब अभ्यास, बेथिति, भ्रष्टाचार, अनियमितताहरुमा निरन्तर प्रश्न र खबरदारी गर्दै आयौ ।
२०६३ फागुन २० गते धौलागिरी जागरण अर्धसाप्ताहिकको नमुना अंक प्रकाशित गरी २३ गते विधिवत रुपमा पहिलो अंक प्रकाशन भयो । जुन पत्रिका २०६५ जेठ १ गते यता निरन्तर दैनिक पत्रिकाका रुपमा प्रकाशित छ । १८ वर्ष लामो यात्रा पार गर्न सजिलो थिएन र भएन पनि । समयक्रमसँगै व्यवस्था र व्यवस्थापकीय पक्षमा अनगिन्ती समस्या र चुनौती हाम्रा सामु पहाड बनेर उभिए । माघ १९ को ‘कालो दिन’देखि जनआन्दोलन लगायतमा अनेकन यो यात्रामा विभिन्न उतार चढाव छिचोल्दै सामुन्ने आएका चुनौतीलाई अवसर र सफलतामा अनुवाद गर्दै आयौ । अहिले सोही पत्रिका प्रकाशनको १९ औं वर्षमा प्रवेश गरेको छ । यो खुशीको, उत्साह, उत्सव र हाम्रा लागि निकै गर्विलो क्षण हो । यस यात्रामा न त हामी कोही सँग झुक्यौ, न त आफ्नो पेशागत जिम्मेवारीबाट चुक्यौ । १८ वर्ष पार गर्दै गर्दा थप जवान र जिम्मेवारी महुुशुस गरेका छौ । हामी समयसापेक्ष, दृढ, परिपक्व र गतिशील बनेर राज्यको चौथो अंगको असली र इमान्दार भूमिका निर्वाह गर्नमा सदैव प्रयासरत थियौ र भोलिका दिनमा अझ बढी गतिशील, जवाफदेही र जिम्मेवार रुपमा प्रस्तुत हुनेछौ । खोज खबर सम्प्रेषण हाम्रो मुख्य उद्देश्य हो । सुशासन र समृद्धि हाम्रो मिसन हो । राज्यका हरेक निकाय र व्यक्तिले निम्त्याउने बेथितिमा प्रश्न र खबरदारी हाम्रो जिम्मेवारी हो । सामाजिक जागरण हाम्रो दायित्व हो । हामीलाई विश्वास छ कि समयको गति अनुसार नागरिकमा यथेष्ट जागरण पैदा गर्न सकेमा मात्र देश पनि गतिशील, सुसंस्कृत र समृद्ध बन्छ । समाज र देशको परिवर्तन, विकास, समृद्धि, सुशासनका खातिर पत्रकारिता मार्फत समाजलाई जागरुक बनाउन यो १८ वर्षको यात्रामा धौलागिरी जागरण दैनिकमा बिभिन्न कालखण्डमा जोडिएर इट्टा थप्ने पूर्व जागरणकर्मीदेखि कार्यालय, संघ संस्था र व्यक्तित्वहरु छन्, जस प्रति हाम्रो सदा सम्झना र सम्मान रहिरहेको छ, रहिरहनेछ ।
यो पनि भन्नै पर्छ कि आजको युग डिजिटल युग हो । यसले दैनिक पत्रिका लगायतका छापा मिडियाको भविष्य संकटमा परिरहेको पनि छ । तर, हामीलाई के बिश्वास छ भने आजको दिन र समयमा पनि डिजिटल मिडिया, माध्यम सँगसँगै छापा माध्यमलाई पनि समाचार विषयवस्तु पस्कने परम्परागत शैलीमा परिमार्जन गर्दै अघि बढ्ने हो भने त्यसको नेपाली समाजमा छुट्टै अर्थ र आवश्यकताबोध हुनेछ । एआइहरुको आगमन बढ्दै गइरहेका बेला पत्रिकाको भोलिको भविष्य के होला ? त्यो अहिले नै भन्न हतारो हुनसक्छ । हामी अहिले सम्मको १८ वर्षको प्रकाशन अनुभवका आधारमा यति चाहीँ भन्न सक्छौ कि नेपाली समाजलाई हतारको समाचार, मिडिया र माध्यम होइन, गहन, खोजमूलक समाचार सामग्री पस्केर समाज र देशलाई सही दिशा निर्देश गर्न भूमिका खेल्ने आमसञ्चार पत्रपत्रिका चाहिएको छ । त्यसको धौलागिरी क्षेत्रमा अभाव र आवश्यकता परिपुर्ति गर्न धौलागिरी जागरण दैनिक आफ्ना अरु दुई प्रकाशन अग्रसर साप्ताहिक र आदर्श सञ्चार अनलाइन सहित प्रयत्नशील रहने प्रतिवद्धता गर्दछ । यसका लागि आदर्श सञ्चारले जागरणको १८ औं वार्षिकोत्सवकै सन्दर्भ पारेर धौलागिरीका सबै पालिकामासमृद्धिका लागि पर्यटन, पर्यटन प्रवद्र्धनका लागि सञ्चार अभियान सञ्चालन गर्ने अठोट पनि गरेका छौ ।
र अन्त्यमा, धौलागिरी जागरण दैनिकको सुरुवातको कठिन समयदेखि हाल सम्म (१८ वर्ष) को यो लामो यात्रामा बिभिन्न कोणबाट साथ, सहयोग गर्ने सबै प्रति हामी अनुग्रहित छौ । हाल आदर्श सञ्चार र दैनिक पत्रिकामा कार्यरत सम्पूर्ण पत्रकार, कर्मचारी, सञ्चालक, विज्ञापनदाता, शुभेच्छुक सबै प्रति कृतज्ञ छौ । धौलागिरी जागरणको गर्विलो विगतको जगमा आगामी दिनमा समेत समाज र समृद्धिका लागि सवल र सक्षम सञ्चार गृहका रुपमा आदर्श सञ्चार÷धौलागिरी जागरण दैनिकलाई स्थापित गराउने छौ । यसमा यहाँहरु सबैको सदा झै साथ, सहयोग मिल्ने पूर्ण विश्वास छ । धन्यवाद ।
रामबहादुर जिसी
सम्पादक