सिस्नो र गुन्द्रुक प्याकेजिङ र ब्राण्डिङ गर्दै दमेकका महिला

डम्मर बुढामगर, बागलुङ
बागलुङको जैमिनी नगरपालिका–३ दमेकका महिला डेढ वर्ष अगाडिसम्म घरकै काम धन्दामा सीमित थिए । घाँस, दाउरा र खेतीपाती गरेर जीविका चलाउँदै आएका महिलाहरु अहिले उद्यमी बनेका छन् । बारीको काल्नामा खेर गइरहेको सिस्नो र बाँकोलाई आम्दानीको स्रोत बनाए उनीहरु अहिले आर्थिक रुपमा समेत सवल बन्दै गएका छन् ।

जैमिनी नगरपालिकाले साढे एक वर्ष अगाडि दिएको तालिमले अहिले यहाँका साढे पाँच सय जना महिला प्रत्यक्ष उद्यमसँग जोडिएका हुन् । रुद्रताल सामाजिक महिला सहकारी संस्थामा आवद्ध भएका महिलाहरुले गाउँमै सिस्नो पाउडर, बाँको गुन्द्रुक, आलु चिप्स बनाएर विक्री गर्नुका साथै बारीमा सिमी उत्पादन गरेर बजारीकरण गर्दै आएका छन् । सहकारीमा आवद्ध भएका ५५० जना महिलाहरु मध्ये धेरै जसोले सिस्नो पाउडर, बाँकोको गुन्द्रुकलाई ‘प्याकेजिङ’ र ब्राण्डिङ गर्दै आएका छन् ।

स्थानीय स्रोत साधन प्रयोग गरेर महिलालाई उद्यमसँग जोड्नका लागि तालिम दिएर र दक्ष बनाएपछि अहिले व्यवसायिक बन्न थालेको रुद्रताल सामाजिक महिला सहकारी संस्थाकी कोषाध्यक्ष तारा पुनले बताउनुभयो । तालिम लिनु पूर्व वन जंगल र बारीमा भएका बाँको, सिस्नो खेर गएकोमा अहिले प्रशोधन गरेर पैसासँग साट्ने गरेको उहाँको भनाइ छ । तालिमले यहाँका महिलालाईलाई व्यवसायिक बनाएको भन्दै अझै व्यवस्थित बनाउनका लागि आफूहरु लागेको पुनले बताउनुभयो ।

उहाँले भन्नुभयो – “बाँको त हाम्रो जंगलमा जति पनि पाइन्छ, सिस्नोले बारीनै ढाक्छ, पहिले यतिके खेर गएका ति वस्तुहरु अहिले प्याकेजिङ र ब्राण्डिङ गरेपछि हजारौँ रुपैयाँमा विक्री हुन्छ, सिस्नोका पाउडर बनाउन दुई सातासम्म लाग्छ, गुन्द्रुक १० दिनमै तयार गर्न सकिन्छ, व्यवसायलाई अझै व्यवस्थित गर्नु पर्ने छ ।”

आफूहरुले उत्पादन गरेको सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, सिमी लगायतका स्थानीय उत्पादन जापान, हङकङसम्म पुग्ने गरेको उहाँको भनाइ छ । माग अनुसारनै बजारमा उत्पादन पठाउन सकेको पुनले बताउनुभयो । गत वर्ष चार लाख जति सिस्नो पाउडर, दुई लाखको गुन्द्रुक, र दुई लाखको सिमी विक्री गरेको सुनाउँदै घर परिवार चलाउन सहज बन्दै गएको कोषाध्यक्ष पुन बताउनुहुन्छ ।

जैमिनी नगरपालिका–३ का अध्यक्ष कृष्ण भुजेलले महिलालाई उद्यमी बनाउनका लागि आफूहरुले तालिम दिएपछि स्थानीय उत्पादनको प्रशोधन, प्याकेजिङ, ब्राण्डिङ गरि बजारीकरण हुन थालेको बताउनुभयो । नगरपालिकाले तालिमसहित कालु काट्ने, प्याकेजिङ, लेबलिङ र प्याकेजिङ गर्ने मेशिन उपलब्ध गराएपछि महिलाहरु सक्रिय बन्दै गएको उहाँको भनाई छ ।

महिलाहरुले सुरुमा करिब २० लाख लगाउनी प्याकेजिङसहितको मेसिन लिएर उद्योग संचालन गरेका थिए । पछिल्लो समय देश विदेशबाट उनीहरुको उत्पादनको माग बढ्दै गएपछि महिला उद्यमीहरु उत्साहित बन्दै गएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *