भूमि आयोग बागलुङको सदस्यमा गौतम र थापा

आदर्श सञ्चार, बागलुङ
भूमि समस्या समाधान आयोग बागलुङको विज्ञ सदस्यमा उमेश गौतम र सदस्यमा केशर बहादुर थापा नियुक्त हुनु भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले बुधवार गलकोट नगरपालिका–८ का गौतमलाई भूमि समस्य समाधान आयोग बागलुङको विज्ञ सदस्य र काठेखोला गाउँपालिका–४ का थापालाई सदस्यमा मनोनित गरेको हो ।

नेपाली कांग्रेस र नेकपा एमाले गठबन्धन सरकारले भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेसंगै दुइ दलीय भागबण्डामा भूमि आयोगमा पदाधिकारी सदस्य नियुक्त गरिएको छ । नेपाली कांग्रेस बागलुङका पूर्व कोषाध्यक्ष गौतम तथा नेपाली कांग्रेसका तर्फबाट काठेखोला गाउँपालिका वडा नं. ४ का पूर्व वडा अध्यक्ष थापालाई नेपाली कांग्रेसको कोटाबाट विज्ञ सदस्य र सदस्य नियुक्त गरिएको हो ।

भूमि समस्या समाधान आयोग बागलुङको अध्यक्षमा बडिगाड गाउँपालिकाका भीम प्रसाद शेरचन (सुनिल) र महिला सदस्यमा बानपा–१ का लक्ष्मी बोहोरालाई यस भन्दा पहिला नै नियुक्त गरिएको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि भूमि समस्या समाधान आयोग गठन गरिएको भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयले जनाएको छ ।

आयोगको काम, कारवाहीलाई सहयोग,समन्वय र सहजीकरण गर्न आवश्यता र औचित्यका आधारमा जिल्ला स्तरमा ७ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गर्न सकिने व्यवस्था गरिएको छ । समितिको अध्यक्ष, एक जना विज्ञ सहित ३ जना सदस्य मन्त्रालयले नियुक्त गर्ने व्यवस्था छ । आयोगको जिल्ला सदस्यहरुमा जिल्ला समन्वय अधिकारी, डिभिजन बन कार्यालयको प्रमुख, जिल्ला प्रशासन कार्यालय को अधिकृत सदस्य तथा मालपोत कार्यालयका प्रमुख सदस्य सचिव रहने व्यवस्था रहेको छ ।

मन्त्रालयले नियुक्त गर्ने अध्यक्ष सहित ४ जनामा सत्ता गठबन्धन दलहरुको सहमतिमा बागलुङमा अध्यक्ष र महिला सदस्य एमालेका तर्फबाट तथा विज्ञ सदस्य र एक जना सदस्य नेपाली कांग्रेसको तर्फबाट नियुक्त भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *