आदर्श सञ्चार, बागलुङ
जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षको दोस्रो चौमासिकम्म ५१ लाख रुपैयाँ आन्तरिक आय गरेको छ । बुधबार नगरपालिकाको वडा नम्बर ३ उपल्लो दमेकका गरिएको आर्थिक वर्ष २०८१/०८२ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रममा पालिकाको प्रगती प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर भुजेलले हालसम्म ५१ लाख दुई हजार एक सय २५ रुपैयाँ आन्तरिक आय संकलन गरेको उल्लेख गरे ।
चालु आर्थिक वर्षका लागि नगरपालिकाले एक करोड ३६ लाख आन्तरिक आम्दानी गर्ने लक्ष्य राखेको र तेस्रो तथा अन्तिम चौमासिकमा आम्दानी बढ्ने विश्वास व्यक्त गरे । दोस्रो चौमासिकसम्म पुँजीगततर्फ २०.२८ प्रतिशत वित्तीय प्रगती भएको उनले जानकारी गराए । जैमिनी नगरपालिकाकाले ७३ करोड ४५ लाख ५३ हजार दुई सय २४ रुपैयाँ ७१ पैसा कुल अनुमाति बजेट प्रस्तुत गरेको हालसम्म ४७ करोड ८ लाख एक सय ३५ रुपैयाँ यथार्थ आम्दानी प्राप्त भएको छ । यो अनुमानित आम्दानीको ६४.९ प्रतिशत हो ।
पुँजीगततर्फ विनीयोजित बजेटमा २२ करोड ८५ लाख ८४ हजार दुई सय ११ रुपैयाँ खर्च भएको छ । नगरपालिकाले चालुतर्फ भने कुल ४६.५५ प्रतिशत वित्तीय प्रगती हाँसिल गरेको छ । चालुतर्फ कुल ५० करोड ५९ लाख ६९ हजार १२ रुपैयाँ विनीयोजन गरिएकोमध्ये २३ करोड ५५ लाख १२ हजार ७ सय ७६ रुपैयाँ खर्च भएको छ । तुलनात्मक रुपमा पुँजीगततर्फ विकास बजेट खर्चमा केही न्यूनता देखिए पनि अधिकांस योजनाहरु कार्यान्वयनमा गएको त्यसमध्ये धेरै योजना सम्पन्न भईसकेकाले पुँजीगततर्फको वित्तीय प्रगति एकदमै छिटो बढ्ने उनले जानकारी गराए ।

‘अहिले हेर्दा पुँजीगत खर्च कम भएको जस्तो देखिएको छ, फरफारक भएर भुक्तानी भएका योजनाहरु साना भएकाले पनि खर्च कम देखिएको हो,’उनले भने,‘सबै जसो योजनाहरु कार्यान्वयनको चरणमा पुगेका छन् र त्यसमध्ये पनि धेरै जसो पूरा भएर फरफारकको चरणमा पुगेका छन् । यो पुँजीगत खर्चको मात्रा धेरै बढ्छ ।’ जैमिनी नगरपालिकामा कुल ५३९ योजना निर्माण भएकोमा सबैको लागत इस्टीमेट तयार भएको र त्यसमध्ये ५२९ वटा योजना सम्झौता भएर कार्यान्वयनमा गएको उनले जानकारी दिए ।
हालसम्म एक १२५ वटा योजना सम्पन्न भएर फरफारक भैसकेको भुजेलले जानकारी दिए । सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीय किसान जयबहादुर विकले समयमा बीउ बिजन नपाएको पशु उपचारका लागि औषधी नपाउँदा क्षति व्यहोर्नु परेको गुनासो गरे । खडक पुनले पहिरोले घर जोखिममा परेको विषयमा पटक पटक नगरपालिकालाई जानकारी गराउँदा कुनै सहयोग नपाएको उल्लेख गरे ।
भैरवबहादुर छन्त्यालले विद्यालयमा छात्रावास, आकासेपुलको निर्माणका लागि बनेको डिपिआरको काम अगाडी नबढेको, वडा कार्यालय कहिले निर्माण हुन्छ भन्ने जिज्ञासा राखे । हिरा छन्त्यालले भरतपुरी माविमा खेलमैदान आवश्यक परेको, धनबहादुर छन्त्यालले टोल विकास समिति बनाएर कुनै काम नभएको, नाइँको धुरीलाई पिकनिक स्पोट बनाउनुपर्ने, गाजा दह पुग्ने बाटो स्तरोन्नती गर्नुपर्ने माग राखे । लोकबहादुर छन्त्यालले पर्यटनका लागि बजेटको व्यवस्थापनको विषयमा जिज्ञासा राखे । सानुमाया श्रीसले विद्यालयमा स्थायी कर्मचारी हुनुपर्ने माग गरिन् ।
विद्यार्थी लिला थापाले शिक्षकहरुले विद्यालय समयमा मादक पदार्थ सेवन गर्ने गरेको गुनासो गरिन् । कार्यक्रममा उठेका प्रश्न तथा जिज्ञासाहरुको जैमिनी नगर प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, प्रमुख प्रशासकिय अधिकृत हरिबहादुर भुजेल, जैमिनी नगरपालिका—३ का वडाध्यक्ष कृष्णबहादुर भुजेल, शिक्षा शाखा प्रमुख खेमप्रसाद आचार्य, कृषि शाखा प्रमुख बलबहादुर ओली, पशु शाखा प्रमुख अच्युत आचार्य लगायतले जवाफ दिएका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख नरबहादुर पुनले सुशासन र उत्पादनमा आफुहरुले जोड दिने प्रयास गरिरहेको बताए । ‘हामी निर्वाचनका बेला मत माग्दै आउँदा यही ठाउँमा तपाईहरुसंग बाचा गरेका थियौं, सुशासन कायम गर्ने र उत्पादन बढाउन काम गर्नेछौं भनेर,’उनले भने,‘सुशासनमा धेरै सुधारका प्रयास गरेका छौं । उत्पादनका लागि केही प्रयासहरु भएका छन् । त्यसलाई अझ कसरी व्यवस्थीत गर्ने र बढाउने भन्नेमा लागेका छौं ।’
उनले जनतासंग गरेका बाचाहरु पूरा गर्न हरदम लागिरहेको बताए । ‘हामीसंग आन्तरिक स्रोत निकै कम छ, एउटा नगरपालिका हुनका लागि वार्षिक तीन करोड आन्तरिक आय हुनुपर्नेछ, हामील जम्मा एक करोड ३६ लाख मात्रै आम्दानी हुने प्रक्षेपण गरेका छौं,’उनी भन्छन्,‘बसाइँ सराईले गर्दा जनसंख्या घटेर पनि हामीलाई समस्या भैरहेको छ । जैमिनीलाई नगरपालिका बनाई राख्नका लागि सबैको सम्पूर्ण शक्ति उत्पादन र विकासमा लगाउनुपर्नेछ ।’
कार्यक्रममा नगर उपप्रमुख हरिहर शर्माले सिमित स्रोत साधनका बापजुद नागरिकको आवश्यकता र चाहाना पूरा गर्ने कार्यमा लागिरहेको बताए । ‘जनआकांक्षा र चाहाना आवश्यकता धेरै छ तर हामीले प्राथमिकीकरण गरेर सबैभन्दा पहिले नगरी नहुने काम गर्ने गरी लागिरहेका छौं,’शर्माले भने,‘स्थानीय सरकारले नसक्ने कामहरु सम्पन्न गर्नका लागि प्रदेश र संघीय सरकारसंग पनि पहल र प्रयास भैरहेको छ ।’
जैमिनी नगरपालिका सुशासन समितिका संयोजक एवं जैमिनी नगरपालिका—२ का वडाध्यक्ष प्रेम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकार संगम घर्तीमगरले नागरिक सन्तुष्टी सर्वेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । पत्रकार नवराज परियारले सार्वजनिक सुनुवाई आचारसंहिता प्रस्तुत गरेको कार्यक्रममा पत्रकार सुवास गौतमले कार्यक्रमको टिप्पणी र पत्रकार विजय रानाले कार्यक्रमको सहजीकरण गरेका थिए ।