आदर्श सञ्चार, बागलुङ
गुदपाक र पुष्टकारी भन्दा साथ धेरैको मनमा काठमाडौंको न्यूरोड गेट अगाडिको पसलको सम्झना आउछ । धैरै लामो समयदेखि त्यहाँबाट गुदपाक र पुष्टकारी विक्री हुदै आएको छ । देशका कुना कुनाबाट काठमाडौं पुग्नेहरु घर फर्कदा परिवारका सदस्यहरुलाई कोशेलीका रुपमा गुदपाक र पुष्टकारी खरिद गर्नका लागि न्यूरोड पुग्ने गर्छन ।
गुदपाक र पुष्टकारी मन पराउनेहरु आफु काठमाडौं जान नपाए, त्यहा गएर फर्कनेहरुलाई ल्याइदिन समेत अनुरोध गर्दछन् । पछिल्लो समय गुदपाक र पुष्टकारी काठमाडौं बसपार्क, कलंकी लगायतका स्थानमा समेत छ्यापछ्याप्ती पाइन थालेको छ ।
गुदपाक र पुष्टकारी कसरी बनाउने ? बागलुङमा साढे दुइ दशकदेखि दुध र दुग्धजन्य पदार्थ विक्री वितरण गर्दै आइरहेको बागलुङ दुग्ध उत्पादक सहकारी संघले यतिबेला कर्मचारीहरुलाई यही विषयमा तालिम दिइरहेको छ ।
बागलुङका १५ वटा दुग्ध सहकारी संस्थामा आवद्ध करिव १५ सय कृषकहरुबाट उत्पादित दुध बजारमा बिक्री गर्दै आएको संघले पछिल्लो समय दुध बढी संकलन हुन थालेपछि दुधबाट बन्ने थप परिकारहरु उत्पादनमा केन्द्रीत भएको छ ।
बजारमा करिव २ हजार लिटर दुध विक्री हुन्छ, दही, मही, घ्यू, छुर्पी, पनिर, खुवा, आइसक्रिम बनाउदै आएका थियौ, अझै पनि दुध बाँकी रहने भएपछि गुदपाक र पुष्टकारी बनाउन कर्मचारीहरुलाई तालिम शुरु गरेका छौ, बागलुङ दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष दिपक गौतमले भन्नुभयो,–अहिलेसम्म ९ वटा परिकार बनाउदै आएका थियौ, अब केही थप गर्दैछौ ।
काठमाडौं लगायत विभिन्न स्थानमा गुदपाक, पुष्टकारी लगायतका दुग्धजन्य पदार्थ विक्री वितरण हुने गरेका छन्, धौलागिरी क्षेत्रकै बासिन्दाले पनि धेरैले मन पराउने गुदपाक र पुष्टकारी हाम्रै ठाउँमा बनाउनका लागि विज्ञको खोजी गरेर तालिम दिन थालिएको अध्यक्ष गौतमले जानकारी दिनुभयो । गुदपाक, पुष्टकारी मात्रै होइन, पूर्वतिर राजमार्गमा चर्चित पेडा र बर्फी समेत यही बनाउने गरी तालिम सञ्चालन गरेका छौ, अध्यक्ष गौतमले भन्नुभयो,–‘कृषकहरुको उत्पादनलाई खेर जान नदिन दुध र दुग्धजन्य पदार्थको विक्री वितरणमा नयापन ल्याउन संघ लागि परेको छ ।’ चैत १ गतेदेखि सञ्चालन गरिएको तालिममा गुदपाक, पुष्टकारी, पेडा, वर्फी लगायतका परिकार बनाउन सिकाइदैछ ।
राष्ट्रिय पुश प्रजनन कार्यालय पोखराका पशु विकास अधिकृत डा.अपार पौडेलले बागलुङ दुग्ध उत्पादक सहकारी संघका कर्मचारीहरुलाई दुग्धजन्य पदार्थ बनाउन सहजीकरण गरिरहनु भएको छ ।
बागलुङ दुध उत्पादनको हिसावले उत्कृष्ट ठाउ रहेछ, बागलुङ दुग्ध सहकारी संघमार्फत कृषकहरुले उत्पादन गरेको दुध र दुधबाट बन्ने विभिन्न परिकारहरु विक्री वितरण भैरहको रहेछ, प्रशिक्षक पौडेलले भन्नुभयो,–‘संघले उत्पादन गर्दै आएका परिकारहरु दही, पनिर, आइसक्रिमलाई थप परिस्कृत गर्नुका साथै गुदपाक, पुष्टकारी, पेडा, वर्फी थप उत्पादन गर्न थालिएको छ ।’
तालिमको तेस्रो दिनसम्म गुदपाक र पुष्टकारी बनाउन कर्मचारीहरु सफल हुनु भएको छ, चौथो र पाचौ दिन पेडा, बर्फी बनाउनुका साथै संघले बिक्री गर्दै आएको दही, पनिर, आइसक्रिमलाई थप परिस्कृत गराउने सिप सिकाइने प्रशिक्षक पौडेले बताउनुभयो ।
बागलुङ दुग्ध उत्पादक सहकारी संघले संघमा आवद्ध १५ वटा दुग्ध उत्पादक सहकारी संस्थाका करिव १५ सय कृषकले उत्पादन गरेको दुध दैनिक बजारीकरण गरिरहेको छ । षकहरुले उत्पादन गरेको दुध सहकारी संस्थाहरुले संकलन गरी संघसम्म ल्याउने गर्दछन्, संघले दुधसंगै दुध प्रशोधन गरी विभिन्न ९ परिकार विक्री वितरण गर्दै आइरहेको छ । १५ सय कृषकले उत्पादन गरेको दुध खरिद गरी बजारमा दुध र दुग्धजन्य पदार्थ विक्री वितरण गरेर संघले प्रत्येक महिना ९० लाखदेखि १ करोड रुपैया कृषकहरुलाई पठाउने गरेको संघले जनाएको छ । उत्पादन, प्रशोधन र बजारीकरणसंगै दुग्ध संघले विमा, उपचार र वचत तथा ऋणको समेत कामका लागि सदस्य संस्थाहरुलाई सहजीकरण गर्दै आएको छ ।
अब बागलुङमै गुदपाक, पुष्टकारी र पेडा
