आदर्श सञ्चार, बागलुङ
विदेश त्यो पनि यूरोप, अमेरिका, क्यानाडा, अष्ट्रेलिया लगायतका देशहरु नेपाली युवाका लागि प्रमुख आकर्षणका केन्द्र हुन् । स्वदेशमा रोजगारी नभएका मात्रै होइन, विभिन्न पेशा व्यवसायमा लागेका, रोजगारीमा जमेकाहरु समेत यि देशको भिजा पाए, उतै लाग्ने अवस्था दिन प्रति दिन बढ्दै गएको छ ।
विदेशकै लागि ठुलो लगानी गर्ने मात्र होइन, विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थामा आवद्ध हुने, वैदेशिक रोजगार कम्पनीहरुमार्फत विदेश जानेहरुको संख्या बढीरहेकै छ ।
‘यो देशमा भविष्य छैन मायालु’ भन्ने गित जस्तै निरासा र सुरक्षित भविष्य नदेखेर देश छोडेर विदेश जानेहरुको बढ्दो संख्याकै बीचमा जैमिनी नगरपालिका वडा नं. २ का बलिभद्र सापकोटा भने यूरोपको भिसा क्यान्सल गरेर कृषि कर्ममा रमाउनु भएको छ ।
धेरै साथीहरु विदेशमा छन्, उनीहरुको कमाई, जिवन शैली देख्दा यहाँ नबसौ जस्तो लाग्यो, विदेशमै जान्छु भनेर भिजाका लागि अप्लाइ गरेको यूरोपको भिसा पनि लागि हाल्यो, सापकोटाले भन्नुभयो,–‘भिसा लागि सकेपछि भने भित्री मनले विदेश नजा केटा, यतै कृषि कर्ममा लाग भन्ने सन्देश दियो, साच्चिकै मनमा के भयो थाहा छैन, विदेश जाने रहर हराउदै गयो, अनि यतै कृषिमा रमाउदै आएको छु ।
विदेशको सेवा सुविधाले आकर्षित गरेर भिसा अप्लाइ गरे, तर २ पटकसम्म पोर्चुगलको भिजा आउदा पनि गइन, २०६० सालमा दुवई गएर साढे ४ वर्ष काम गरेको अनुभव पनि छ, सापकोटाले आफ्नो अवस्था सुनाउनु भयो । बुवा बिरामी भएका कारण दुवईबाट घर फर्केको थिए, ६ महिना घरमा बस्न पर्ने भयो, त्यसपछि जान दिएन, दुवईमा राम्रो कमाइ थियो, मेरै कारणले जान पाइन, सापकोटाले दुखेसो व्यक्त गर्नु भयो ।
पछिल्लो समय मान्छेको जीवनशैली महंगो हुदै गएको छ, विदेश नगएसम्म केही हुदैन भन्ने अवस्था सिर्जना भएको छ । निरासा बढेको छ, यहाँँ केही गर्न सकिदैन भन्ने खालको अवस्था सिर्जना हुदै गएको छ, गित संगित, मान्छेको बोली व्यवहार लगायत धेरै हिसावले यहाँ केही हुदैन भन्ने अवस्था देखिदैछ, तर यही केही गर्न सकिन्छ भन्नेहरुलाई पनि राज्यको साथ सपोर्ट खास नभएको गुनासो सापकोटाको छ ।
पशुपालन पालन गरेर दैनिक ३० लिटर सम्म दुध विक्री गर्दै आएका सापकोटा गाउँमा अगुवा कृषकहरु मिलेर बनाएको पञ्चदेव दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष समेत रहनु भएको छ । साथीभाईले अध्यक्ष बन्न पर्छ भन्नुभयो, अध्यक्ष बनेपछि संस्थालाई बागलुङ दुग्ध उत्पादक सहकारी संघको सदस्य बनाएर नियमित दुध विक्री गर्दै आएका छौ, सापकोटाले भन्नुभयो, –‘सहकारी स्थापना गरेको १ वर्ष हुदैछ, हामीले दैनिक करिव तीन सय लिटर दुध बागलुङ बजार पठाउने गरेका छौ ।’
६ वटा टनेलमा बन्दा काउली, गोलभेडा लगायतका तरकारी उत्पादन गर्दै आएको छु, थप ४ वटा टनेल बनाउने तयारी छ, एउटा टनेलले एक पटकमा १ लाख भन्दा बढी आम्दानी हुन्छ, तरकारी उत्पादनलाई अझै बढाउने सोच छ ।
४० रोपनी जग्गामा १ हजार सुन्तलाका बोट लगाएको छु, ३ सय विरुवाबाट सुन्तला विक्री गरिसकियो, अरु विरुवाले छिटै फल दिदैछन्, पञ्चदेव दुग्ध सहकारीका अध्यक्ष सापकोटाले भन्नुभयो,–‘सुन्तला खेती त पेन्सन जस्तै रहेछ, एक पटक लगायो, वर्षौसम्म आम्दानी गर्न सकिने ।’
सुन्तला लगाउदा पनि निकै ध्यान दिनु पर्दछ, एक वर्ष नर्सरी गरेर राख्ने, अर्को वर्ष सार्ने गरेको छु, त्यसो गर्दा सुन्तलाका बोट ठुला हुने र राम्रो उत्पादन हुदो रहेछ, काम गर्दै जादा थाहा पाइयो, सापकोटाले अनुभव सुनाउनु भयो ।
जैमिनी नगरपालिका वडा नं. २, बनहुँ उत्पादनका हिसावले उर्वर नै छ, माटो, हावापानी, सिंचाई संगै तापक्रम समेत उपयुक्त रहेकाले तरकारी, फलफूल, पशुपालनसंगै खाद्यान्न उत्पादनमा समेत उपयुक्त जमिन रहेको उहाँले बताउनुभयो ।
४८ वर्षीय सापकोटा कृषि कर्ममा लागि रहने वातावरण राज्यले बनाइदिए, धेरै युवाहरु यही माटोमा सुन फलाउन लाग्ने थिए, भन्नुहुन्छ ? गाउँमा कृषिमा काम गर्ने मान्छेको अभाव छ, जनशक्ति पाइदैन, परिवारका सदस्यहरुको सहयोग र आवश्यक पर्दा ज्यालादारीमा मान्छे खोजेर कृषि उत्पादन गर्दै आएका सापकोटाले जमेर कृषिमा लाग्नका लागि राज्यको सहयोगी भूमिका आवश्यक रहेको बताउनु भएको छ ।
राज्यले कृषकले उत्पादन गरेको वस्तुलाई संकलन र बजारीकरणका लागि सहयोग गर्ने, विक्रीमा आधारित अनुदानको व्यवस्था गर्ने, कृषकहरुका बीचमा प्रतिस्पर्धा गराउने खालका योजना ल्याउने हो भने युवाहरुले धेरै गर्न सक्छन्, सापकोटाको सुझाव छ ।
तर राज्यले खास कृषि कर्म गर्नेलाइ भन्दा पनि कागजपत्र मिलाउन जान्नेलाई प्राथमिकता दिन्छ, धुलो मैलोमा काम गर्नेलाई भन्दा पनि सुकिलाहरुलाई हेर्छ, त्यही भएर कृषिमा आकर्षण कम भएको हो, साच्चै कृषिमा राज्यको सहयोग हुने हो भने धेरै गर्न सकिन्छ, सापकोटाको अपेक्षा छ ।