आदर्श सञ्चार, बागलुङ
बागलुङमा क्षयरोगीहरुको संख्या बढ्दै गएको छ । चालु वर्षको ८ महिनामा मात्रै जिल्लामा १७९ क्षयरोगी भेटिएका छन् । ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकामा क्षयरोगी सबैभन्दा बढी भेटिएका हुन् । भेटिएका मध्ये १ सय १४ पुरुष र ६७ जना महिला छन् ।
विश्व क्षयरोग दिवसको अवसरमा प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले पत्रकारसँग अन्तरक्रिया गर्दै तथ्यांक सार्वजनिक गरेको हो । क्षयरोगको स्क्रिनिङ र कन्टयाकट्रेसिङ गर्न बाँकी रहेकोले क्षयरोगी अझै बढ्ने अनुमान रहेको कार्यालयका क्षयकुष्ठ निरीक्षक देवप्रकाश घिमिरेले जानकारी दिनुभयो । सन् २०३५ साल भित्र क्षयरोग निवारण गर्ने लक्ष्य राखेको नेपाल सरकारले खोजी अभियानलाई पनि तीव्रता दिएको उहाँको भनाइ ।
अघिल्लो वर्षको ८ महिनामा २ सय २७ क्षयरोगी भेटिएका थिए । यस वर्ष बडिगाड गाउँपालिकामा खोजी गर्न बाँकी छदै यो संख्या आएको हो । गत वर्ष क्षयरोगकै कारण जिल्लाका १० जनाले ज्यानसमेत गुमाएको घिमिरेले जानकारी दिनुभयो ।
सबैभन्दा धेरै ढोरपाटनमा ४३ संक्रमित भेटिएका हुन् । त्यसपछि बडिगाडमा ३८ जना, गलकोटमा २८ जना, बागलुङ नगरापलिकामा २७ जना संक्रमित छन् । निसीखोलामा १४ जना, जैमिनीमा ७, बरेङमा ४, काठेखोलामा ७ , ताराखोलामा ४ र तमानखोलामा ३ जना संक्रमित भेटिएका हुन् । पछिल्लो समय खोजपड्ताल पनि बढाइएको घिमिरेले बताउनुभयो ।
अझै पनि संभावित संक्रमित मध्ये ६८ प्रतिशत मात्रै भेटिएकोले खोजपड्तालबाट मात्र निवारण सम्भव भएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाले बताउनुभयो । अहिले पहिलो चरणमा जिल्लाका चार स्थानीय तहलाई क्षयरोग मुक्त बनाउने अभिया समेत चलेको छ ।
गलकोट नगरपालिका, बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका र बडिगाड गाउँपालिकाले यो अभियान थालेका हुन् । उक्त अभियानका लागि खोजपड्ताललाई पनि तीव्रता दिइएको उहाँले बताउनुभयो ।