आदर्श सञ्चार, बागलुङ
वातावरण संरक्षणका लागि महाअभियान कास्कीले ‘कालीगण्डकी बचाऔँ अभियान’का संयोजक आरके अदीप्त गिरीलाई सम्मान गरेको छ । नागरिक समाज कास्कीसँगको सहकार्यमा अभियन्ता गिरीलाई पर्वत सदरमुकामस्थित ‘शताब्दी घर’मा पुगेर सम्मान अर्पण गरिएको हो ।
अभियानमार्फत नागरिकमा प्रकृति रक्षाको जागरण फैलाउनाका साथै ‘शताब्दी घर’ सांस्कृतिक सङ्ग्रहालयमार्फत संस्कृति एवं ऐतिहासिक सम्पदा संरक्षणमा उल्लेखनीय योगदान पु¥याएको भन्दै गिरीलाई ‘वातावरण तथा सम्पदा संरक्षण सम्मान’ प्रदान गरिएको वातावरण संरक्षण महाअभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जीवी शर्मा, संयोजक पौडेल र नागरिक समाज कास्कीकी सहसंयोजक दुर्गाकुमारी शर्माले संयुक्त रूपमा सम्मान अर्पण गर्नुभएको थियो । मुख्य न्यायाधिवक्ता शर्माले कालीगण्डकी कुनै पनि बहानामा दोहन हुनु दुःखद् रहेको बताउनुभयो ।
उहाँले जल र जीवनको सम्बन्ध अनोन्याश्रित हुने भन्दै मान्छेको अधिकारजस्तै कुनै पनि प्राकृतिक सम्पदा जीवित रहन र निर्वाध आफ्नो बाटोमा हिँड्न पाउने अधिकार रहेको बताउनुभयो । नदी दोहनलाई कानुनमार्फत व्यवस्थापन गर्न खोजिएको भन्दै मुख्य न्यायाधिवक्ता शर्माले विकास र वातावरणलाई मिलाएर लैजानुपर्ने बताउनुभयो ।
सम्मानित व्यक्तित्व गिरीले शालिग्राम पाउने एकमात्र र पाषाणकालीन सभ्यतासँग जोडिएको कालीगण्डकी नदी दोहन रोक्न आग्रह गर्नुभयो । नेपाल जलवायु परिवर्तन, जैविक विविधतामा ह्रास र वायु प्रदूषणको उच्च मारमा पर्दै गएको भन्दै उहाँले नदी संरक्षणमा जोड दिनुभयो । सम्मानले सामाजिक एवं पर्यावरणीय न्यायका पक्षमा थप सक्रिय भएर लाग्न सम्मानले नयाँ ऊर्जा दिएको अभियन्ता गिरीले बताउनुभयो ।