डम्मर बुढामगर, बागलुङ
बागलुङ नगरपालिका–८ सिगाना लामिचौरमा करिब दुई सय घर परिवारको बसोबास छ । बाक्लो बस्ती रहेको लामिचौरमा खानेपानीको चरम अभाव छ । ४२ वर्ष अगाडि निर्माण भएका तीन वटा धाराबाट यहाँका सयौँ स्थानीयले पानी उपभोग गर्ने गर्छन् । एक गाग्री पानी भर्नका लागि गृहणी विहान २ बजे उठेर धारामा लाइन बस्न पुग्छन् । तर उनीहरुको पानी भर्ने पालो १० बजे मात्रै आउँछ । वि.सं. २०३९ सालमा तत्कालीन प्रधानपञ्च पदमबहादुर कार्कीका पालामा निर्माण गरेको धारा जीर्ण बन्दै गएका छन् ।
पानी सुक्दै जाँदा आपूर्ति हुन सकेको छैन । लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका लामिचौरवासीलाई सबैभन्दा बढी पिरलो पानीकै छ । बागलुङ नगरपालिकासहित विभिन्न निकायले यहाँ खानेपानी ल्याउनका लागि धेरै प्रयास गरे तर सबै असफल भए । यसपाली भने नगरपालिका जमिन मुनीबाट पानी निकाल्न सफल भएको छ । लामो समयको मेहनतपछि ड्रिलिङ गरि लामिचौरमा पानी निक्लिएको छ । जमिन मुनीबाट पानी निस्किएपछि स्थानीयमा खुसीयाली छाएको छ ।
लामिचौरमा जमिन मुनीबाट पानी निकाल्न सकिन्छ भन्ने धेरैलाई लागेको थिएन । नगरपालिकाले प्राबिधिक खटाएर सर्भेक्षण गरेपछि खानी निकाल्न सक्ने संभावना देख्यो र काठमाडौँबाट ड्रिलिङ मेसिन लिएर पानी निकाल्ने काम थालेको थियो । गत चैत १ गते मेसिनले करिब १७० मिटर जमिने छेडेर पानी निकालेको थियो । चैत ९ गते जमिनमा विद्युतीय मोटर दबाएर अहिले पानी निकाल्न सुरु गरेको लामिचौर ड्रिलिङ खानेपानीका अध्यक्ष टिकाराम थापाले जानकारी दिनुभयो ।
झण्डै साढे चार दशकदेखि हजारौँ स्थानीय खानेखानीको समस्यामा रहेको भन्दै जमिन मुनीबाट पानी निकालिएपछि धेरैमा खुसीयाली छाएको थापाको भनाइ छ । गाउँमा धेरै पटक खानेपानी ल्याउनका लागि माग गरे पनि आउन नसकेको भन्दै अहिले नगरपालिकाले चासो दिएपछि जमिन मुनीबाट पानी निकाल्न सफल भएको अध्यक्ष थापाले बताउनुभयो । नगरपालिकाको रु २६ लाख र स्थानीय जनसहभागीताबाट रु ३ लाख जुटाएर रु २९ लाखमा पानी निकालिएको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो – “सिंगो गाउँमा पानीको समस्या थियो, २०० घरका लागि तीन वटा मात्रै धारो छ, अझ धारोमा निकै सानो पानी आउँछ, स्थानीयले खुवा र खोलाको फोहोर पानी उभोग गर्न बाध्य छन्, ड्रिलिङ गरेर गाउँमै पानी निकाल्न सकियो, यो पानीलाई घर–घर पु¥याउन सके यहाँका नागरिकले सुख पाउने थिए, पानी निकाल्नभन्दा ड्रिलिङ मेसिन गाउँमा ल्याउन बढी समय लाग्यो ।”
स्थानीय बिना परियारले एक गाग्री पानी भर्नका लागि ८ घण्टासम्म लाइन बस्नु परेको सुनाउनुभयो । गाउँ अहिले चरम खानेपानी अभाव रहेको भन्दै ड्रिलिङ गरेर निकालिएको पानीले गाउँलेलाई सहज हुने उहाँको भनाइ छ । खानेपानीको अभाव हुँदा धेरैले गाउँ छोड्न बाध्य भएको भन्दै वर्षौदेखि खानेपानीको समस्या समाधान गर्न माग गरे पनि कतैबाट सुनुवाई हुन नसकेको र अहिले नगरपालिकाले ड्रिलिङमार्फत गाउँमा पानी निकालेको परियारले सुनाउनुभयो ।
“यसरी गाउँमै जमिन मुनीबाट पानी निकाल्न सकिएला भन्ने हामीहरुले कल्पना पनि गरेका थिएनौ, तर नगरपालिकाले यति ठूलो काम ग¥यो, हाम्रो लागी मुख्य समस्या पानी थियो, यसको समाधान गर्नतर्फ हाम्रा जनप्रतिनिधिहरु लाग्नु भयो” उहाँले भन्नुभयो – “अब जमिन मुनीबाट निकालेको पानीलाई घर–घरमा पु¥याउन थालेपछि हाम्रो वर्षौदेखिको समस्या समाधान हुने छ भन्ने अपेक्षा लिएका छौँ ।”
स्थानीय ७१ वर्षीय चन्द्रमणी गौतमले ०३९ सालदेखिनै लामिचौरमा खानेपानी समस्या हुँदै आएको बताउनुभयो । पानीको मुहान सानो हुँदा त्यस बेलानै सिंगो गाउँमा १२ वटा मात्रै धारो निर्माण गरेको उहाँको भनाइ छ । अहिले जनसंख्या र परियार संख्या बढ्दै गएपछि खानेपानीको चरम अभाव भएको गौतमले सुनाउनुभयो । अहिले गाउँमा एक घर, एक धाराको आवश्यक रहेको उहाँ बताउनुहुन्छ ।
गौतमले भन्नुभयो – “म वि.सं. २०३९ सालदेखिनै खानेपानी समितिको सदस्य भएर काम गरेका हुँ, उतिबेलै खानेपानीको समस्या थियो, अहिलेसम्म आउँदा यहाँ नागरिकहरुले धेरै दुःख पाए, कुवा, पोखरी र खोलाको फोहोर पानी खानु प¥यो, अहिले समस्या तप बढ्दै गएको छ, नगरपालिकाले जमिन मुनीबाट पानी निकाल्दा धेरै खुसी लागेको छ, मेरै पालामा घर–घरमा धारा बन्ने भयो ।”
बागलुङ नगरपालिकाका नगरप्रमुख वसन्तकुमार श्रेष्ठले अब कोही पनि नागरिकले खानेपानीका लागि घण्टौ लाइन बस्न नपर्ने बताउनुभयो । धेरै वर्ष अगाडिदेखि यहाँको खानेपानीको समस्या समाधान गर्न खोजे पनि सफल हुन नसकेको भन्दै अहिले ड्रिलिङमार्फत पानी निकाल्न सकेको सुनाउनुभयो । जमिन मुनीबाट निकालिएको पानीलाई अब हरेक स्थानीयको घर–घरमा पु¥याउने गरि काम गर्ने श्रेष्ठको भनाइ छ । यहाँ ड्रिलिङमार्फत पानी निकाल्न सक्नु ठूलो उपलब्धी भएको उहाँले बताउनुभयो ।
“यहाँका नागरिकहरुले खानेपानीका लागि कति दुःख पाउनुभयो, कति कष्ट भोग्नु भयो त्यो हामीहरुले महसुस गरेका छौँ, लिफ्टिङमार्फत होस् या अन्य तरिकाबाट पानी ल्याउनका लागि धेरै मेहनत ग¥यौँ, अहिले बल्ल ड्रिलिङ गरेर पानी निकाल्न सकियो” नगरप्रमुख श्रेष्ठले भन्नुभयो – “अब यो पानीलाई प्रत्येक नागरिकको घर–घरमा पु¥याउँछौँ ।”