बागलुङका १३ स्थानमा तटबन्धन

डम्मर बुढा मगर, बागलुङ
बस्ती संरक्षणका लागि बागलुङका १३ स्थानमा तटबन्धन गर्न थालिएको छ । चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट तटबन्धन गर्न थालिएको हो । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङमार्फत जिल्लाको गलकोट, बागलुङ, ढोरपाटन, बडिगाड र बरेङ गाउँपालिकाका विभिन्न स्थानमा तटबन्धनको काम भइरहेको छ ।

१३ वटा मध्ये हालसम्म सात वटा योजना सकिएको जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय बागलुङका प्रमुख सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । हालसम्म गलकोट नगरपालिका–५ स्थित खहरेखोला, वडा नम्बर ९ स्थित दरमखोला, वडा नम्बर ३ स्थित गौदीखोला, हटिया, वडा नम्बर १ स्थित दुधिलाभाटी र बागलुङ नगरपालिका–३ स्थित ढोण पिपलबाटोमा काम सम्पन्न भएको उहाँको भनाइ छ ।

उहाँका अनुसार, बडिगाडखोला, नरेठाटीँ दोभान, खाल बजार, दोगाडी, पाँचमुरे र काठेखोलामा काम सुरु भएको छ । सबै योजनाहरु असार मसान्त भित्रै सक्ने गरि काम भएको प्रमुख पौडेलले जानकारी दिनुभयो । यस वर्ष जिल्लाभर रु एक करोड ६० लाखमा तटबन्धन तथा बस्ती संरक्षणको काम भइ रहेको उहाँ बताउनुहुन्छ ।

प्रमुख पौडेलले भन्नुभयो – “यस वर्ष प्रदेश सरकारबाट नीति तथा कार्यक्रममा समावेश भएका योजना कार्यन्वयनको चरणमा छन्, अधिकांश योजना सम्पन्न भइसकेका छन्, केही सकिने अवस्थामा छन् भने केही साना योजनाहरु सम्झौता गरेर काम सुरु हुने चरणमा छन्, हामीहरुले समयमै सबै योजना सक्ने गरि कामको गतिलाई तीव्र बनाएका छौँ ।”

गलकोट नगरपालिका–३ का स्थानीय कुलबहादुर खत्रीले दरमखोलामा तटबन्धन भएपछि बर्खामा खोला बस्तीमा पस्ने जोखिम कम भएको बताउनुभयो । खोला किनारमा बाक्लो बस्ती रहेको तर अहिलेसम्म तटबन्धन नहुँदा दरमखोला तटका स्थानीय त्रासमा बस्नु परेको भन्दै अब बाढी पस्ने संभावना कम भएको उहाँले सुनाउनुभयो । दरमखोलाको धेरै क्षेत्रमा अझै तटबन्धन गर्न आवश्यक रहेको खत्रीको भनाइ छ ।

“हिउँदको समयमा खोलामा पानीको सहत घट्छ, जब बर्खा लाग्छ, तब सानो खोला पनि उर्लिएर माथि आउँछ, यसले गर्दा खोला नजिकका बस्तीहरु जोखिममा छन्” उहाँले भन्नुभयो – “अहिले केही ठाउँमा भए पनि तटबन्धन भयो, सरकारले आगामी वर्षहरुमा अन्य ठाउँमा पनि तटबन्धन गर्न बजेट विनियोजन ग¥यो भने बस्ती संरक्षण गर्न सजिलो हुने थियो ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *