डम्मर बुढा मगर, बागलुङ
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो सिकार याम सुरु भएको छ । दोस्रो याममा १३ नाउर, १० झारल र १२ बँदेल गरि ३५ वन्यजन्तुको सिकार हुने भएको हो । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागले गत माघ १५ गते सिकार गर्नका लागि बोलपत्र आह्वान गरेको थियो ।
दोस्रो याममा सिकार खेल्नका लागि हिमालयन वाईल्डलाईफ आउटफिर्टस प्रा.लि, ट्रयाक्स एण्ड ट्रेल्स प्रा.लि., हिमालयन सफारिज प्रा.लि., ग्लोबल सफारिज नेपाल, नेपाल ट्राभल एक्सपिडिसन र ओपन नेपाल वाईल्डलाईफ सफारिज गरि छ वटा कम्पनीले अनुमति पाएका छन् । वन्यजन्तु तथा राष्ट्रिय निकुञ्ज विभागबाट अनुमति पाएका सिकारी ढोरपाटन सिकार आरक्षको विभिन्न ब्लकमा सिकार खेल्न आउन थालेका छन् ।
चैत २६ देखि सिकारी ढोरपाटन आउन थालेको ढोरपाटन सिकार आरक्ष कार्यालयका रेन्जर सागर सुवेदीले जानकारी दिनुभयो । दोस्रो याम (फागुन–बैशाख) का लागि अब बैशाख १६ गतेसम्म सिकारीले सिकार खेल्न पाउने उहाँको भनाइ छ । अहिलेसम्म दुई वटा नाउर मात्रै सिकार भएको सुवेदीले बताउनुभयो ।
उहाँका अनुसार हिमालयन वाईल्डलाईफ आउटफिर्टस काठमाडौँले सिकारीमार्फत दुई नाउर, दुई र दुई बँदेल सिकार गर्न अनुमति पत्र पाएको छ । यो कम्पनीले एउटा नाउर सिकार गरि सकेको सुवेदीले जानकारी दिनुभयो । उक्त नाउरको सिकार सुनदह ब्लकमा स्पेनका ७० वर्षीय मार्कोस ओलाइजोला अल्कोर्टाले गरेको उहाँको भनाइ छ ।
त्यस्तै ट्रयाक्स एण्ड ट्रेल्स प्रा.लिमार्फत अमेरिकन सिकारीले दुई नाउर, दुई झारल र दुई बँदेल सिकार गर्ने अनुमति पाएका थिए । सुवेदीका अनुसार हिमालयन सफारिज प्रा.लि.काठमाडौँ मार्फत तीन सिकारीले तीन नाउर, एक झारलका लागि अनमति पाएका छन् । ग्लोबल सफारिज नेपाल प्रा.लि.मार्फत दुई सिकारीले दुई नाउर, एक झारल र दुई बँदेलको सिकार गर्ने अनुमति पाएका छन् ।
यस कम्पनीले हालसम्म एउटा नाउर फागुने ब्लकमा सिकार गरेको उहाँले जानकारी दिनुभयो । नेपाल ट्राभल एक्सपिडिसन प्रा.लि.मार्फत तीन सिकारीले तीन नाउर, तीन झरल र तीन बँदेल सिकार गर्ने अनुमति पाएका छन् । यो कम्पनीबाट आएका सिकारीले हतियारमा समस्या आएपछि सिकार नगरी फर्किएको रेन्जर सुवेदी बताउनुहुन्छ ।
ओपन नेपाल वाईल्डलाईफ सफारि एण्ड ट्रेक्स प्रा.लि.मार्फ तीन सिकारीले एक नाउर, दुई झारल र तीन बँदेलको सिकार गर्न अनुमति पाएका छन् । यो सिकार आयममा अमेरिका, अर्जेन्टिना, स्पेनिस, प्रान्सबाट सिकारी आएको सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार एउटा झारलको रु आठ लाख, नाउराको रु ६ लाख २५ हजार ५०० मूल्य तोकिएको छ ।
यसपाली सुनदह, सेङ, भुस्तुङ, दोगाडी, फागुने, बार्से ब्लकमा सिकार भइरहेको ढोरपाटन सिकार आरक्षका प्रमुख संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले जानकारी दिनुभयो । दोस्रो सिजनमा रु १ करोड २६ लाख ४ हजार राजश्व संकलन भएको उहाँको भनाइ छ । सिकारीले मारेको वन्यजन्तु लैजान पनि राजश्व तिर्नु पर्ने प्रावधान रहेको छ । ढोरपाटनमा हरेक वर्ष दुई याममा सिकार खुला हुन्छ । पहिलो (असोज–मंसिर) र दोस्रो (फागुन–बैशाख)मा हुने गर्छ ।