डम्मर बुढा मगर, बागलुङ
बागलुङमा १०६ खानेपानी मुहानमा दिशामा पाइने जिवाणु (कोलिफर्म) भेटिएको छ । जिल्लाको २८५ स्थानमा परीक्षण गर्दा कोलिफर्म भेटिएको हो । प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले जैमिनी नगरपालिका, काठेखोला गाउँपालिकासहित जिल्लाका १० वटा पालिकाको विभिन्न मुहान परीक्षण गर्दा अधिकांश ठाउँमा कोलिफर्म भेटिएको जनाएको छ ।
सबैभन्दा बढी जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको खानेपानीमा जिवाणु भेटिएको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका ल्याव टेक्निसियन डिल्ली आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार काठेखोलामा ४७ वटा मुहानमा परीक्षण गरेकोमा २७ वटा र जैमिनीमा १०६ वटा मुहानमा परीक्षण गरेकोमा ४४ वटामा भेटिएको हो । परीक्षणको दायरा बढाए अझै धेरै मुहानमा कोलिफर्म भेटिन सक्ने संभावना रहेको आचार्यको भनाइ छ ।
जनस्वास्थ्य कार्यालयले जिल्लाको निसीखोला, तमानखोला, ताराखोला, बरेङ, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ढोरपाटन र बागलुङ नगरपालिकाका खानेपानीमा पनि कोलिफर्म परीक्षण गरि रहेको आचार्यले बताउनुभयो । धेरै ठाउँबाट परीक्षण गर्नका लागि आग्रह गरेको भन्दै अब सबै पालिकामा परीक्षणको दायरा बढाउने उहाँको भनाइ छ ।
आचार्यले भन्नुभयो – “हामीहरुले बागलुङको धेरै ठाउँमा पुगेर खानेपानीको मुहान परीक्षण गर्दा कोलिफर्म फेला परेको छ, कोलिफर्म भएको पानी पिउनका लागि उपयुक्त हुँदैन, यस्तो पानी पिउँदा झापखाला, हैजा, टाइफाइड, जण्डिस, हेपटाइटिस बी लगायत पानीजन्य रोग लाग्छ, त्यसले गर्दा जनस्वास्थ्य कार्यालयले जनचेतना मुलक कार्यक्रम पनि गरि रहेको छ, अन्य पालिकाहरुमा पनि परीक्षण गर्ने योजना छ ।”
जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले पालिकाले ‘वास प्लान’ बनाएको र सोही अनुसार मुहान सरसफाइ र संरक्षणमा लाग्ने बताउनुभयो । कोलिफर्म देखिएको मुहानलाई व्यवस्थित गरि आम नागरिकलाई पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्न जनचेतना फैलाउने उहाँको भनाइ छ । नगरपालिकाले हरेक नागरिकलाई सहज रुपमा शुद्ध पिउने पानीको व्यवस्थापन मिलाइ रहेको भन्दै कोलिफर्म नियन्त्रणका लागि स्वास्थ्य कार्यालयसँग सहकार्य गर्ने उपप्रमुख शर्माले बताउनुभयो ।
“कोलिमर्फ नियन्त्रणका लागि नगरपालिकाबाट हुने प्रयास गर्छौँ, अन्य निकायबाट प्राबिधिक सहयोग लिन्छौँ, कोलिफर्मबाट पर्ने असरबाट बच्न आम नागरिकलाई सचेत बनाउँछौँ” उपप्रमुख शर्माले भन्नुभयो – “धेरै मुहानमा कोलिफर्म भेटिएको हुँदा पानी शुद्धीकरण गरेर मात्रै प्रयोग गर्नु पर्ने हुन्छ, यसप्रति हामीहरु गम्भीर भएका छौँ ।”