मालिकाको कुबेरधामलाई पर्यटकीय गन्तव्य बनाइदै


खेमराज गौतम, बागलुङ
बागलुङ नगरपालिका–५ मालिका पञ्चासेमा रहेको कुबेरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

कुबेरले साधना गरेको र धनकुबेर नामकारण गरी धनसंरक्षणको जिम्मा लगाइएको पञ्चासेमा अहिले धमाधम पूर्वाधार निर्माण भइरहेको छ । पौराणिक तथा धार्मिक महत्व बोकेर समेत ओझेलमा परेको कुबेरधामलाई हिमालनबाबाको अगुवाईमा पूर्वाधार निर्माण, प्रचार प्रसार लगायतका काम अघि बढाइएको छ ।

उहाँले कुबेरले साधना गरेको मालिका मन्दिर क्षेत्र र कुबेरलाई धनकुबेरको नामाकरण गरी धनको संरक्षण स्थलको रुपमा रहेको पञ्चासेमा कुबेरको ५४ फिट अग्लो मुर्ती सहित अन्य पूर्वाधार निर्माण गर्न योजना बनाइएको जगत गुरु रामानुजाचार्य त्रिडण्डी स्वामी श्री हिमालयन बाबाले जानकारी दिनुभयो ।

धार्मिक हिसाबले अत्यन्तै महत्व बोकेको कुबेरधाममा ५४ फिट अग्लो कुबेरको मुर्ती निर्माण गर्ने लक्ष्यका साथ बागलुङ नगरपालिकाको सहयोगमा डिपिआर (विस्तृत आयोजना प्रतिवेदन) समेत निर्माण गरिएको छ । गण्डकी प्रदेश सरकारको पर्यटन मन्त्रालयको रु. १० लाखबाट कुबेरधाममा मन्दिर लगायतका संरचना बनाउन थालिएको र कुबेरको मुर्ती, शिस महल, जनकल्याण भवन लगायतका धार्मिक संचना बनाउनका लागि रु. ९ करोड ६४ लाखको डिपिआर तयार पारिएको हो ।
बागलुङ नगरपालिकाले रु. तीन लाख खर्चेर पूर्वाधार निर्माणका लागि आवश्यक डिपिआर तयार पारेर हस्तान्तरण गरेको नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो ।

म्याग्दी जिल्लाको बेनी नगरपालिका–५ स्थित पौलस्य पुलहआश्रममा जन्मेर बागलुङको मालिकामा साधन गर्नुभएको स्थानमा कुबेर शिला, मन्दिर लगायतका स्थलहरु रहेका थिए । धार्मिक ग्रन्धहरुमा कुबेरले साधना गरेको स्थना तथा धनकुबेर नामाकरण गरेको पञ्चासे रहेको र त्यो कुरा त्यहाँ भएको मन्दिर तथा पौराणीक बस्तुले प्रमाणित गर्ने हिमालयन बाबाको भनाई छ ।
“मालिका भगवती मन्दिरमा कुबेरको साधना गर्नुभयो, भगवती महालक्ष्मी प्रसन्न भएर कुबेरलाई धनको सुरक्षाको जिम्मा लगाइयो, धनकुबेरको नामाकरण गरियो, त्यसपछि पञ्चासेमा स्थान तोकियो त्यही स्थानमा अहिले कुबेरको बिशाल मुर्ती निर्माण गर्ने योजना छ, अहिले साना पूर्वाधार बनिरहेका छन्, डिपिआर अनुसारका पूर्वाधार आगमी दिनमा निरन्तरता पाउछन्” उहाँले भन्नुभयो ।

पञ्चासेमा प्राचिन कुबेरधाम शिला र मन्दिर रहेको थियो । उक्त मन्दिरको अहिले जिर्णोद्वार समेत भइरहेको छ । पाँच रोपनी जग्गामा कुबेरधामको संरचना बनाइने र धार्मिक पर्यटक भित्राउने लक्ष्य लिइएको र बागलुङ नगरपालिकाले डिपिआर बनाउन सघाएको उपप्रमुख राजु खड्काले बताउनुभयो ।

जगत गुरु रामानुचार्य त्रिडण्डी स्वामी श्री हिमालयन बाबाको अगुवाईमा पछिल्लो तीन वर्ष यता कुबेरधाममा धार्मिक संरचना निर्माणले तिब्रता पाएको छ । उहाँले दाताको सहयोगमा समेत विभिन्न संरचना निर्माण गर्दै आउनुभएको छ । कुबेरधाममा पुग्ने सडक स्तरोन्नती, कुटी निर्माण, आश्रयस्थल, शौचालय, पदमार्ग लगायतको संरचना समेत बनिरहेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *