वन मन्त्रालयले अनुमति नदिँदा ढोरपाटनमा बन्न सकेन पर्यटन सूचना केन्द्र

आदर्श सञ्चार, बागलुङ
वन मन्त्रालयले अनुमति नदिँदा ढोरपाटनमा पर्यटन सूचना निर्माण कार्य सुरु हुन सकेको छैन । चालु आर्थिक वर्षमा संघीय सरकारले विनियोजन गरेको बजेटबाट ढोरपाटन नगरपालिका–९ ढोरपाटन उपत्यका स्थित तल्लोचौरमा निर्माण गरिने गरिने भनिएको सूचना केन्द्रको काम अगाडि बढ्न नसकेको हो ।

सूचना केन्द्रको डिपीआर गरि बोलपत्रमार्फत डोलेश्वर महादेव निर्माण प्रालिले ठेक्का पाएर काम सुरु गर्न लाग्दा अनुमति नलिएको सिकार आरक्षले अवरोध गरेपछि बजेट फ्रिज हुने अवस्था आएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायत (कल्याण)ले बताउनुभयो । लामो समयको प्रयासपछि सूचना केन्द्र निर्माण गर्नका लागि पर्यटन मन्त्रालयबाट बजेट पारे पनि सिकार आरक्षले काम गर्न नदिएको उहाँको गुनासो छ ।

उहाँका अनुसार डोलेश्वर महादेव निर्माण प्रालिले रु तीन करोड ५५ लाख रुपैयाँमा संग्रहालयसहितको सूचना केन्द्र बनाउने जिम्मा पाएको थियो । निर्माण कम्पनीले कामदार लगाएका काम सुरु गर्दा सिकार आरक्षबाट अवरोध भएको कायत बताउनुहुन्छ । पर्यटकलाई आकर्षण गर्न र ढोरपाटनका बारेमा सही सूचना दिनका लागि सूचना केन्द्र बनाउन थालेको उहाँको भनाइ छ ।

कायतले सूचना केन्द्रसहित अन्य विकास निर्माणमा पनि सिकार आरक्ष बाधक बनि रहेको गुनासो पोख्नु भयो । पालिका, प्रदेश र केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट ढोरपाटनको ठाउँ ठाउँमा सडक लगायतका पूर्वधार निर्माण गर्नसमेत सिकार आरक्षले नदिएको उहाँको भनाइ छ । दोगाडी, चामीद्वार हुँदै छेन्तुङ जोड्ने सडकसमेत सिकार आरक्षको अवरोधका कारण अलपत्र परेको कायत बताउनुहुन्छ ।

उहाँले भन्नुभयो – ‘ढोरपाटनमा कुनै पनि किसिमका विकास गर्नका लागि आरक्षले दिएको छैन, नगरपालिबाट बजेट विनियोजन गरेर काम गर्छौँ भन्छौँ तर जहाँ पनि सिकार आरक्षनै बाधक बन्छ, यसै पनि यहाँका नागरिक विकासको पहुँच पुग्न सकेका छैनन्, त्यसमाथि सिकार आरक्षले काम गर्न दिँदैन, ढोरपाटनमा एउटा पर्यटक सूचना केन्द्रको अति आवश्यक भएको हुँदा निर्माण गर्न थालेका हौँ, धेरै मेहनत गरेर बजेट पारियो, अब फ्रिज भएर जाने भयो ।’

ढोरपाटन सिकार आरक्ष कार्यालयका संरक्षण अधिकृत चन्द्रशेखर चौधरीले त्यस क्षेत्रमा सूचना केन्द्र बनाउनका लागि वन मन्त्रालयबाट अनुमति ल्याउनु पर्ने बताउनुभयो । जग्गाको भोगाधिकार नल्याएसम्म कुनै पनि संरचना बनाउन नमिल्ने उहाँको भनाइ छ ।

यो पनि पढ्नुहोस्