फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय

आदर्श सञ्चार, बागलुङ
बागलुङ जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटरहरु खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्र्दभमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक हिसाब दुबैले चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय समेत पछिल्लो समय फष्टाउदो छ ।

नयाँ शहरको रुपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना शहर बनाउनेगरी नेपाल सरकारले सुचिकृत समेत गरेको बजार हो । यहाँको व्यापार समेत फष्ठाउदो छ । ढोपाटन नगरपालिकाको केन्द्र रहेको बुर्तिबाङ बजार निसीखोलोला गाउँपालिका, तमानखोला गाउँपालिका र बडिगाड गाउँपालिकाको प्रमुख शहरको रुपमा रहेको छ ।

चार पालिकाको स्वास्थ्य उपचार, किनमेल तथा प्रशासनीक काम समेत यही बुर्तिबाङ बजारबाटै हुने गरेको छ । इलाका प्रशासन कार्यालय, नापी र मालपोत जस्ता कार्यालय समेत यस बजारमा छन् । नेपालको एकमात्रै सिकार आरक्ष ढोरपाटन पुग्ने पर्यटकका कारण समेत बुर्तिबाङ बजार गुल्जार भइरहेको स्थानीय बताउछन् । पछिल्लो समय आन्तरिक पर्यटकका कारण यहाँ होटल व्यवसाय समेत राम्रो चलेका छन् ।

ढोरपाटन सिकार आरक्ष, ढोरबराही जाने आन्तरिक तथा बाह्य पर्यटक समेत बास बस्नका लागि यही आउने गरेका छन् भने मध्यपहाडी पुष्पलाल लोकमार्गले जोडिएपछि रुकुम तर्फबाट समेत पर्यटकहरु आउने गरेका छन् । बागलुङबाट रुकुम तर्फ जाने पर्यटक तथा यात्रीहरु समेत यहाँ आउने गरेको बुर्तिबाङका होटल व्यवसायी जीत बहादुर भट्टचनले जानकारी दिनुभयो । उहाँले आन्तरिक पर्यटकको चापका कारण पछिल्लो समय होटल व्यवसायमा लगानी थपिएको बताउनुभयो ।

“निसीखोला, तमानखोला, बडिगाड र ढोरपाटनका पर्यटकीय स्थल घुम्न आएका पाहुँना खान बस्न यही आइपुगछन्, नेपालकै एकमात्र सिकार आरक्ष क्षेत्र पुग्ने पर्यटकहरुका कारण बुर्तिबाङ बजारको संभावना निकै रहेको छ, यहाँ सुविधा सम्पन्न ठूला होटल थपिने क्रम जारी रहेको हुन्छ, पर्यटकीय याममा यहाँको होटल भरिएका हुन्छन्” भट्टचनले भन्नुभयो “बुर्तिबाङ बजार जनघनत्व भएको पालिकाको केन्द्रमा पर्दै आएको छ भने नयाँ शहरउन्मुख रहेकाले अन्य बजार भन्दा यहाँको बजार चलायमान रहेको छ ।”

यहाँका जनताको स्वास्थ्य सेवालाई मध्यनजर गर्दै प्रदेश स्तरीय ५० शैयाको अस्पताल समेत स्थापना गरिएको छ भने, सामुदायिक क्याम्पस लगायतको सुविधा समेत रहेको छ । मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि बुर्तिबाङ बजार चलायमान भएको बताउदै ढोरपाटन नगरपालिका–६ का स्थानीय हिरा बहादुर भण्डारीले बुर्तिवाङ–ढोरपाटन सडक कालोपत्र भए अझै सहज हुने बताउनुभयो ।

एक हजार २०० घर रहेको यस बुर्तिबाङ बजारमा किनमेल गर्न आउनेहरुको समते भीड देखिने गरेको छ । बुटवल संगै राजमार्गले जोडिएको यस बजार पछिल्लो समय पर्यटकका कारण चलायमान भएको स्थानीय बताउछन् ।

ढोरपाटन उद्योग वाणिज्य संघका अध्यक्ष ढालेन्द्र छन्त्यालले मध्यपहाडी लोकमार्ग र ढोरपाटन सिकार आरक्षका कारण बुर्तिबाङ बजार गुल्जार बनेको बताउनुभयो । उहाँले लोकमार्ग कालोपत्र भएर रुकुम संग जोडिएपछि रुकुम पूर्वदेखि यातयातका साधन तथा मालबाहक सवारी साधन समेत बुर्तिबाङ बजार हुँदै चल्ने जानकारी दिनुभयो । ढोरपाटन घुम्न आउने पर्यटकहरु संगै पछिल्लो समय काठमाण्डौदेखि रारा जाने पर्यटकहरु समेत यही मार्ग प्रयोग गर्न थालेको छन्त्यालको भनाई छ ।

“लोकमार्गले रुकुमका सवारीसाधनहरु यही मार्ग भएर काठमाण्डौ देखि अन्य ठूला शहरमा पुग्छन्, रारा ताल घुम्न जाने पर्यटकहरु छोटो मार्गको रुपमा यही लोकमार्ग हुँदै बुर्तिबाङ बसेर जाने गरेका छन्” छन्त्यालले भन्नुभयो “अन्य शहरको तुलनामा बुर्तिबाङ बजार चलायमान देखिन्छ, पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा सुविधा सम्पन्न होटल नहुँनु र बुर्तिवाङबाट ८५ किलोमिटर टाढा रुकुम पूर्व पर्ने भएकाले अधिकांश पर्यटकहरुले एक रात यही बिताउने गरेका छन्, यहाँको नयाँ शहर निकै संभावना बोकेको शहरका रुपमा विकसित भइरहेको छ ।”

राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको ढोरपाटन सालझण्डी सडक कालोपत्र भएमा यहाँको पर्यटन व्यवसाय झनै माथी पुग्ने अपेक्षा गरिएको छ ।

यो पनि पढ्नुहोस्