ह्विलचियरमै बसेर नौमती बाजा : घर खर्चको जोहो

खेमराज गौतम, बागलुङ

चैते दशैंको रौनकता बीच कालिका मन्दिर पुग्ने जंगलको बीच भागमा नौमती बाजामा नाच्नेको भीड लागेको छ ।

बागलुङ कालिका मन्दिर दर्शनका लागि कालिका बाल उद्यानबाट मन्दिर तर्फ जने बाटोमा ह्विल चियरमा बसेर बाजा बजाएको दृश्यले सबैलाई अडाउछ । एक छिन बाजातालमा सबै नाच्छन् र आफूलाई मन लागेको रकम तथा चामाल उनिहरुलाई दिएर जान्छन् ।

नौमती बाजा बजाउनेहरु भने शारिरिक रुपमा असक्त छन् । उनिहरुको ढाड भाँचिएको छ । ह्विल चियरमै बसेर नौमती बाजा बजाउन सिकेका उनिहरुले परिवार पाल्नका लागि सिप सिकेको बताउछन् । अपाङ्गता भएकाहरु एकजुट भएर बाजा बजाउन सिकेका हुन् ।

“ढाडपो भाँचिएको हो, खाने मुख त छ, परिवार पाल्नुपर्दछ, त्यसै मागेर हिड्न भन्दा नौमती बाजा बजाएर हिड्दा आफ्नो इज्जत समेत बढेको छ, बाजा मन पर्नेले दिएको रकमबाट घर खर्च चल्ने गरेको छ” ह्विलचियमा बसेर नौमती बाजा बजाउदै गर्नुभएको ध्रुव नेपालीले भन्नुभयो “काम र प्रतिभा देखाए सबैले माया गर्ने रहेछन्, संकलन भएको रकम नौ जनाले बाढेर घर खर्चको जोहो गर्दछौं ।”

पोखरा आसपासको क्षेत्रमा बसोबास गर्ने उनिहरु शुक्रबार देखि कालिका मन्दिर परिसरमा नौमती बाजा बजाएर दुईचार पैसा र चामल संकलन गरिरहेका छन् । नौ जना मध्ये दुई महिला र सात पुरुष रहेका छन् ।

उनिहरुले थोरै रकमले समेत आफूहरुलाई राहत मिल्ने गरेको बताउदै मेला, पर्व तथा मानिसको आवत–जावत बढी हुने क्षेत्रमा ह्विलचियरमै बसेर नौमती बाजा बजाउने गरेको भुमिराज थापाले जानकारी दिनुभयो ।

नौ जना मध्ये दुई जना मात्रै सपाङ्ग रहेको बताउदै थापाले सबै दुर्घटनामा परेर ढाडको समस्या भएकाले ह्विल चियरमै बसेर नौमती बाजा बजाउदै आएको जानकारी दिनुभयो । भिरबाट लडेर, सवारी दुर्घटनामा परेर लगायतका कारणले ढाड भाँचिएको उनिहरुको भनाई छ ।

“सबैमा ढाडको समस्या छ, उनिहरु हिड्न सक्दैनन् ह्विल चियरमा बसेर बाजा बजाउने हो, बाजा बजाएर संकलन भएको रकमले घर खर्च जोहो भएको छ, चैते दसैं मेलामा अझै तीन दिन बाजा बजाएर पोखरा फर्कर्ने योजना छ” थापाले भन्नुभयो “अपाङ्गताले प्रतिभालाई छेक्ने रहेनछ, अहिले मेला महोत्सवमा बाजा बजाउदा धेरैले माया गर्नुभएको छ ।”

शारिरिक अपाङ्गता भएका कारण टाढा–टाढा जान भने समस्या भएको उनिहरुको गुनासो छ । उनिहरुले शारिरिक रुपमा अपाङ्गता भएपनि सक्ने खालको काम तथा प्रतिभा भएमा भोकै मर्न नपर्ने शारिरिक रुपमा अशक्त धना मगरले बताउनुभयो ।

उहाँले सडकको पहुँच पुगेको स्थानमा बाजा बजाउन जान सहज भएको बताउदै मेला पर्वमा आफूहरु बाजा बजाउदै घर खर्चको जोहो गर्दै आएको सुनाउनुभयो ।

 

यो पनि पढ्नुहोस्