भैरवस्थान मन्दिरको आम्दानी दोब्बरले बढ्यो

आदर्श सञ्चार, बागलुङ
बागलुङको धार्मिक शिक्तपीठ मध्यको एक बागलुङ बलेवा कालभैरव मन्दिरमा भेटी संकलन दोब्बरले वृद्धि भएको छ । धार्मिक पर्यटक भित्राउदै आएको भैरवस्थान मन्दिरमा पछिल्लो समय पूर्वाधार निर्माणले तिब्रता पाएसंगै यहाँ आउने दर्शनार्थीहरुको संख्यामा वृद्धि भएको छ ।
मालपोत कार्यालय बागलुङद्वारा ठेक्कामा भेटी संकलन गरिदै आएकोमा चालु आर्थिक वर्षमा गुठी व्यवस्थापन समितिले जिम्मा लिएपछि भेटी संकलन दोब्बरले वृद्धि भएको पाइएको छ ।

पछिल्लो समय बलेवा भैरवस्थान गुठी व्यवस्थापन समिति सक्रिय भएसंगै मन्दिरले मुहारै फेरेको छ भने भक्तजनको सुविधाका लागि पूर्वाधार सहित खानेपानी र शौचालय लगायतका काम भइरहेका छन् । गत आर्थिक वर्ष रु.९ लाखमा ठेक्कामा जिम्मा लगाइएको भेटी चालु आर्थिक वर्षको ९ महिनामै रु.२० लाख भेटी संकलन भएको भैरवस्थान गुठी व्यवस्थान समितिका अध्यक्ष ज्ञानेन्द्रराज ढकालले जानकारी दिनुभयो ।

“कोरोना कालमा ५० हजार भेटी संकलन भएको थियो, त्यस यता तीन लाख देखि अधिकतम नौं लाख सम्ममा मन्दिरको एकमुष्टभेटी ठेक्का मार्फत संकलन गरिएको थियो, तर अहिले समिति मार्फतनै भेटी संकलन गर्न थालेपछि नौ महिनामै २० लाखसंकलन भइसकेको छ” ढकालले भन्नुभयो “समितिले भेटीको जिम्मा लिएर अडिट गरेपछि १० प्रतिशत गुठीलाई दिइन्छ, समितिले भेटी संकलनको जिम्मा लिएपछि गुठीको आम्दानी समेत बढ्यो ।”

पछिल्लो दुई वर्ष यता बलेवा काल भैरवको पूर्वाधारमा रु.५९ लाख खर्च भइसकेको ढकालले जानकारी दिनुभयो । समितिको आन्तरिक रकमबाट ११ वटा व्यावसायिक सटरहरु निर्माण गरेपछि आगमी वर्षबाट मन्दिरको आम्दानी समेत थप बढेर जाने ढकालको भनाई छ।

समुन्द्री सतहदेखि एक हजार ४०० मिटरको उचाईमा रहेको भैरवस्थानको मुख्य मन्दिर भने पुरानो रहेको छ । भैरवस्थान मन्दिर गुठी व्यवस्थापन समिति सक्रिय भएसँगै कालभैरव मन्दिरमा पूर्वाधारहरू निर्माणले गति लिएको छ भने वर्षौदेखिको ठेक्का तोडेर समितिले आम्दानी लिन थालेको छ ।

तीन सय वर्षभन्दा पुरानो मन्दिरमा पछिल्लो समय सडक सुविधा पुगेपछि धार्मिक पर्यटकमा वृद्धि भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरमा रहेको कालभैरव मन्दिर भकुण्डे र रायडाँडासँग सिमाना जोडिएको छ । कालभैरव मन्दिरको प्रचारप्रसार र महिमाका कारण पछिल्लो समय आन्तरिक पर्यटक बढेपछि सडक स्तरोन्नती, पदमार्ग, व्यावसायिक सटर, सक्तल लगायतका पूर्वाधार थपिदा मन्दिरमा पुग्ने दर्शनार्थीको चाप बढेपछि भेटी संकलन समेत बढिरहेको ढकालको भनाई छ ।

विसं १७८० सालतिर पाल्पाबाट ल्याइएका कालभैरवलाई यहाँ स्थापना गरिएको किंवदन्ती छ । मन्दिरमा मङ्गलबार र शनिबार विशेष पूजा हुने गर्दछ भने दसैँ र चैतेदसैँमा मन्दिरमा दर्शनार्थीको बढी भीड लाग्ने गरेको पाइन्छ । पाल्पाका राजा मणिमुकुन्द सेनका पालामा दाजुभाइमाझ झगडा परेपछि एक भाइ छुट्टिएर बलेवामा आएको र भैरवलाई पनि छुट्याएर यहीँ ल्याएर स्थापना गरेको विश्वास गरिन्छ । मनोकांक्षापूरा हुने जनविश्वासका कारण पछिल्लो समय मन्दिरमा दर्शनार्थीको संख्यामा बढ्दै गइरहेको छ ।

यो पनि पढ्नुहोस्